शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
चिनी निर्यातमा प्रतिबन्धको असर

चिनी निर्यातमा भारतको रोकपछि उद्योगीको माग : ‘भन्सार घटाऊ, तेस्रो मुलुकबाट ल्याउँछौं’

आइतबार, ०३ जेठ २०८३, १८ : २८
आइतबार, ०३ जेठ २०८३

विराटनगर । भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासी (निर्यात)मा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको अभाव हुने हो कि भन्ने आशंका देखिएको छ । चिनीको स्टक पर्याप्त रहेको भन्दै मन्त्रालय र चिनी उत्पादक संघले आश्वस्त पार्न खोजे पनि उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ ।

नेपालको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न नसक्ने अवस्था रहेको अवस्थामा भारतले लगाएको प्रतिबन्ध लम्बिए चिनीको अत्यधिक खपत हुने जुस, बिस्कुट, चकलेट लगायतका उद्योगहरू सङ्कटमा पर्नसक्ने उनीहरूको भनाइ छ ।

केही दिनअघि भारतले सूचना जारी गर्दै आफ्नो उत्पादनले आन्तरिक खपत धान्न नै पर्याप्त नभएको भन्दै चिनीको निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो । अघिल्लो वर्षको कम उत्पादन र ‘एल निनो’ मौसमको जोखिमका कारण आगामी वर्ष समेत उत्पादनमा कमी आउने निष्कर्ष निकाल्दै चिनी निर्यातमा रोक लगाएको हो । सन् २०२५–२६ को सिजनका लागि भारतमा चिनीको उत्पादन २ करोड ७५ लाख टन हुने अनुमान छ । जबकि त्यहाँको आन्तरिक माग २ करोड ८० लाख टन छ । मागभन्दा उत्पादन कम हुने र चिनीको मौज्दात सन् २०१६–१७ यताकै सबैभन्दा न्यून बिन्दुमा झर्ने देखिएपछि भारतले महँगी नियन्त्रण गर्न यो कदम चालेको हो ।

विराटनगरका उद्योगी सगुन बोहराका अनुसार भारतमा बेमौसमी वर्षा र मौसमको प्रतिकूलताका कारण उखु उत्पादनमा ठुलो गिरावट आएकाले भारत चिनी निर्यात रोक्न बाध्य भएको हो । यसको असर नेपालमा पनि दीर्घकालीन रूपमा पर्ने उनले बताए ।

‘यो पाली भारतमा उखु उत्पादन कम भयो । उखुको साइज पनि पहिलाको तुलनामा सानो छ । बेमौसमी पानी परेर धेरै ठाउँमा किसानको बाली खराब भयो । यो यसकै नकारात्मक प्रभाव हो,’ उनले भने ।

तत्काल छैन अभाव र मूल्यवृद्धिको सम्भावना

भारतको यो आन्तरिक बाध्यताको प्रत्यक्ष मार भने नेपालको अर्थतन्त्र र उद्योग क्षेत्रमा पर्ने निश्चित छ । यद्यपि, नेपाली उद्योगीहरूसँग हाल पर्याप्त मौज्दात (स्टक) रहेका कारण बजारमा तत्कालै हाहाकार मच्चिने वा मूल्यवृद्धि भइहाल्ने अवस्था भने नरहेको सरोकारवाला बताउँछन् ।

उद्योग मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली भारतले प्रतिबन्ध लगाएकोभन्दा दोब्बर समयलाई पुग्ने मौज्दात नेपालसँग रहेकाले चिनीको अभाव हुने अवस्था नभएको बताउँछन् । यसबारे नेपाल चिनी उत्पालक संघसँग छलफल गरेको र आपूर्ति व्यवस्थालाई सहज बनाउन संघ समेत तयार भएकोले अभावको अवस्था नदेखिने उनको भनाइ छ ।

ज्ञवालीको भनाइजस्तै नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको र मूल्य पनि नबढ्ने प्रतिवद्धता जनाएको छ । संघका अनुसार चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आई करिब १ लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन भएको छ । उत्पादनमध्ये केही नगन्य मात्रामा मात्र बिक्री भएको र हालसम्म करिब १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको संघले जनाएको छ । बजारमा व्यवसायीहरूसँग अनुमानित २० हजार मेट्रिक टन चिनी मौज्दात छ ।

चालु आर्थिक वर्ष चैतसम्म चिनी तथा चिनीजन्य पदार्थ समेत गरी ६१ हजार मेट्रिक टन आयात भएको बताइएको छ । यो अवस्थामा भारतले निर्यात रोके पनि नेपालमा तत्कालै चिनीको अभाव भने नहुने उद्योगीहरू पनि बताउँछन् । पर्याप्त स्टक राखेका कारण आगामी दसैँसम्म बजार स्थिर रहने उनीहरूको भनाइ छ । तर दसैँ र चाडबाडको समय आउने बेलासम्ममा चिनीको अभाव हुनसक्ने बिस्कुट उद्योगी महेश जाजु बताउँछन् ।

उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन शारडा नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘नेपालमा जति चिनी आवश्यक पर्छ, त्यति चिनी त हाम्रो यहाँ उत्पादन हुँदैन । अब यसको असर त पर्छ । तर कति स्टक छ भन्ने कुरा हो । तत्काल त असर नपर्ला, किनभने ५–६ महिनाको चिनी हाम्रा चिनी मिलले नै उत्पादन गर्छन् । अहिले २–३ महिना त असर गर्दैन, तर त्यसपछि के हुन्छ भनेर भन्न सकिँदैन,’ शारडाले भने ।

यस कुरामा उद्योगी सगुन बोहरा पनि सहमत छन् । ‘नेपालमा अहिलेसम्म दाम किन बढेको छैन भने दुई–चार वटा ठुला चिनी मिल र उद्योगीहरूले कम्तीमा पनि एक–डेढ लाख टन चिनी स्टक गरेका छन् । उखुजस्तो कुरा क्रसिङ हुने भनेको तीन महिनामात्रै हो । तीन महिना क्रसिङ गरेर यिनीहरूले आठ–नौ महिनाका लागि स्टक राख्नुपर्छ । अहिले नेपालका उद्योगीहरूसँग पर्याप्त चिनी स्टक छ । दसैँसम्मको स्टकमा रेटमा धेरै उतारचढाव आउँदैन,’ बोहराले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत पनि चिनी उत्पादक संघको भनाइलाई उद्धृत गर्दै तत्काल सङ्कट नरहेको बताउँछन् । ‘अहिले चिनी उत्पादक संघको अध्यक्षको जुन स्टेटमेन्ट आएको छ, त्यसअनुसार बजारको मागलाई धान्न सक्ने अवस्था छ । अब आउने ४ देखि ५ महिनाभित्रमा नयाँ उत्पादन (क्रसिङ) आउने कारणले गर्दाखेरि चिनीमा समस्या आउँदैन भन्ने कुरा उहाँहरूले गर्नुभएको छ,’ अध्यक्ष राउतले भने ।

प्रतिबन्ध अवधि लम्बिए हुन सक्छ अभाव

अहिले भारतले चार महिनाका लागि मात्रै निर्यात रोक लगाएको अवस्थामा अभावको सम्भावना नभए पनि यो अवधि लम्बिएको अवस्थामा भने अभाव हुनसक्ने सम्भावना देखिन्छ । प्रतिबन्ध लम्बिएको अवस्थामा स्टक सकिँदै जाने र व्यवसायिक र व्यक्तिगत रुपमा पनि स्टक राख्ने प्रवृत्ति हाबी हुने भएकाले अभावको सम्भावना देखिएको हो ।  

उद्योगी महेश जाजु प्रतिबन्ध जारी रहेमा ६ महिनापछि अभाव सुरु हुने बताउँछन् । यो अवस्थामा चिनीलाई मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गर्ने जुस, बिस्कुट, कन्फेक्सनरी र चकलेट उद्योगहरूमा असर गर्ने उनको भनाइ छ ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत पनि अहिले नेपालको उत्पादनले उद्योगहरूलाई धान्न सक्ने अवस्था नभएकाले आयातको विकल्प खोज्नुको विकल्प नभएको बताउँछन् । ‘नेपालमा करिब २ लाख ५० हजार टनको माग छ । त्यसमा १ लाख ५० हजार टनमात्रै स्वदेशी उत्पादन छ । बाँकी १ लाख टन त आयात गर्नुपर्छ, स्वदेशी उत्पादनले धान्न पुगे पनि उद्योगलाई पर्याप्त रूपमा चाहिने चिनी पूरा गर्न सक्दैन । प्रतिबन्ध लम्बिने हो भने उत्पादनलाई धेरै ठुलो असर पार्न सक्छ,’ राउतले भने ।

यद्यपि प्रतिबन्धबिच नेपाल लगायत देशलाई निर्यात अनुमति दिने व्यवस्था भने कायमै राखिएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशक लव अग्रवालले जारी गरेको सूचनाको पाँचौँ बुँदामा ‘भारत सरकारले अन्य देशहरूलाई उनीहरूको खाद्य सुरक्षा आवश्यकता पूरा गर्न र उनीहरूको सरकारको अनुरोधका आधारमा दिने अनुमतिको आधारमा गर्न दिइने’ उल्लेख छ ।

विगतलाई हेर्ने हो भने प्रतिबन्धबिच भारतले नेपाललाई निर्यात खुला गरेका उदाहरण नभएका होइनन् । गहुँ, प्याज लगायतमा प्रतिबन्ध लगाएको बेला नेपाललाई निर्यात अनुमति दिएको थियो । मन्त्रालयका सहसचिव ज्ञवाली प्रतिबन्ध लम्बिएको अवस्थामा पनि द्विपक्षीय संवादका आधारमा नेपालमा आयात हुने सम्भावना रहेको बताउँछन् ।

भन्सार घटाए भारतको विकल्प बन्न सक्छ तेस्रो मुलुक

भारतबाट चिनी ल्याउन नपाएको अवस्थामा नेपालका लागि तेस्रो मुलुकहरुले तेस्रो मुलुकबाट आयात गर्नसक्ने सम्भावना पनि नभएको होइन । खासगरी धेरै उखु उत्पादन हुने ब्राजिल, पाकिस्तान जस्ता देशबाट आयात गर्ने सम्भाजना छ । तर तेस्रो मुलुकबाट आयात गर्दा लाग्ने चर्को भन्सार दर (ड्युटी) र ढुवानी भाडाले चिनीको मूल्य अत्यधिक महँगो पर्न जाने अवस्था रहेको उद्योगीहरू बताउँछन् ।

उद्योगी बोहराले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सुविधा नपाउँदा तेस्रो मुलुकको चिनी महँगो पर्ने बताउँछन् । ‘अहिले ब्राजिलबाट त आइपुग्दैन किनकि साफ्टामा माल मगाउँदा १० प्रतिशतको फाइदा पर्छ । ब्राजिल र पाकिस्तानबाट चिनी ल्याउँदा ४० प्रतिशत ड्युटी लाग्छ भने इन्डियाको ड्युटी ३० प्रतिशत छ,’ उनी भन्छन्, ‘यो १० प्रतिशत ड्युटीको फरक ठुलो कन्साइनमेन्टमा ठुलै पर्छ ।’

यस्तै भनाइ परिसंघका अध्यक्ष शारडाको समेत छ । अन्तर्राष्ट्रिय बजारमा ढुवानी खर्च बढेको र सरकारको भन्सार समेत महँगो भएकोले यो नघटाएसम्म आयात गर्न गाह्रो हुने उनको भनाइ छ ।

‘सरकारले ड्युटी घटाउनुपर्छ तबमात्रै विदेशबाट ल्याउँदा फाइदा हुन्छ । यसमा हामीले समयमै बुद्धि पुर्‍याइहाल्नुपर्छ । इन्टरनेसनल मार्केटमा के भाउ छ ? अहिले युद्ध चलिरहेको बेलामा धेरै जहाज धेरै एरियाबाट आउँदैन । जहाजको कस्ट (भाडा) पनि धेरै बढेको छ । कतिपय वस्तुको मूल्य बढेको छ,’ उनी भन्छन् ।

सङ्कट आउनुभन्दा अगाडि नै सरकारले तेस्रो मुलुकबाट चिनी आयात गर्न सहजीकरण गर्नुपर्ने भन्दै उनी चिनीमा अहिले नै भन्सार दर घटाउन उनको माग छ । तेस्रो मुलुकबाट आउन महिनौँ लाग्ने भएकाले अहिल्यै नीतिगत निर्णय हुनुपर्ने उनीहरूको भनाइ छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउत पनि उद्योग जोगाउन भन्सार सहुलियतको विकल्प नभएको बताउँछन् । ‘स्वदेशी उत्पादन भएकै चिनीमात्रै खरिद गरेर उद्योग सञ्चालन गर्न र धान्न सक्ने अवस्था आउँदैन । त्यसैले यसलाई तेस्रो मुलुकबाट पनि आयात गर्न यसको भन्सार दरलाई केही समयका लागि सहुलियत दिनुपर्छ,’ राउत भन्छन्, ‘भन्सारमा सहुलियत दिएको खण्डमा उद्योगहरू सस्टेन हुन सक्छन् । यो प्रक्रियामा गएन भने उद्योगहरू बन्द गर्नुपर्ने वा आधा समय मात्र चलाउनुपर्ने अवस्था आउन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप