बनेपा पुर्याइएका विस्थापितको गुनासै गुनासो
सारांश
- सरकारले काठमाडौँ उपत्यकाका सुकुमबासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका ११० जनालाई बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा राखिएको छ ।
- होल्डिङ सेन्टरमा रहेका विस्थापितहरूले खाना र बस्नको व्यवस्था भए पनि छोराछोरीको पढाई, रोजगारी र स्थायी बसोबासको माग गरेका छन् ।
- घर भत्काउँदा पूर्वसूचना नदिएको र सामान निकाल्न नपाएको गुनासो व्यक्त गर्दै उनीहरूले वास्तविक गरिब र भूमिहीनको उचित व्यवस्था गर्न माग गरेका छन् ।
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सुकुमबासी बस्तीमा डोजर चलाएपछि अहिले हजारौँ मानिसहरू घरविहीन भएका छन् ।
बस्ती भत्काइएपछि कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपयलाई सरकारले विभिन्न होल्डिङ सेन्टरमा राखेको छ ।

यसै क्रममा उपत्यकाका विभिन्न बस्तीबाट विस्थापित भएका ११० जनालाई गत वैशाख २४ गते बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा पुर्याइएको छ । होल्डिङ सेन्टरमा बस्दै आएका यी थातथलोविहीन नागरिकको सरकारसँग गुनासै गुनासो र विभिन्न मागहरू रहेका छन् ।

सेन्टरमा खाना र बस्नमा कुनै कमी कमजोरी नदेखे पनि उनीहरूले आफ्ना बच्चाबच्चीको पढाई, रोजगारी र स्थायी बसोबासको माग गरिरहेका छन् ।

शान्तिनगर बस्तीबाट विस्थापित भई होल्डिङ सेन्टर पुगेका दिल बहादुर सुब्बा र कृष्ण कुमारी सुब्बिनीको माग पनि छिटो भन्दा छिटो उचित बसोबासको व्यवस्था हुनुपर्यो भन्ने रहेको छ । सरकारले पूर्वसूचना वा समय नै नदिई अचानक घरमा डोजर चलाएको र घरबाट सामान समेत निकाल्न नदिएको उनीहरूको गुनासो छ ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका लाल बहादुर लिम्बुले पनि सरकारले छिटो छानबिन गरी वास्तविक गरिब र भूमिहीनको उचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । उनकी १० वर्षीय छोरी मानसिक र शारीरिक रूपमा कमजोर रहेकाले छोरीको उपचारमा सरकारले सहयोग गर्नेमा उनी आशावादी छन् ।

त्यस्तै बालाजु बस्तीबाट विस्थापित भई बनेपा पुगेका ६६ वर्षीय तोयनाथ मिश्रको पिसाब सम्बन्धी गम्भीर समस्या छ । पिसाबको थैली हातमै बोकेर हिँड्न बाध्य भएका मिश्रले ढिलै भए पनि सरकारले आफ्नो उचित व्यवस्था गर्ने आस राखेका छन् । सेन्टरमा रहेका साना केटाकेटीहरूले पनि समयमै विद्यालय जान पाउने वातावरण मिलाउन माग गरेका छन् ।

नेपाल रेडक्रस जनशक्ति विकास प्रतिष्ठानकी विभागीय प्रमुख श्राद्ध श्रेष्ठका अनुसार सहरी विकास मन्त्रालयको पत्राचारपछि वैशाख २४ गते बेलुका तीनवटा गाडीमा ११० जना विस्थापितलाई त्यहाँ ल्याइएको हो । मन्त्रालयले कुल १५४ जनाको आवास तथा खाना व्यवस्थापनका लागि पत्राचार गरेको उनले जानकारी दिइन् ।

बनेपा पुर्याइएकाहरूमा विभिन्न उमेर समूह र फरक अवस्थाका मानिसहरू छन्, जसमा एक जना नौ दिनकी सुत्केरी समेत छिन् । विस्थापितहरूमा १८ वर्ष मुनिका २६ जना बालबालिका छन्, जसमा १६ जना बालिका र १० जना बालक छन् । त्यस्तै ज्येष्ठ नागरिकको सङ्ख्या लगभग १६ जना रहेको छ ।

विभागीय प्रमुख श्रेष्ठले प्रतिष्ठानको वास्तविक क्षमता ६० जनाको बेड क्यापासिटी मात्र रहेको स्पष्ट पारेकी छन् । यो मुख्यतः तालिम केन्द्र भएकाले बेड र लजिङको व्यवस्था सिमित भएको अवस्थामा अचानक ११० जना आउँदा व्यवस्थापनमा निकै चुनौती थपिएको उनले बताइन् ।

चाप बढेपछि सुरुमा सबैभन्दा बढी जोखिममा रहेका बालबालिका, आमाहरू र वृद्धवृद्धाहरूलाई प्राथमिकता दिएर कोठाहरूमा राखिएको उनले जानकारी दिइन् । सकेसम्म परिवारलाई सँगै राख्ने कोसिस गरिएको र कोठामा नअटाएका बाँकी पुरुषहरूलाई अहिले हलमा व्यवस्थापन भइरहेको श्रेष्ठले बताएकी छन् ।




तस्बिर : सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण