आदिवासी जनजातिको नेतृत्व र प्रतिनिधित्वका लागि कांग्रेसले आवश्यक पहल गर्ने : उपसभापति पुष्पा भुसाल
सारांश
- नेपाली कांग्रेसले आदिवासी जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
- पार्टीकी उपसभापति पुष्पा भुसालले नेपालको संविधानले आदिवासी जनजातिहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले उनीहरूले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्व पाउनका लागि कांग्रेसले पहल गर्ने बताइन् ।
- उपसभापति भुसालले संविधान संशोधनबारे कांग्रेसले स्पष्ट दृष्टिकोण बनाउँदै गर्दा आदिवासी जनजातिहरूको अधिकारको सवाललाई गम्भीरतापूर्वक अघि बढाउने आश्वासन दिइन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
आइतबार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासङ्घका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीकी उपसभापति पुष्पा भुसालले सो प्रतिबद्धता जनाएकी हुन् ।
नेपालको संविधानले नै आदिवासी जनजातिहरूको प्रतिनिधित्व सवाललाई सुनिश्चित गरेकाले उनीहरूले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्व पाउनका लागि कांग्रेसले संसद्भित्र र बाहिर पनि पहल गर्ने उनले बताइन् । उपसभापति भुसालले कांग्रेसले संविधान संशोधनबारे स्पष्ट दृष्टिकोण बनाउन गइरहेको उल्लेख गर्दै त्यसमा आदिवासी जनजातिहरूको अधिकारको सवाललाई गम्भीरतापूर्वक अघि बढाउने आश्वासन समेत दिइन् ।
अडान पत्र बुझ्दै उनले भनिन्, ‘नेपालको संविधानले समानुपातिक समावेशितालाई, विविधताको सिद्धान्तलाई प्राथमिकतामा राखेर संविधानको मूल आधार पनि बनाएको हो । यसकारण राज्यको स्वरूप, हाम्रो समाजको बनावट हेर्ने हो भने आदिवासी जनजातिलाई बाहिर राख्ने हो भने हाम्रो राज्यको स्वरूप, बनावटको परिभाषा नै अधुरो हुन्छ । यसकारण पनि मलाई लाग्छ–नेपाली कांग्रेसले आदिवासी जनजातिहरूको जति पनि मागहरू यहाँ राखिएको छ । हामीलाई चाहिँ के भन्न चाहन्छौँ भने कांग्रेस यो विषयमा अति संवेदनशील छ । यो विषयलाई प्राथमिकतामा पनि राखेको छ । किनभने आदिवासी जनजातिहरूको प्रतिनिधित्वको कुरा मात्रै होइन, नेतृत्वलाई स्वीकार गर्ने कुरा कार्यान्वयनको बाटोमा नेपाली कांग्रेस अगाडि बढ्छ । हाम्रो पार्टी संसदीय दलका नेता प्रमुख प्रतिपक्ष दलको नेताले सदन भित्र यसलाई दमदार ढङ्गले अघि बढाउनु हुन्छ । यो मुद्दालाई संविधान संशोधनको विषयमा आफ्नो दृष्टिकोण तयार गर्दैछ । किनभने दश वर्ष भइसक्यो । यसको कार्यान्वयनको चरणमा देखिएका समस्या, अभिभारा र गर्नुपर्ने सुधारका विषयवस्तुहरूमा नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण बनाउन गइराखेको छ । र यो विषयलाई कांग्रेसले प्राथमिकताको विषयमा राखेर अघि बढाउँछ । आदिवासी जनजातिहरूको पार्टी भित्र र सरकारमा पनि प्रतिनिधित्व र नेतृत्वका लागि आवश्यक पहल गर्छ ।’
उक्त अवसरमा महासङ्घका महासचिव विमल सारुमगरले आदिवासी जनजातिहरूको मुद्दालाई गम्भीरतापूर्वक अघि बढाउनका लागि राजनीतिक दल र सरकारलाई आफूहरूको अडान र माग राखिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण