भीष्मराज आङ्देम्बेले गरे प्रधानमन्त्री शाहकाे आलाेचना
सारांश
- प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैली र प्रवृत्तिको आलोचना गरेका छन् ।
- उनले प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री खोज्दा समेत नभेटिने अवस्था बनेको भन्दै बालेन सरकारको जिम्मेवारीबोध कमजोर भएको आरोप लगाएका हुन् ।
- आङ्देम्बेले सरकारले ल्याएको नीति तथा कार्यक्रम मध्यम तथा उच्च वर्ग केन्द्रित हुन गएको र गरीब, मजदुर र किसानमुखी कार्यक्रम नआएकोमा असन्तुष्टि जनाए ।
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैली र प्रवृत्तिको आलोचना गरेका छन् ।
उनले प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री खोज्दा समेत नभेटिने अवस्था बनेको भन्दै बालेन सरकारको जिम्मेवारीबोध कमजोर भएको आरोप लगाएका हुन् ।
‘प्रतिपक्षीले संसद्भित्र खोज्दाखेरी प्रधानमन्त्री नभेटिने अवस्था छ,‘उनले शनिबार मोबाइल व्यवसायी महासङ्घको महाधिवेशनमा भने, ‘नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा समेत नेतृत्वले स्वामित्व ग्रहण गर्न सक्दैन भने उहाँहरू आफ्नै भूमिकामा स्पष्ट नभएको जस्तो देखिन्छ ।’
उनले राष्ट्रपतिमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रम मुलुकको एक वर्षे मार्गचित्र भए पनि त्यसबारे बालेन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।
‘जहाँ मुलुकको एक वर्षको खाका तयार गरिएको हुन्छ, त्यसमा नेतृत्व नै उपस्थित र जिम्मेवार नदेखिनु चिन्ताजनक विषय हो,’आङ्देम्बेले भने ।
आङ्देम्बेले सरकारले ल्याएको नीति तथा कार्यक्रम मध्यम तथा उच्च वर्ग केन्द्रित हुन गएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘गरिब, मजदुर र किसानमुखी कार्यक्रम सरकारले ल्याउनुपर्नेमा त्यसो गरिएन, मध्यम र उच्च वर्गलाई लाभ हुने बजेट ल्याउने देखिएको छ।’
नेता आङ्देम्बेले प्रमुख विपक्षी कांग्रेसले बालेन सरकारसँग परिणाम खोजिएको बताए । ‘हामी सरकारसँग परिणाम खोजिरहेका छौँ,'उनले भने, ’विरोधका लागि विरोध गर्ने शैली आजको प्रमुख विपक्षीको होइन । राज्य सच्याउन सरकार सकारात्मक हुनुपर्छ ।’
उनले अवैध मोबाइल आयात रोक्नुपर्ने बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण