प्रशासनकाे सहयाेगमा पोखराका अतिक्रमित संरचनामा भाेलि डोजर चलाइने
पोखरा । पोखरा महानगरपालिकाले मङ्गलबार अमरसिंहचोकमा रहेका व्यवसायिक सटरहरूमा डोजर चलाउने भएको छ । सोमबार जिल्ला सुरक्षा समिति समेतको सर्वपक्षीय बैठकमा मेयर धनराज आचार्यले अतिक्रमित संरचनाबारे ब्रिफिङ गरेका थिए।
उनका अनुसार अमरसिंह चोकबाट डोजर चलाउन सुरु गरिने भएको हो । ‘अमरसिंह चोकको हकमा त्यो अतिक्रमित जग्गा होइन । लामो समयदेखि व्यवसाय गरेर बस्नुभएका साथीहरूको संरचना र स्वरूप फेर्ने कुरा हो,’ उनले भने, ‘नयाँ संरचना निर्माण, सहरीकरणको सौन्दर्यीकरण र स्थानीय स्कुललाई आर्थिक रूपमा सबल बनाउने विषयमा सहमति जुटिसकेको छ । मङ्गलवार बिहान १० बजेसम्म त्यहाँका संरचना पूर्ण रूपमा भत्काइनेछन्।’
बैठकमा पोखरा बसपार्क र फिर्के खोलाको संरचना हटाउने विषयमा पनि छलफल भएको छ । लामो समयदेखि विवादको केन्द्रमा रहेको पोखरा बसपार्क र त्यहाँ विक्री गरिएका घडेरीको विषयमा महानगरले मंगलबारको कार्यपालिका बैठकबाट थप निर्णय लिने मेयर आचार्यले सुनाए ।
‘बसपार्कभित्रका ७६ घडेरीका विषयमा उठेका प्रश्नहरूको जवाफ खोज्न बनेको कार्यदलले सुझाव तयार पारिसकेको छ,’ अघि भने, ‘मङ्गलवार दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकबाट यस विषयमा औपचारिक र थप निर्णय हुनेछ ।’ सहभागीहरूले चरणबद्ध रूपमा सबै क्षेत्रको अतिक्रमण हटाउन सुझाएका थिए ।
यस्तै, फिर्के खोलामा बसोबास गर्ने सुकुमबासीका बारेमा पनि अध्ययन गर्न सम्बन्धित वडाका अध्यक्षहरूलाई संयोजक बनाएर परिचालन गरिसकेको महानगरपालिकाले जनाएको छ । फिर्के खोला पोखराका ६ वटा वडा भएर बग्छ । यहाँको खोलाघर खाली गर्न २०८० सालमै ३५ दिन सूचना जारी गरिएको थियो । तर अदालतमा मुद्दा परेपछि महानगरपालिका आफ्नो अभियानबाट पछि हटेको थियो ।
खोलाघरभित्र करिब १ सय ६० भन्दा बढी संरचना पर्ने अध्ययनले देखाएको छ । उक्त संरचना जतिसक्दो छिटो हटाइने मेयर आचार्यले बैठकमा जानकारी गराए । बसपार्क र फिर्केमा रहेका वास्तविक सुकुमबासीलाई भने महानगरले व्यवस्थापन गर्ने जनाएको छ।
बसपार्क क्षेत्रमा झण्डै साढे ४ सय र फिर्केमा ४० भन्दा बढी घरधुरी सुकुमबासी रहेको अनुमान गरिएको छ । उनीहरूको अवस्थाबारे अध्ययन गरेर मात्रै थप काम अघि बढाइने महानगरले जनाएको छ ।
‘उहाँहरूलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भनेर कार्यदलले रिपोर्ट दिएपछि काम अघि बढ्छ,’ मेयर भन्छन्, ‘तर सुकुमबासी बाहेकका अन्य विभिन्न सङ्घसंस्थाले बनाएका संरचनाहरू भने हटाउन हामीले अनुरोध गरिसकेका छौँ र ती हट्नेछन् ।’
सोमबारको छलफलमा कास्कीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए । प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षणमा महानगरलाई पूर्ण सुरक्षा र साथ दिने प्रतिबद्धता जनाएको छ।
‘यो सबै काम गर्ने जिम्मा महानगरपालिकाको हो । प्रशासनले आवश्यक सुरक्षा दिने प्रतिबद्धता जनाएको छ,’ बैठकमा सहभागी पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले भने, ‘महानगरभित्रको अतिक्रमित संरचना हटाउने कुरामा सबैको एकमत रहेको देखियो । सबैले हट्नुपर्छ भनेर सुझाव दिएका छन्।’
नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल सबैभन्दा पहिला बसपार्कबाट काम सुरु गर्नुपर्ने बताउँछन् । ‘बसपार्क क्लियर गरेर एउटा काम देखाउन सकियो भने त्यसको प्रभाव चारैतिर पर्छ,’ उनले भने, ‘हामीले त्यही सुझाव दिएका छौँ । उहाँहरू सहमत हुनुभएको छ ।’
तर, वास्तविक सुकुमबासीको हकमा भने राज्यले विशेष व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । ‘सुकुमबासीलाई बेघरबार बनाउने कुरा सैह्य हुँदैन । उनीहरुलाई होटल, लज वा पार्टी प्यालेसमा राख्नुपर्छ,’ अघि भने, ‘विद्यार्थीले नियमित पढ्न पाउनुपर्छ । बिरामीले औषधी उपचारमा कमी हुन हुँदैन।’
बसपार्क र फिर्केखोलाका सुकुमबासी बस्तीमा विना परामर्श तत्काल डोजर चलाउँदा नकारात्मक सन्देश जाने भन्दै सबै सहभागीले सचेत गराएका छन्। महानगरपालिकाले ३३ वटै वडाबाट सार्वजनिक जग्गा अतिक्रमणबारे उजुरी परेकोले सबै उजुरीमाथि छानबिन गरी फिर्ता ल्याउने अभियान सुरु गर्ने जनाएको छ । महानगरपालिकाले यसअघि पनि सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सहमति खोजिसकेको छ।
महानगरकै सल्लाहकार परिषद्ले समेत छिटो काम सुरु गर्न सुझाव दिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण