बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यात्रा गर्दै हुनुहुन्छ? यी राजमार्गहरूमा छ बाढी र पहिरोको अवरोध

शुक्रबार, ०८ जेठ २०८३, १० : ०२
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको छ।
  • गण्डकी प्रदेशको लमजुङमा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध छ भने म्याग्दीमा बेनी-जोमसोम सडक खण्ड एकतर्फी मात्र सुचारु छ।
  • कोशी प्रदेशमा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग एकतर्फी सञ्चालनमा छन्, बागमती प्रदेशको बिपी राजमार्ग र कर्णाली प्रदेशको हिल्सा-सिमिकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको जनाएको छ। 

शुक्रबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरूमा प्राकृतिक प्रकोपका कारण कतै सडक पूर्ण रुपमा अवरुद्ध छ भने कतै एकतर्फी मात्र खुला छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले केही सडक खण्डमा सवारी साधन सञ्चालनमै पूर्ण रुपमा रोक लगाएको छ।

सबैभन्दा बढी प्रभावित गण्डकी प्रदेशको लमजुङ जिल्ला रहेको छ। प्राप्त विवरण अनुसार पहिरोका कारण लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। 

यसैगरी, गण्डकी प्रदेशकै म्याग्दी जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा बेनी-जोमसोम सडक खण्ड एकतर्फी मात्र सुचारु छ। वैशाख १६ गते अन्नपूर्ण गाउँपालिका-३ जलथले र जेठ ७ गते रघुगंगा गाउँपालिका-३ तल्लो बैसरीमा गएको पहिरोका कारण उक्त सडक एकतर्फी मात्र खुला गरिएको हो। 

उता कोशी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ। भोजपुर नगरपालिका-५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा छ, यद्यपि यहाँ साना सवारीका लागि वैकल्पिक बाटोको व्यवस्था भने गरिएको छ। संखुवासभाको मकालु गाउँपालिका-३ नयाँबस्तिमा वैशाख २३ गतेको पहिरोले कोशी राजमार्ग पनि एकतर्फी मात्र सुचारु छ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिम देखिएपछि वैशाख २२ गतेदेखि बिपी राजमार्ग सडक खण्डअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई रोक लगाइएको छ। 
त्यसैगरी, कर्णाली प्रदेशको हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण वैशाख २९ गतेदेखि नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा-सिमिकोट सडक खण्डमा सवारी साधन सञ्चालन गर्न दिइएको छैन।
प्रहरीले सडक अवरोध सम्बन्धी अद्यावधिक सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत लिन सकिने जनाएको छ।

705437807_2085583328686022_7621425152982597915_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप