नेपालमा २७ प्रतिशत मृत्युको कारण मुटुसम्बन्धी रोग, उच्च रक्तचाप प्रमुख चुनौती
सारांश
- नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत नसर्ने रोगहरूको कारण हुने गरेको छ, जसमध्ये २७.३६ प्रतिशत मुटु तथा रक्तनली सम्बन्धी रोगहरूका कारण हुन्छ, जसको प्रमुख कारक उच्च रक्तचाप हो।
- राष्ट्रिय स्टेप्स सर्वेक्षण (२०७६/७७) अनुसार नेपाली वयस्कहरूमा उच्च रक्तचापको दर २४.५ प्रतिशत छ, जसको जोखिम बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान र मानसिक तनावले बढाइरहेको छ।
- स्वास्थ्य मन्त्रालयले ३० वर्षभन्दा माथिका सबैलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गराउन, नुन र चिल्लो कम खान, व्यायाम गर्न र मद्यपान तथा धूम्रपानबाट टाढा रहन सुझाव दिएको छ।
काठमाडौँ । प्रत्येक वर्ष मे १७ तारिखमा मनाइने 'विश्व उच्च रक्तचाप दिवस' यस वर्ष नेपालमा पनि विभिन्न जनचेतनामूलक सन्देशका साथ मनाइँदैछ।
यस वर्षका लागि ‘उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौँ नियमित रक्तचाप, परास्त गरौँ मृत्युको मौन कारक’ भन्ने नारा तय गरिएको छ।
यस अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापको रोकथाम, समयमै पहिचान र प्रभावकारी व्यवस्थापनका लागि सबै नागरिक र सरोकारवाला निकायमा विशेष आह्वान गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले जारी गरेको सन्देशअनुसार नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ। त्यसमध्ये २७.३६ प्रतिशत मृत्यु मुटु तथा रक्तनली सम्बन्धी रोगहरूका कारण हुने गरेको र यसको प्रमुख कारक उच्च रक्तचाप रहेको उल्लेख छ।
राष्ट्रिय स्टेप्स सर्वेक्षण (२०७६/७७) का अनुसार नेपाली वयस्कहरूमा उच्च रक्तचापको दर २४.५ प्रतिशत पाइएको छ। बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान र मानसिक तनावले यसको जोखिम निरन्तर बढाइरहेको छ।
धेरै व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले उच्च रक्तचापलाई ‘मौन घातक’ मानिन्छ। समयमै पहिचान र उपचार नभएमा यसले हृदयघात, मस्तिष्कघात र मृगौला रोग जस्ता जटिल समस्या निम्त्याउने भएकाले नियमित जाँच आवश्यक रहेको मन्त्रालयको भनाइ छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १.४ अर्ब मानिस यसबाट प्रभावित छन् र प्रभावितमध्ये ठूलो हिस्सा आफ्नो रोगबारे अनविज्ञ रहेका छन्।
मन्त्रालयले ३० वर्षभन्दा माथिका सबैलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गराउन आग्रह गरेको छ। यस्तै, नुन र चिल्लो खाना कम गर्न, ताजा फलफूल र तरकारीको सेवन बढाउन, दैनिक ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्न र मद्यपान तथा धूम्रपानबाट टाढा रहन सुझाव दिइएको छ।
उच्च रक्तचाप देखिएका व्यक्तिहरूले चिकित्सकको परामर्शअनुसार नियमित औषधि सेवन गर्न र आफूखुशी औषधि बन्द नगर्न समेत मन्त्रालयले सचेत गराएको छ। सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम नसर्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको समेत जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण