बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
बजेट तयारी

बजेटका सिद्धान्त तथा प्राथमिकताका १५ हाइलाइटः ‘लगानी एक्सप्रेस’ देखि नेपाललाई ‘टेक हब’ बनाउनेसम्म

बिहीबार, ३१ वैशाख २०८३, १९ : ५३
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।
  • सरकारले परम्परागत वितरणमुखी बजेटलाई निरुत्साहित गर्दै उत्पादन, प्रविधि र बहुपक्षीय पुँजी परिचालनलाई जोड दिइएको छ ।
  • बजेटमा एक पटक विवरण–सबै सेवामा प्रयोग, अर्थतन्त्रको पुनर्संरचना, लगानी एक्सप्रेस नीति, नेपाललाई क्षेत्रीय टेक हब बनाउने, वैकल्पिक पुँजी परिचालन, आयोजना निर्माण मिसन मोड, व्यावसायिक कृषि मोडल, मध्यमवर्गको विस्तार, राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना, कमाउँदै सिक्दै, स्वास्थ्य बिमाको पुनर्संरचना, भ्रष्टाचार र हुण्डी विरुद्ध कडा कदम, हरित ऊर्जा र बहुआयामिक पूर्वाधार, सौम्य शक्तिको उपयोग, र कर्णाली-मधेशलाई विकासको केन्द्र बनाइने जस्ता १५ हाइलाइटहरू प्रस्तुत गरिएका छन् ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् । नयाँ चरणको आर्थिक सुधारको उद्घोष गर्दै अर्थमन्त्री वाग्लेले सुशासन, अर्थतन्त्रको पुनर्संरचना र डिजिटल रूपान्तरणलाई बजेटको केन्द्रमा राखेको बताएका छन् ।

सरकारले परम्परागत वितरणमुखी बजेटलाई निरुत्साहित गर्दै उत्पादन, प्रविधि र बहुपक्षीय पुँजी परिचालनलाई जोड दिइएको अर्थमन्त्रीले बताए । अर्थमन्त्रीले बजेटमा ५ वटा सिद्धान्त र ५ वटा प्राथमिकताकमा आधारित रहेर आगामी बजेटको बन्ने बताए । 

यस्ता छन् १५ हाइलाइट

१. एक पटक विवरण–सबै सेवामा प्रयोग
अर्थमन्त्री वाग्लले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै एकद्वार, समयबद्ध र डिजिटल प्रशासनिक प्रणाली लागू गरिने नागरिकलाई झन्झटमुक्त सेवा दिन बताए । उनले राष्ट्रिय परिचयपत्रमा आधारित एक पटक विवरण–सबै सेवामा प्रयोगको सिद्धान्त लागू गर्ने घोषणा गरे । 

२. अर्थतन्त्रको पुनर्संरचना
अर्थमन्त्री वाग्लेले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गरिने बताए । उनले आगामी बजेट मार्फत अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट र एकाधिकारको अन्त्य गर्दै समता–उन्मुख सामाजिक बजार अर्थतन्त्र सुदृढ गरिने बताए । 

३. लगानी एक्सप्रेस नीतिको घोषणा
सरकारले उद्योग, लगानी र पूर्वाधार परियोजनाको स्वीकृति तथा कार्यान्वयन प्रक्रियालाई सरल र समयबद्ध बनाउन आगामी बजेटमार्फत लगानी एक्सप्रेस नीति ल्याइने घोषणा गरेको छ । अर्थमन्त्री वाग्लेले उद्योग, लगानी र पूर्वाधार परियोजनाको स्वीकृति तथा कार्यान्वयनका लागि यस्तो नीति लिन लागेको बताए । 

४. नेपाललाई क्षेत्रीय ‘टेक हब’ बनाइने
सरकारले सफ्टवेयर, क्लाउड सेवा, डेटा सेन्टर, एआई कम्प्युटेसन र साइबर सुरक्षा जस्ता डिजिटल सेवाको निर्यात प्रवद्र्धन गर्ने योजना बनाएको छ । अर्थमन्त्री वाग्लेले नेपाललाई क्षेत्रीय टेक हबका रूपमा विकास गर्ने घोषणा गरे । उनले पेमेन्ट प्रणाली र डिजिटल उद्यमलाई कानुनी मान्यता दिइने पनि बताए । 

५. वैकल्पिक पुँजी परिचालन र डायस्पोरा साझेदारी
सरकारले आगामी बजेट मार्फत देश विकासका लागि सीमित आन्तरिक स्रोत मात्र पर्याप्त नहुने बताएको छ । अर्थमन्त्री वाग्लेले पूर्वाधार बन्ड, अफसोर हरित बन्ड र डायस्पोरा पुँजी ९गैर–आवासीय नेपालीको लगानी० भित्र्याउन कानुनी सुधार गरिने बताए । 

६. आयोजना निर्माण मिसन मोड 
सरकारले ठूला परियोजनाहरूको कार्यान्वयनमा देखिएका कानुनी र प्रक्रियागत अवरोध हटाउने प्रतिवद्धता दिएको छ । अर्थमन्त्री वाग्लेले वन, वातावरण र जग्गा प्राप्तिका प्रक्रिया सरलीकृत गरी रणनीतिक आयोजनाहरूलाई मिसन मोडमा कार्यान्वयन गरिने बताए । 

७. व्यावसायिक कृषि मोडल र न्यूनतम मूल्य तोकिने
सरकारले साना किसानको संरक्षण गर्दै उत्पादनको स्केल बढाउन व्यावसायिक कृषि मोडल अवलम्बन गर्ने भएको छ । अर्थमन्त्री वाग्लेले खाद्यान्न बालीमा न्यूनतम समर्थन मूल्य तोकिनेछ भने उच्च मूल्यका बाली र जडीबुटीलाई निर्यातमुखी बनाइने बताए । 

८. मध्यमवर्गको विस्तार र अपवार्ड सोसल मोबिलिटी
सरकारले गुणस्तरीय शिक्षा, स्वास्थ्य र सीपमार्फत समाजका सबै तप्काको जीवनस्तर उकास्दै अर्थतन्त्रको मेरुदण्ड मानिने मध्यमवर्गको आकार र दायरा विस्तार गरिने जनाएको छ । 

९. राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना
सरकारले विश्वविद्यालय, उद्योग र अनुसन्धान संस्थाबीचको सहकार्य सुदृढ गर्न छुट्टै राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गरिने भएको छ । अर्थमन्त्री वाग्लेले एआई, डिजिटल अर्थतन्त्र र विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने बताए । 

१०. कमाउँदै सिक्दै 
सरकारले युवाहरूलाई लक्षित गरी उद्यमशीलताका अवसर विस्तार गर्न कमाउँदै सिक्दै अवधारणामा आधारित अप्रेन्टिससिप तथा रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ । उक्त कार्यक्रम आगामी बजेटमा समावेश गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए । 

११. स्वास्थ्य बिमाको पुनर्संरचना
सरकारले स्वास्थ्य बिमा तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रमलाई पुनःसंरचना गरी नागरिकमैत्री बनाउने घोषणा गरेको छ । अर्थमन्त्री वाग्लेले टेलिहेल्थ सेवा तथा जनस्वास्थ्य प्रणालीको सुदृढीकरण गरिने बताए ।

१२. भ्रष्टाचार र हुण्डी विरुद्ध कडा कदम
सरकारले सम्पति शुद्धीकरण, राजस्व चुहावट, अवैध हुण्डी, र सङ्गठित अपराधविरुद्धको अनुसन्धानलाई परिणाममुखी बनाउने घोषणा गरेको छ । अर्थमन्त्री वाग्लेले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण पारदर्शी बनाइने बताए । 

१३. हरित ऊर्जा र बहुआयामिक पूर्वाधार
सरकारले निर्माणधीन ठूला सिँचाइ र जलाशययुक्त जलविद्युत आयोजना शीघ्र सम्पन्न गर्ने बताएको छ । हरित हाइड्रोजन, ऊर्जा भण्डारण र विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गरिने अर्थमन्त्री वाग्लेले बताए । 

१४. सौम्य शक्तिको उपयोग
सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको सफ्ट पावरलाई लगानी र पुँजी भित्र्याउने माध्यम बनाउने भएको छ । अर्थमन्त्री वाग्लेले नेपालको सफ्ट पावरलाई लगानी र पुँजी भित्र्याउने माध्यम बनाउने बजेट मार्फत घोषणा गर्ने बताए । 

१५. कर्णाली र मधेशलाई विकासको केन्द्र बनाइने
सरकारले विकासको मूल प्रवाहबाट पछि परेका कर्णाली, मधेश र सुदूरपश्चिम जस्ता क्षेत्रलाई अनुदानमा आश्रित नबनाई कृषि, पर्यटन, जलस्रोत र मानव पुँजी विकासको केन्द्रका रूपमा अघि बढाउने घोषणा गरेको छ । 

अर्थमन्त्री वाग्लेले यी सिद्धान्त र प्राथमिकतामाथि संसदमा हुने छलफल र प्राप्त सुझावका आधारमा आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट तयार गरिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप