बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमले जनअपेक्षा पुरा गर्दैन : पद्मा अर्याल

बिहीबार, ३१ वैशाख २०८३, १३ : ५६
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको अपेक्षा पूरा गर्न नसकेको बताएकी छन् ।
  • उनले नीति तथा कार्यक्रममा शब्द, दृष्टि, दिशानिर्देश र कार्यान्वयनको आधार नभएको टिप्पणी गरेकी छन् ।
  • अर्यालले 'समृद्ध नेपाल सुखी नेपाली' जस्तो राष्ट्रिय सङ्कल्प कार्यक्रममा नसमेटिएकोमा प्रश्न उठाएकी छन् ।

काठमाडौँ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोचअनुसार नभएको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी हुन् । 

‘जनताले सोचेका थिए, अब शासन शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ,’, अर्यालले भनिन्,‘ तर यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छैन, दृष्टि छैनन् । घोषणा छन्, दिशानिर्देश छैन । नारा छन्, कार्यान्वयनको आधार छैन ।’

एमाले संसदीय दलको उपनेता समेत रहेकी नेतृ अर्यालले नीति हो कि कार्यक्रम भन्ने नछुट्टिएको दाबी गरिन् । 

‘नीति के हो ? कार्यक्रम के हो ? त्यो पनि स्पष्ट छुट्ट्याउन गाह्रो छ । यो सरकारको मात्रै होइन, राष्ट्रको साझा दस्ताबेज हो’, अर्यालले भनिन्, ‘यसको उत्कृष्टता हामी सबैको चाहना हो । त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, राष्ट्रप्रतिको जिम्मेवारी हो ।’

उनले  ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प भए पनि उक्त शब्द कार्यक्रममा नसमेटिएको भन्दै जनता सुखी र खुसी नभई समाजवादमा कसरी पुग्न सकिएला भन्दै सरकारलाई प्रश्न गरिन् । 

‘विगतका सरकारका सकारात्मक प्रयत्नहरूलाई निरन्तरता दिनुको सट्टा अवमूल्यन गर्ने प्रवृत्ति देखियो । हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो’, उनले भनिन्, ‘जसका कारण कतिपय शब्दहरू अनर्थ लाग्ने पनि भेटियो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप