मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
परदेशीको संस्मरण

खर्पनमा काठमाडौँ बोकेको प्रेम

शनिबार, ०२ जेठ २०८३, १० : ५७
शनिबार, ०२ जेठ २०८३

सारांश

  • काठमाडौँको बस यात्रामा सहचालकसँगको सम्बन्धले लेखकको दिन सुन्दर बन्थ्यो ।
  • एक घटनापछि लेखक र सहचालकबीचको सम्बन्ध मौनतामा गहिरिँदै गयो, जसमा आपसमा सिट जोगाइदिने र समयको ख्याल राख्ने जस्ता व्यवहारहरू थिए ।
  • विदेशिएपछि लेखकलाई काठमाडौँको बस यात्राको त्यो अपनत्व र साना सम्बन्धहरूको अभाव खड्किन्छ ।

काठमाडौँका व्यस्त सडकहरूमा मेरो दिनचर्या एउटा बससँग गाँसिएको थियो । हरेक बिहान उही समय, उही बाटो र प्रायः उही बस । भीडभाडले भरिएको त्यो यात्रामा पनि एउटा अनौठो अपनत्व थियो । कारण थिए– बसका सहचालक दाइ । 

धेरै वर्षअघिको कुरा हो । जुनबेला खर्पनमा काठमाडौँको सभ्यता झुन्डिएको हुन्थ्यो । अपरिचित र परिचितबिच दूर–दूरसम्म कुनै नाता–साइनो हुन्थेन । त्यतिबेला मैले पहिलो पटक आफ्नै प्रेमबारे प्रश्न गरेँ, बागमतीको किनारबाट । प्रेम, जसलाई परिभाषित गर्ने चेष्टामा शब्दहरू स्वयं थाक्छन् र मौनतामा शरण लिन पुग्छन् । 

विश्व प्रसिद्ध निबन्धकार फ्रान्सिस बेकनले भनेझैँ, ‘प्रेम विवेकको शत्रु त हो, तर यो त्यो दिव्य पागलपन हो, जसले मानिसलाई देवताको नजिक पुर्‍याउँछ ।’ मैले वर्षौँसम्म प्रेमलाई शास्त्रहरूमा खोजेँ, गीत, गजल, कथा र कविताका हरफहरूमा पछ्याएँ र संवेगका छालहरूमा मापन गर्ने प्रयत्न गरेँ । 

तर आज, जीवनको यो उत्तरार्धमा बागमती किनारबाट उभिएर हेर्दा महसुस हुन्छ, मैले त प्रेमलाई कहिल्यै जान्दै जानिनछु । र, यो नजान्नु नै मेरा निम्ति प्रेमको सबैभन्दा उच्च कोटिको बोध रहेछ ।

सायद उनी उमेरले म भन्दा केही वर्ष मात्रै जेठा थिए होलान् म भने त्यो बेला अलि घमण्डी, अलि जिद्दी र रिसाहा स्वभावको थिएँ । बस चढेपछि भाडा तुरुन्तै दिने बानी थिएन मेरो । म सधैँ ओर्लिने बेला मात्रै पैसा दिन्थेँ । यसको आफ्नै कारण थियो, रत्नपार्कको भीडमा उभिँदा खल्तीको पैसा चोरी हुन्छ कि भन्ने डर हुन्थ्यो । 

म खल्तीमा दुईटा अमला लिएर जान थालेँ । एउटा उनलाई दिएपछि, एउटाको रस आफूले लिँदै यात्रा गर्न थालेँ । काठमाडौँको धुलाम्मे सडक, भिडले भरिएको बस, मानिसहरूको हतार... ती सबैबिच त्यो एउटा सानो सम्बन्ध थियो, जसले यात्रा मात्रै होइन, दिन नै सुन्दर बनाइदिन्थ्यो मेरो । तर समय कसैका लागि रोकिँदैन रहेछ ।

आजपनि रत्नपार्क, आरएनएसी र नयाँ बसपार्कहरुमा पकेट मारिन्छन् तर त्यो समय यो कसैले बुझ्दैनथ्यो । बसबाट झरेपछि मात्रै बसभाडा तिर्ने मेरो व्यवहार घमन्ड जस्तो लाग्थ्यो ।  

एक दिन भीडले भरिएको बसमा ती सहचालक दाइ सबै यात्रुका अगाडि रिसाएर कराए ‘तेरो बाउको हो, यो बस ? आफ्नो इच्छा लागेपछि मात्रै भाडा दिने  ?’ त्यो शब्दले मलाई भित्रैसम्म छोयो । अपमानको तातो आगोले मन पोल्यो । नपोलोस पनि किन त्यो उमेर नै यस्तो थियो । सानो कुराले पनि युवामय उमेरको उर्लदो अहंकारको ज्वालालाई थप बल पुग्थ्यो । 

रिस पनि उठ्यो तर नजानिँदो शान्ति कहाँबाट आयो कुन्नि । मैले दुई हात जोडेर नमस्कार गरेँ र बिस्तारै भनेँ, ‘दाजु ! मेरो बाउको कहाँ हुनु नि, यो बस, यो त मेरो दाइको हो नि । अनि तपाईं मेरै दाइ त हो ।’ उनी केहीबेर मौन भए । मैले भाडा दिएँ र हतारिँदै ओर्लिएँ । 

सायद त्यो रात हामी दुवैले त्यो क्षण सम्झियौँ होला ।

म घर पुग्दा म सँगै बाटोका सबै दृश्यहरू छुट्छन् । त्यो मेरो दैनिकी हो र मेरो दैनिकी मेरो अनुकूलतामा चल्छ । तर, प्रेमको समय सधैँ हाम्रो अनुकूल चल्दैन । कहिलेकाहीँ परिस्थिति र नियतिले हामीलाई यस्तो मोडमा ल्याइदिन्छ, जहाँबाट बाटोहरू अलग्गिन्छन् । कहिलेकाहीँ परिस्थिति र नियतिले हामीलाई यस्तो मोडमा ल्याइदिन्छ, जहाँबाट बाटोहरू अलग्गिन्छन् । 

तर के बाटो छुट्टिँदैमा गन्तव्य हराउँछ र ? 

भौतिक रूपमा टाढा हुनु भनेको प्रेम सकिनु होइन, बरु यो त प्रेमलाई साधनामा बदल्ने सुनौलो अवसर हो । नियतिले शरीरलाई अलग गराउन सक्छ, तर त्यो अदृश्य तन्तुलाई काट्न सक्दैन, जसले दुई आत्मालाई बाँधेको हुन्छ । प्रेमको पूर्णता मिलनमा मात्र हुँदैन । बरु त्यो त त्याग र प्रतीक्षाको उज्यालोमा अझ बढी फक्रिन्छ । 

भोलिपल्ट फेरि उही बस आयो । म भीड छिचोल्दै भित्र छिरेँ । दुई स्टप अघि एक यात्रुले कराउँदै बस रोक्न लगाए । सहचालक दाइले हतारमा बस रोके । त्यही भीड भित्रबाट उनले मलाई खोजे र खाली भएको सिटतिर देखाउँदै भने, ‘दाइ, तपाईँको सिट हो, त्यहाँ बस्नुस् ।’

म अचम्ममा परेँ । खल्तीको चेपबाट भाडा झिक्दै थिएँ, उनले मुस्कुराएर भने, ‘पहिले बस्नुस् ।’ त्यो सानो व्यवहारले मन भित्र कताकता न्यानोपन भरियो ।

त्यसपछि त हरेक बिहान हाम्रो मौन सम्बन्ध झन् गहिरिँदै गयो । कहिले उनी भीडमा पनि मेरा लागि सिट जोगाइदिन्थे, कहिले मुस्कुराउँदै भन्थे, ‘दाइ, आज किन ढिला ?’ म फिस्स हाँसिदिन्थेँ ।

रिस पनि उठ्यो तर नजानिँदो शान्ति कहाँबाट आयो कुन्नि । मैले दुई हात जोडेर नमस्कार गरेँ र बिस्तारै भनेँ, ‘दाजु ! मेरो बाउको कहाँ हुनु नि, यो बस, यो त मेरो दाइको हो नि । अनि तपाईं मेरै दाइ त हो ।’ उनी केहीबेर मौन भए । मैले भाडा दिएँ र हतारिँदै ओर्लिएँ । 

त्यसपछि म खल्तीमा दुईटा अमला लिएर जान थालेँ । एउटा उनलाई दिएपछि, एउटाको रस आफूले लिँदै यात्रा गर्न थालेँ । काठमाडौँको धुलाम्मे सडक, भिडले भरिएको बस, मानिसहरूको हतार... ती सबैबिच त्यो एउटा सानो सम्बन्ध थियो, जसले यात्रा मात्रै होइन, दिन नै सुन्दर बनाइदिन्थ्यो मेरो । तर समय कसैका लागि रोकिँदैन रहेछ ।

एक दिन मेरो पनि परदेशीने दिन आयो । सपनाको भारी बोकेर, भविष्य खोज्ने नाममा आफ्नै माटो छोड्ने दिन । त्यो अन्तिम बिहान पनि म त्यही बसमा चढेँ । मन भारी थियो । ओर्लिने बेला फर्केर गर्व र पीडा मिसिएको स्वरमा भनेँ, ‘दाइ, म विदेश जाँदै छु । आफ्नो ख्याल राख्नु होला ।’

उनी मुस्कुराए । आँखामा सपना चम्किरहेको थियो । उनले भने, ‘म पनि ड्राइभरी सिक्दै छु । ड्राइभर भएँ भने आफ्नै सानो ट्याक्सी किनेर चलाउँछु । राम्रोसँग जानुस् ल ।’ उनी हतारिँदै बोले । 

मैले, ‘हस् दाइ’ मात्र भन्न सकेँ । म आफ्नो बाटो लागेँ । उनी यात्रु बोलाउन लागे । 

‘आउनुस्... आउनुस्... बस छुट्न लाग्यो ।”

यहाँ मेरो गन्तव्य नै छुटी सकेको थियो । त्यो हाम्रो अन्तिम भेट थियो । आज म परदेशको कुनै कुनामा छु । यहाँ सुविधाको चरमोत्कर्ष छ, चमक–धमक छ, पैसाको दौड छ तर त्यो भीड भित्रको एउटा मुस्कान, मेरा लागि जोगाइदिएको एउटा सिट र त्यो अपनत्व यहाँ कतै भेटिँदैन ।

कहिले काहीँ रातको एकान्तमा गाउँ सम्झिन्छु । ती पाखापखेरा सम्झिन्छु । मूल बाटोको घैँटोको चिसो पानी सम्झिन्छु । बर पिपलको चौतारी सम्झिन्छु । मेला पर्वका रमाइला दिनहरू सम्झिन्छु । अनि मन सालघारीमा कराउने न्याउलीझैँ रुन्छ । परदेशी जीवनले धेरै कुरा दियो होला तर कता–कता धेरै कुरा चोरी दियो । आफ्नोपन, सहजता र ती साना–साना सम्बन्धहरू, जसको मूल्य पैसा कमाएपछि मात्रै थाहा भयो मलाई ती सबै चोरिए । 

आज पनि सोचिरहन्छु, ती दाइले आफ्नो सपना पूरा गरे होलान् त ? साँच्चै आफ्नै ट्याक्सी चलाइरहेका होलान् त ? कस्तो मिठो सम्बन्ध हामीबिचको, आहा ! सम्झँदा पनि मनै आनन्दित भएर आउँछ । 

जहाँ हुनुहुन्छ दाइ, तपाईंको सपना पूरा होस् । 

जीवनमा तपाईंले मलाई एउटा सिट मात्रै दिनु भएन, तपाईंले त मलाई सम्झनाका हजारौँ थुङ्गा दिइ पठाउनु भयो । त्यसैले आज पनि तपाईंलाई सम्झी रहन्छु । पुराना दिनहरू गमी रहन्छु । चुपचाप भक्कानिन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिकास भुजेल
बिकास भुजेल
लेखकबाट थप