शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाबाट निष्कासित चन्दन स्वर्णकारको आक्रोश, ‘मेरो राजनीतिक हत्या भयो’

शुक्रबार, ०८ जेठ २०८३, ०९ : २०
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराका नेता चन्दन स्वर्णकार (शर्राफ) लाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ ।
  • पार्टीको यस कदमप्रति कडा आपत्ति जनाउँदै स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका छन् र यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् ।
  • स्वर्णकारले अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले आफूलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा यस्तो निर्णय गराइएको दाबी गरेका छन् ।

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराका नेता चन्दन स्वर्णकार (शर्राफ) लाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ । 

पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते प्रेषित पत्रमार्फत उक्त निर्णयको आधिकारिक जानकारी गराइएको छ ।

पार्टीको यस कदमप्रति कडा आपत्ति जनाउँदै स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका छन् । आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको दाबी गर्दै उनले यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् ।

स्वर्णकारले जेठ ९ गते हुन लागेको बारा जिल्लाको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि पारेर आफूविरुद्ध षड्यन्त्र रचिएको आरोप लगाएका छन् । तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै कुनै निष्पक्ष छानबिन बिना नै केन्द्रले आफूलाई निष्कासन गरेको उनको भनाइ छ । अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले आफूलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा यस्तो निर्णय गराइएको दाबी समेत उनले गरेका छन् ।

रास्वपाको प्राविधिक पानाबाट आफ्नो नाम हटाइए पनि महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट कसैले हटाउन नसक्ने स्वर्णकारले उल्लेख गरेका छन् । रास्वपाको यो निर्णय र आगामी विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले उचित जवाफ दिने चेतावनी दिँदै उनले भनेका छन्, ‘मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा सकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ ।’

आफ्नो राजनीतिक भविष्यको फैसला आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले गर्ने भन्दै उनले न्यायको लडाइँमा साथ दिने सम्पूर्ण आम जनसमुदायप्रति आभार प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप