बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
मौसम पूर्वानुमान

सुदूरपश्चिम र लुम्बिनीमा अत्यधिक गर्मी, धनगढीको तापक्रम ४२ डिग्री पुग्ने

मङ्गलबार, ०५ जेठ २०८३, ११ : ३०
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा अत्यधिक गर्मी बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • धनगढीको तापक्रम आज ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्ज र भैरहवाको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस रहनेछ।
  • तराईमा अत्यधिक गर्मी भइरहँदा काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक तापक्रम बढ्ने देखिएको छ। 

तराईका जिल्लाहरूमा उकुसमुकुस गर्मी बढ्दा देशका पहाडी तथा हिमाली सहरहरूमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको धनगढीको तापक्रम सबैभन्दा धेरै ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अन्य तराईका सहरहरूमा पनि आजको दिनलाई ‘तातो दिन’ का रूपमा वर्गीकरण गरिएको छ। नेपालगञ्ज र भैरहवाको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस रहनेछ। 

यसैगरी दिपायलमा ३७ देखि ३९ र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ। दाङको घोराहीमा ३५ देखि ३७ र मधेस प्रदेशको जनकपुरमा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहनेछ। अत्यधिक गर्मी हुने यी सहरहरूमा वर्षाको कुनै सम्भावना छैन भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।

तराईमा अत्यधिक गर्मी भइरहँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। आज दिउँसो पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। 

यी सहरहरूमा पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको छ। त्यसैगरी जुम्ला, विराटनगर, जोमसोम र धरानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ। मधेस प्रदेशको सिमरामा अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहने भए पनि त्यहाँ २० प्रतिशत हल्का वर्षाको सम्भावना देखिएको छ।

रातिको समयमा पनि केही पहाडी क्षेत्रमा वर्षाको क्रम रोकिने छैन। पोखरामा राति पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ भने काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जोमसोम र ताप्लेजुङमा हल्का वर्षा हुनेछ। डडेल्धुरा, घोराही, जनकपुर, जिरी, धरान र विराटनगर लगायतका सहरमा भने रातिको समयमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। 

तराईका सहरहरूमा राति तापक्रम घटे पनि गर्मीको महसुस भने भइरहनेछ। धनगढी र नेपालगञ्जको न्यूनतम तापक्रम राति पनि २७ देखि २९ डिग्री सेल्सियसको बिचमा रहनेछ।

701312628_1990317995210609_6407544027905097255_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप