शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बडिमालिका जाँदै गरेका सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको बाटोमै मृत्यु

आइतबार, ०३ जेठ २०८३, ०७ : ०९
आइतबार, ०३ जेठ २०८३

सारांश

  • राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत विश्वराज पन्थीको बडिमालिका दर्शन गर्न जाने क्रममा बाटोमै मृत्यु भएको छ।
  • सदरमुकाम मार्तडीबाट पैदल यात्रा सुरु गरेको करिब तीन घण्टापछि जङ्गलको बाटोमा अचानक बेहोस भएका पन्थीलाई बचाउन सकिएन।
  • प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पन्थीलाई पहिलेदेखि नै मुटु सम्बन्धी समस्या थियो र उकालो तथा कठिन बाटो हिँड्दा स्वास्थ्यमा समस्या आएको अनुमान छ।

धनगढी । प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको दर्शनका लागि जाँदै गरेका राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत विश्वराज पन्थीको बाटोमै मृत्यु भएको छ। काठमाडौँस्थित राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत पन्थीको शनिबार साँझ मृत्यु भएको हो। रुपन्देहीको भैरहवा स्थायी घर भएका पन्थी चार जनाको टोलीसहित बडिमालिकातर्फ प्रस्थान गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार, सदरमुकाम मार्तडीबाट पैदल यात्रा सुरु गरेको करिब तीन घण्टापछि जङ्गलको बाटोमा पन्थी अचानक बेहोस भएका थिए। बेहोस भएका उनलाई बचाउने प्रयास गरिए तापनि साँझ ५:५० बजे मृत घोषणा गरिएको थियो।

पन्थीलाई पहिलेदेखि नै मुटु सम्बन्धी समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उकालो र कठिन बाटो हिँड्ने क्रममा स्वास्थ्यमा समस्या देखिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

बडिमालिकाको यात्रा कठिन र उच्च उचाइमा हुने भएकाले स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन र एक्लै यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप