बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
कर्मचारीमाथि रास्वपा कार्यकर्ताको आमाचकारी गाली

'राष्ट्रिय अवार्ड पाएको मैले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्ने जेनजीबाट अपमान सहनुपर्‍यो'

शनिबार, ०२ जेठ २०८३, १५ : ५१
शनिबार, ०२ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्।
  • राष्ट्रिय अवार्ड विजेता वडा सचिव कमल भण्डारीले आफूलाई जेनजी अभियन्ता खड्काबाट अपमानित हुनुपरेको बताएका छन्।
  • घटनापछि प्रधानमन्त्री कार्यालयले दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले खड्कालाई कारबाहीको सिफारिस गरेको छ।

दैलेख । प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई गालीगलौज र धम्की दिएको घटना सार्वजनिक भएसँगै धम्की दिने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ वीरेन्द्रचोक टोल घर भई काठमाडौँको शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो । 

आफूलाई जेनजीको रुपमा समेत चिनाउने खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता समेत रहेको खुलेको छ । उनले शुक्रबार दिउँसो वडा सचिव भण्डारीलाई फोन गरी आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै तल्लो स्तरको गालीगलौज गरेका थिए । खड्काले आफ्ना चिनजानका व्यक्तिको सिफारिसको काम लाइन नबसी तुरुन्तै गरिदिन दबाब दिँदै प्रधानमन्त्री कार्यालयसहित जेनजी पुस्ताको नाममा धम्क्याएका थिए ।

वडा सचिव भण्डारीका अनुसार खड्काले सुरुमा स्थानीय बल बहादुर खड्काको मोबाइलमा फोन गरेर आफूलाई फोन दिइएको थियो । 

'लाउडस्पिकरमा फोन थियो, धमाधम मलाई गाली गर्न थाल्नुभयो । उहाँको गाली यति अश्लील र डरलाग्दो थियो कि मेरो कार्यकक्षमा बसिरहेका सेवाग्राहीहरू समेत डराएर भागे,' भण्डारीले शनिबार रातोपाटीसँग भने । उनले सरकारी सेवा अवधिमा यस्तो अपमान कहिल्यै नभोगेको बताए ।

 भण्डारीले आफू साधारण कर्मचारी मात्र नभएर स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटबाट सन् २०२४ मा देशकै उत्कृष्ट ५ स्वास्थ्यकर्मीको सूचीमा परेर ‘नेशनल अवार्ड’ जितेका व्यक्ति भएको बताए । उनले भने, 'म देशकै अवार्ड विजेता कर्मचारी हुँ, तर एउटा  जेनजी अभियन्ताले प्रधानमन्त्री कार्यालयको आड लिएर मलाई र मेरो आमामाथि गाली गर्दा साह्रै चित्त दुखेको छ । यो मेरो व्यक्तिगत अपमान मात्र होइन, राज्यको सेवामा खटिएका राष्ट्रसेवकमाथिको प्रहार हो ।'

यो घटना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयले आफ्नो नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउनु अक्षम्य अपराध भएको र यस्ता गतिविधिमा संलग्न जोकोहीलाई पनि नछाडिने प्रतिबद्धता जनाएको छ ।

यता, आफ्नै कार्यकर्ताले अमर्यादित कार्य गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दैलेख जिल्ला समितिले पनि एक्सन लिएको छ । जिल्ला सचिव प्रकाश कुमार बुढाले खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगलाई सिफारिस गरेका छन् ।

 पार्टीको हित विपरीत र अवाञ्छित गतिविधिमा संलग्न भएको भन्दै खड्कामाथि कारबाही अगाडि बढाइएको रास्वपा दैलेखको भनाइ छ । 

वडा सचिव भण्डारीले यसअघि नै खड्का विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । उनले आफू कानुनी लडाइँमा गएको र राज्यले एउटा इमानदार कर्मचारीको सुरक्षा र सम्मानको प्रत्याभूति गर्नुपर्ने माग गरे । अभियुक्त खड्काले भने स्थानीय मन्दिर संरक्षणको सिफारिस छिटो गराउने निहुँमा यो सबै हर्कत गरेको खुलेको छ । जबकि उक्त सिफारिस प्रक्रिया अनुसार सोही दिन दिउँसो ३ बजे नै भइसकेको सचिव भण्डारीले रातोपाटीसँगको कुराकानीमा बताए ।  उनीसँग रातोपाटीका लागि राजकुमार सिग्देलले गरेको संक्षिप्त कुराकानी- 

                            यस्तो अपमान कहिल्यै भोगेको थिइनँ
  • यो घटना कहिले र कसरी भएको हो ? अलिकति जानकारी दिनु न !
यो हिजो (शुक्रबार) दिउँसो करिब १२:४० देखि १२:४३ बजेतिरको घटना हो । सुरुमा बल बहादुर खड्का भन्ने व्यक्तिको मोबाइलमा फोन आयो । उनले 'फलानो सचिवलाई फोन दिनुस्' भनेपछि मसँग कुरा गराइयो ।  
  • भनेपछि तपाईँलाई सिधै फोन गरिएको होइन ?
सुरुमा अर्को व्यक्तिको फोनमा आयो । त्यसपछि मलाई दिइयो । उसले आफूलाई 'जेनजी' अभियन्ता र प्रधानमन्त्री कार्यालयको मान्छे भन्दै निकै अश्लील गालीगलौज र धम्की दियो । मलाई धम्काएको सह्य नभएपछि मैले प्रमाणका लागि रेकर्डिङ राख्न लगाएँ ताकि यस्ता मान्छेको असली अनुहार बाहिर आओस् । मैले अफिसियल काम होला भनेर लाउडस्पिकर गरेर टेबलमा फोन राखेको थिएँ । उसले निकै तल्लो स्तरको गाली गर्‍यो कि मेरो कार्यकक्षमा भएका सेवाग्राहीहरू समेत लाजले उठेर हिँडे । त्यहाँ बस्ने वातावरण नै रहेन ।
  • खासमा खड्काको काम चाहिँ के थियो ?
उसको व्यक्तिगत काम केही थिएन । स्थानीय विजय नगरका केही व्यक्तिहरू देउती मन्दिरको घेराबार र सम्बर्द्धनका लागि पर्यटन मन्त्रालयमा सिफारिस पठाइदिनु पर्‍यो भनेर आएका थिए । ती मान्छेहरूलाई 'मैले भन्दिराको छु, मेरो पावर छ' भनेर देखाउन उसले मलाई दबाब दिएको रहेछ । म २०७१ सालदेखि दुल्लुमा कार्यरत छु, करिब १३ वर्ष भयो ।
म स्वास्थ्य मन्त्रालय र निक साइमनले प्रदान गर्ने देशकै उत्कृष्ट 'टप फाइभ' कर्मचारी मध्येको एक (२०२४ को अवार्ड विजेता) हुँ ।  राष्ट्रिय अवार्डप्राप्त म म स्वास्थ्यको कर्मचारी भए पनि वडाको कार्यसम्पादन सम्हाल्न सक्ने विश्वासका साथ कार्यपालिकाले मलाई यो जिम्मेवारी दिएको हो । २०-२२ वर्षको उमेरदेखि जागिर खाएको मान्छे, अहिलेसम्म १ सेकेन्ड पनि गल्ती नगरी काम गर्दा यसरी बाटोको मान्छेबाट आमाचकारी गाली खानु पर्दा निकै चित्त दुखेको छ ।
  • खड्काले प्रधानमन्त्री कार्यालयबाट फोन गरेको भन्दै गर्दा तपाईँलाई शंका लागेको थियो ?  
सुरुमै शंका लागेको थियो । सेवाग्राहीहरू पालो मिचेर ह्वात्तै भित्र छिरेका थिए । पछि पिएम अफिसको नाम लिएर धम्काउँदा मलाई यो कोही 'झोले' वा 'ब्ल्याकमेलर' हो भन्ने महसुस भयो । त्यसैले भोलि प्रमाण चाहिन्छ भनेर मैले रेकर्डिङ गरेको हुँ ।  
  • घटनापछि ती सेवाग्राहीको काम भयो कि भएन ?
सिफारिस त वडाको मन्दिरकै लागि थियो, त्यसैले दिनु नै पर्ने थियो । तर उसको फोनले गर्दा १-२ घण्टा काममा बाधा पुग्यो । पछि ३ बजेतिर प्रक्रिया पुर्‍याएर उनीहरूले सिफारिस लगिसकेका छन् । उसले चाहिँ 'लाइन बस्नु पर्दैन, मेरो मान्छेको काम पहिले गर्दे' भन्न खोजेको देखिन्छ ।
  • प्रकाश खड्कालाई तपाईँ पहिले चिन्नुहुन्थ्यो ?
व्यक्तिगत रूपमा चिन्दिनथेँ । पछि बुझ्दा ऊ पहिले दुल्लु नगरपालिका वडा नं. १३ कै बासिन्दा रहेछ, जो १५-२० वर्षअघि बसाइँसराइ सरेर सुर्खेत गएको थियो । उमेरमा ऊ मभन्दा करिब १५-२० वर्ष कान्छो हो । सुर्खेतका साथीहरूसँग बुझ्दा ऊ पहिले 'जेनजी' आन्दोलन उकासेर बीचमै साथीहरूलाई धोका दिएर भागेको मान्छे हो भन्ने जानकारी पाएँ ।
  • अब कानुनी प्रक्रिया के हुँदैछ ?  
मैले प्रहरीमा लिखित उजुरी दिइसकेको छु । यो मेरो व्यक्तिगत मात्र नभई एउटा राष्ट्रसेवक कर्मचारी र राज्यको मर्यादामाथिको प्रहार हो । प्रधानमन्त्री कार्यालयले पनि यस विषयमा चासो देखाएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखले पनि उनलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरिसकेको छ । अब कानुनले जे गर्छ, त्यही हुन्छ ।

यस्तो थियो खड्काको गाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?