चिनी निर्यातमा भारतको रोकपछि उद्योगीको माग : ‘भन्सार घटाऊ, तेस्रो मुलुकबाट ल्याउँछौं’
विराटनगर । भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासी (निर्यात)मा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको अभाव हुने हो कि भन्ने आशंका देखिएको छ । चिनीको स्टक पर्याप्त रहेको भन्दै मन्त्रालय र चिनी उत्पादक संघले आश्वस्त पार्न खोजे पनि उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ ।
नेपालको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न नसक्ने अवस्था रहेको अवस्थामा भारतले लगाएको प्रतिबन्ध लम्बिए चिनीको अत्यधिक खपत हुने जुस, बिस्कुट, चकलेट लगायतका उद्योगहरू सङ्कटमा पर्नसक्ने उनीहरूको भनाइ छ ।
केही दिनअघि भारतले सूचना जारी गर्दै आफ्नो उत्पादनले आन्तरिक खपत धान्न नै पर्याप्त नभएको भन्दै चिनीको निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो । अघिल्लो वर्षको कम उत्पादन र ‘एल निनो’ मौसमको जोखिमका कारण आगामी वर्ष समेत उत्पादनमा कमी आउने निष्कर्ष निकाल्दै चिनी निर्यातमा रोक लगाएको हो । सन् २०२५–२६ को सिजनका लागि भारतमा चिनीको उत्पादन २ करोड ७५ लाख टन हुने अनुमान छ । जबकि त्यहाँको आन्तरिक माग २ करोड ८० लाख टन छ । मागभन्दा उत्पादन कम हुने र चिनीको मौज्दात सन् २०१६–१७ यताकै सबैभन्दा न्यून बिन्दुमा झर्ने देखिएपछि भारतले महँगी नियन्त्रण गर्न यो कदम चालेको हो ।
विराटनगरका उद्योगी सगुन बोहराका अनुसार भारतमा बेमौसमी वर्षा र मौसमको प्रतिकूलताका कारण उखु उत्पादनमा ठुलो गिरावट आएकाले भारत चिनी निर्यात रोक्न बाध्य भएको हो । यसको असर नेपालमा पनि दीर्घकालीन रूपमा पर्ने उनले बताए ।
‘यो पाली भारतमा उखु उत्पादन कम भयो । उखुको साइज पनि पहिलाको तुलनामा सानो छ । बेमौसमी पानी परेर धेरै ठाउँमा किसानको बाली खराब भयो । यो यसकै नकारात्मक प्रभाव हो,’ उनले भने ।
तत्काल छैन अभाव र मूल्यवृद्धिको सम्भावना
भारतको यो आन्तरिक बाध्यताको प्रत्यक्ष मार भने नेपालको अर्थतन्त्र र उद्योग क्षेत्रमा पर्ने निश्चित छ । यद्यपि, नेपाली उद्योगीहरूसँग हाल पर्याप्त मौज्दात (स्टक) रहेका कारण बजारमा तत्कालै हाहाकार मच्चिने वा मूल्यवृद्धि भइहाल्ने अवस्था भने नरहेको सरोकारवाला बताउँछन् ।
उद्योग मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली भारतले प्रतिबन्ध लगाएकोभन्दा दोब्बर समयलाई पुग्ने मौज्दात नेपालसँग रहेकाले चिनीको अभाव हुने अवस्था नभएको बताउँछन् । यसबारे नेपाल चिनी उत्पालक संघसँग छलफल गरेको र आपूर्ति व्यवस्थालाई सहज बनाउन संघ समेत तयार भएकोले अभावको अवस्था नदेखिने उनको भनाइ छ ।

ज्ञवालीको भनाइजस्तै नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको र मूल्य पनि नबढ्ने प्रतिवद्धता जनाएको छ । संघका अनुसार चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आई करिब १ लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन भएको छ । उत्पादनमध्ये केही नगन्य मात्रामा मात्र बिक्री भएको र हालसम्म करिब १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको संघले जनाएको छ । बजारमा व्यवसायीहरूसँग अनुमानित २० हजार मेट्रिक टन चिनी मौज्दात छ ।
चालु आर्थिक वर्ष चैतसम्म चिनी तथा चिनीजन्य पदार्थ समेत गरी ६१ हजार मेट्रिक टन आयात भएको बताइएको छ । यो अवस्थामा भारतले निर्यात रोके पनि नेपालमा तत्कालै चिनीको अभाव भने नहुने उद्योगीहरू पनि बताउँछन् । पर्याप्त स्टक राखेका कारण आगामी दसैँसम्म बजार स्थिर रहने उनीहरूको भनाइ छ । तर दसैँ र चाडबाडको समय आउने बेलासम्ममा चिनीको अभाव हुनसक्ने बिस्कुट उद्योगी महेश जाजु बताउँछन् ।
उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन शारडा नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘नेपालमा जति चिनी आवश्यक पर्छ, त्यति चिनी त हाम्रो यहाँ उत्पादन हुँदैन । अब यसको असर त पर्छ । तर कति स्टक छ भन्ने कुरा हो । तत्काल त असर नपर्ला, किनभने ५–६ महिनाको चिनी हाम्रा चिनी मिलले नै उत्पादन गर्छन् । अहिले २–३ महिना त असर गर्दैन, तर त्यसपछि के हुन्छ भनेर भन्न सकिँदैन,’ शारडाले भने ।
यस कुरामा उद्योगी सगुन बोहरा पनि सहमत छन् । ‘नेपालमा अहिलेसम्म दाम किन बढेको छैन भने दुई–चार वटा ठुला चिनी मिल र उद्योगीहरूले कम्तीमा पनि एक–डेढ लाख टन चिनी स्टक गरेका छन् । उखुजस्तो कुरा क्रसिङ हुने भनेको तीन महिनामात्रै हो । तीन महिना क्रसिङ गरेर यिनीहरूले आठ–नौ महिनाका लागि स्टक राख्नुपर्छ । अहिले नेपालका उद्योगीहरूसँग पर्याप्त चिनी स्टक छ । दसैँसम्मको स्टकमा रेटमा धेरै उतारचढाव आउँदैन,’ बोहराले भने ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत पनि चिनी उत्पादक संघको भनाइलाई उद्धृत गर्दै तत्काल सङ्कट नरहेको बताउँछन् । ‘अहिले चिनी उत्पादक संघको अध्यक्षको जुन स्टेटमेन्ट आएको छ, त्यसअनुसार बजारको मागलाई धान्न सक्ने अवस्था छ । अब आउने ४ देखि ५ महिनाभित्रमा नयाँ उत्पादन (क्रसिङ) आउने कारणले गर्दाखेरि चिनीमा समस्या आउँदैन भन्ने कुरा उहाँहरूले गर्नुभएको छ,’ अध्यक्ष राउतले भने ।
प्रतिबन्ध अवधि लम्बिए हुन सक्छ अभाव
अहिले भारतले चार महिनाका लागि मात्रै निर्यात रोक लगाएको अवस्थामा अभावको सम्भावना नभए पनि यो अवधि लम्बिएको अवस्थामा भने अभाव हुनसक्ने सम्भावना देखिन्छ । प्रतिबन्ध लम्बिएको अवस्थामा स्टक सकिँदै जाने र व्यवसायिक र व्यक्तिगत रुपमा पनि स्टक राख्ने प्रवृत्ति हाबी हुने भएकाले अभावको सम्भावना देखिएको हो ।
उद्योगी महेश जाजु प्रतिबन्ध जारी रहेमा ६ महिनापछि अभाव सुरु हुने बताउँछन् । यो अवस्थामा चिनीलाई मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गर्ने जुस, बिस्कुट, कन्फेक्सनरी र चकलेट उद्योगहरूमा असर गर्ने उनको भनाइ छ ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत पनि अहिले नेपालको उत्पादनले उद्योगहरूलाई धान्न सक्ने अवस्था नभएकाले आयातको विकल्प खोज्नुको विकल्प नभएको बताउँछन् । ‘नेपालमा करिब २ लाख ५० हजार टनको माग छ । त्यसमा १ लाख ५० हजार टनमात्रै स्वदेशी उत्पादन छ । बाँकी १ लाख टन त आयात गर्नुपर्छ, स्वदेशी उत्पादनले धान्न पुगे पनि उद्योगलाई पर्याप्त रूपमा चाहिने चिनी पूरा गर्न सक्दैन । प्रतिबन्ध लम्बिने हो भने उत्पादनलाई धेरै ठुलो असर पार्न सक्छ,’ राउतले भने ।
यद्यपि प्रतिबन्धबिच नेपाल लगायत देशलाई निर्यात अनुमति दिने व्यवस्था भने कायमै राखिएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशक लव अग्रवालले जारी गरेको सूचनाको पाँचौँ बुँदामा ‘भारत सरकारले अन्य देशहरूलाई उनीहरूको खाद्य सुरक्षा आवश्यकता पूरा गर्न र उनीहरूको सरकारको अनुरोधका आधारमा दिने अनुमतिको आधारमा गर्न दिइने’ उल्लेख छ ।
विगतलाई हेर्ने हो भने प्रतिबन्धबिच भारतले नेपाललाई निर्यात खुला गरेका उदाहरण नभएका होइनन् । गहुँ, प्याज लगायतमा प्रतिबन्ध लगाएको बेला नेपाललाई निर्यात अनुमति दिएको थियो । मन्त्रालयका सहसचिव ज्ञवाली प्रतिबन्ध लम्बिएको अवस्थामा पनि द्विपक्षीय संवादका आधारमा नेपालमा आयात हुने सम्भावना रहेको बताउँछन् ।
भन्सार घटाए भारतको विकल्प बन्न सक्छ तेस्रो मुलुक
भारतबाट चिनी ल्याउन नपाएको अवस्थामा नेपालका लागि तेस्रो मुलुकहरुले तेस्रो मुलुकबाट आयात गर्नसक्ने सम्भावना पनि नभएको होइन । खासगरी धेरै उखु उत्पादन हुने ब्राजिल, पाकिस्तान जस्ता देशबाट आयात गर्ने सम्भाजना छ । तर तेस्रो मुलुकबाट आयात गर्दा लाग्ने चर्को भन्सार दर (ड्युटी) र ढुवानी भाडाले चिनीको मूल्य अत्यधिक महँगो पर्न जाने अवस्था रहेको उद्योगीहरू बताउँछन् ।
उद्योगी बोहराले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सुविधा नपाउँदा तेस्रो मुलुकको चिनी महँगो पर्ने बताउँछन् । ‘अहिले ब्राजिलबाट त आइपुग्दैन किनकि साफ्टामा माल मगाउँदा १० प्रतिशतको फाइदा पर्छ । ब्राजिल र पाकिस्तानबाट चिनी ल्याउँदा ४० प्रतिशत ड्युटी लाग्छ भने इन्डियाको ड्युटी ३० प्रतिशत छ,’ उनी भन्छन्, ‘यो १० प्रतिशत ड्युटीको फरक ठुलो कन्साइनमेन्टमा ठुलै पर्छ ।’
_bMAbfCGiKC.jpg)
यस्तै भनाइ परिसंघका अध्यक्ष शारडाको समेत छ । अन्तर्राष्ट्रिय बजारमा ढुवानी खर्च बढेको र सरकारको भन्सार समेत महँगो भएकोले यो नघटाएसम्म आयात गर्न गाह्रो हुने उनको भनाइ छ ।
‘सरकारले ड्युटी घटाउनुपर्छ तबमात्रै विदेशबाट ल्याउँदा फाइदा हुन्छ । यसमा हामीले समयमै बुद्धि पुर्याइहाल्नुपर्छ । इन्टरनेसनल मार्केटमा के भाउ छ ? अहिले युद्ध चलिरहेको बेलामा धेरै जहाज धेरै एरियाबाट आउँदैन । जहाजको कस्ट (भाडा) पनि धेरै बढेको छ । कतिपय वस्तुको मूल्य बढेको छ,’ उनी भन्छन् ।
सङ्कट आउनुभन्दा अगाडि नै सरकारले तेस्रो मुलुकबाट चिनी आयात गर्न सहजीकरण गर्नुपर्ने भन्दै उनी चिनीमा अहिले नै भन्सार दर घटाउन उनको माग छ । तेस्रो मुलुकबाट आउन महिनौँ लाग्ने भएकाले अहिल्यै नीतिगत निर्णय हुनुपर्ने उनीहरूको भनाइ छ ।
महासंघका अध्यक्ष राजेन्द्र राउत पनि उद्योग जोगाउन भन्सार सहुलियतको विकल्प नभएको बताउँछन् । ‘स्वदेशी उत्पादन भएकै चिनीमात्रै खरिद गरेर उद्योग सञ्चालन गर्न र धान्न सक्ने अवस्था आउँदैन । त्यसैले यसलाई तेस्रो मुलुकबाट पनि आयात गर्न यसको भन्सार दरलाई केही समयका लागि सहुलियत दिनुपर्छ,’ राउत भन्छन्, ‘भन्सारमा सहुलियत दिएको खण्डमा उद्योगहरू सस्टेन हुन सक्छन् । यो प्रक्रियामा गएन भने उद्योगहरू बन्द गर्नुपर्ने वा आधा समय मात्र चलाउनुपर्ने अवस्था आउन सक्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण