बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लालीबजार’ हेरेपछि  कलाकारले के भने ?

मङ्गलबार, ०५ जेठ २०८३, १३ : ४३
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • प्रदर्शनको दोस्रो सातामा पुगेको फिल्म ‘लालीबजार’को विशेष प्रदर्शनीमा कलाकार तथा निर्देशक नीर शाहले यसलाई 'वर्षौंसम्म सम्झिने कोसेली' भनेका छन् ।
  • अभिनेत्री प्रियंका कार्कीले फिल्मको कथा र प्रस्तुतीकरणले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने र कलाकारहरूको अभिनय सशक्त रहेको बताइन् ।
  • अभिनेता आयुष्मान डीएस जोशीले स्वस्तिमा खड्काको अभिनयलाई उनको करिअरकै सशक्त प्रस्तुतिमध्ये एक भनेका छन् भने गायक तथा संगीतकार खेम सेन्चुरीले फिल्मले भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं । प्रदर्शनको दोस्रो सातामा पुगेको फिल्म ‘लालीबजार’सोमबार साँझ काठमाडौंस्थित जय नेपाल हलमा विशेष प्रदर्शनी समेत भएको छ ।  फिल्म हेरेपछि अभिनेता तथा निर्देशक नीर शाहले फिल्मलाई 'वर्षौंसम्म सम्झिने कोसेली'को संज्ञा दिए ।

उनले भने, 'निर्माताले हामीलाई लामो समयसम्म सम्झिने फिल्म उपहार दिनुभएको छ । नेपालकै कथामा आधारित राम्रो फिल्म हेर्न पाएँ । विश्वासका साथ हलमा प्रवेश गरेको थिएँ, बाहिरिँदा त्योभन्दा धेरै पाएँ ।'

शाहले विशेषगरी अभिनेत्री स्वस्तिमा खड्काको अभिनयलाई उत्कृष्ट भएको बताए । 'स्वस्तिमाले आफ्नो अघिल्लो कामभन्दा अझ सशक्त अभिनय गर्नुभएको छ । नव कलाकार विशाल र प्रशंसाले पनि राम्रो काम गरेका छन् । सबै पात्र जीवन्त लाग्छन्,' उनले भने ।

अभिनेत्री प्रियंका कार्कीले फिल्मको कथा र प्रस्तुतीकरणले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्न बताइन् ।

उनले भनिन्, 'फिल्मको पटकथा निकै सहज ढंगले अघि बढ्छ । कलाकारहरूको अभिनय सशक्त छ । हेर्दा मोबाइल चलाउन वा हलबाट निस्किन मन लाग्दैन । क्लाइमेक्स अझ प्रभावशाली बनेको छ ।'

अभिनेत्री वर्षा राउतले निर्माण संस्था षट्कोण आट्र्सले दर्शकको रुचि बुझेर फिल्म निर्माण गर्ने गरेको बताइन् ।

'यो फिल्म दर्शक र समीक्षक दुवैको नजरबाट हेर्दा मन पर्ने गरी बनेको छ,' उनले भनिन् ।

अभिनेता आयुष्मान डीएस जोशीले स्वस्तिमा खड्काको अभिनयलाई उनको करिअरकै सशक्त प्रस्तुतिमध्ये एक भनेका छन् ।

फिल्ममा रहेको लोकप्रिय गीत ‘मायालाई के दिउँ म बैना’का गायक तथा संगीतकार खेम सेन्चुरीले फिल्मले भावुक बनाएको प्रतिक्रिया दिए ।

'फिल्मको जति चर्चा छ, त्योभन्दा अझ राम्रो बनेको छ । यसले कुनै समुदायलाई लक्षित गरेको छैन, एउटी आमाले सन्तानको सुरक्षाका लागि कति संघर्ष गर्छिन् भन्ने देखाएको छ,' उनले भने, 'फिल्म हेर्दा आँखा नरसाउने सायद कमै होलान् ।'

अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप