‘निजी क्षेत्र र डायस्पोरामा रहेका लगानीकर्ताहरू कर्णालीलाई नयाँ अवसरको रूपमा हेर्छन्’
सारांश
- कर्णाली प्रदेशको औद्योगिक विकास पछाडि परेको छ, जसका कारण प्रदेश अनुदानमा आश्रित छ ।
- कर्णालीको आर्थिक उन्नतिका लागि भौगोलिक, सामाजिक र वातावरणीय परिवेशमा आधारित उद्योग, प्राकृतिक स्रोतको प्रयोग, धार्मिक पर्यटन र सांस्कृतिक सम्पदाहरूको विकासमा जोड दिनुपर्ने पूर्वमन्त्री माधव चौलागाईंले बताएका छन् ।
- लगानीकर्ताहरू कर्णालीलाई नयाँ अवसरको रूपमा हेर्छन् तर पूर्वाधारको अभाव, लगानीको सुरक्षा र बजारसम्मको सहज पहुँच नहुँदा लगानी गर्न हिच्किचाउँछन् ।
सुर्खेत । अन्य प्रदेशको तुलनामा कर्णालीको औद्योगिक विकास निकै पछाडि छ । सम्भावनाको क्षेत्र भनिए पनि कर्णालीमा आर्थिक समृद्धिका आधार मानिने ठुला तथा मझौला खालका उद्योग, कलाकारखाना छैनन्, जसका कारण कर्णाली अझै पूर्ण रूपमा परनिर्भरमात्रै छैन, प्रदेश संरचना सञ्चालनका लागि समेत अनुदानमा आश्रित छ ।
कर्णालीमा किन औद्योगिक विकास हुन सकेन ? आर्थिक उन्नतिका खाका के–के हुन सक्छन् ? यसबारे छलफल गर्न हामीले कर्णालीको इतिहास खोतल्ने अन्वेषक माधव चौलागाईंलाई रोजेका छौँ, जो जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री थिए ।
प्रस्तुत छ, पूर्वमन्त्री चौलागाईंसँग गरिएको कुराकानीको सम्पादित अंशः
- तपाईंको विचारमा कर्णालीको आर्थिक रूपमा उन्नतिका खाका के–के हुन सक्छन् ?
हामीले देखेको कर्णालीमा आर्थिक उन्नतिको पहिलो पक्ष यहाँको विशिष्ट भौगोलिक अवस्था नै हो । यो विशिष्ट भौगोलिक अवस्था, सामाजिक परिवेश र वातावरणीय परिवेशलाई ध्यानमा राखेर त्यसमा आधारित उद्योग–धन्दाले आर्थिक अवसर सिर्जना गर्दछन् । हामीसँग उच्च हिमाली क्षेत्रदेखि पहाडी र भित्री मधेससम्मको विविधता छ । यो भौगोलिक विविधताले दिने पर्यावरणीय अवस्थामा आधारित उद्योगधन्दाहरू एउटा महत्त्वपूर्ण क्षेत्र हो ।
हामीसँग प्राकृतिक र सांस्कृतिक रूपमा ठुलो विविधता छ । प्राकृतिक–सांस्कृतिक सम्पदाहरूको विविधता भएको यो ठाउँमा धार्मिक पक्षहरू पनि जोडिन्छन्, जसले अर्को एउटा ठुलो अवसर दिने देखिन्छ ।
अर्को पक्ष भनेको हामीसँग भएका प्राकृतिक स्रोतहरूको प्रयोगमा आधारित अर्थतन्त्र हो । प्राकृतिक स्रोतअन्तर्गत नदीनाला एउटा ठुलो आधार हो भने पर्यटकीय रूपमा महत्त्वपूर्ण स्थानहरू अर्को आधार हुन् । पर्यटनको सन्दर्भमा हामीले सधैँ रारा वा फोक्सुण्डो मात्र सोचिरहेका छौँ । जबकि यहाँको उच्च संस्कार, माथिल्लो हिमाली बस्तीदेखि तलका भ्यालीहरूसम्म धेरै विविधता छ । हाम्रा आर्थिक आधारहरू यिनै भौगोलिक र सांस्कृतिक सम्पदाहरूसँग जोडिनुपर्छ । कर्णालीमा यी क्षेत्रभन्दा बाहिर गएर तुलनात्मक लाभका अन्य ठाउँहरू देखिँदैनन् ।
- कर्णालीमा अहिलेसम्म उद्योगधन्दाहरू स्थापनामा प्रगति छैन । बेरोजगारी अवस्था उस्तै छ र कृषिबाट पनि आत्मनिर्भर हुने अवस्था छैन । कलकारखाना नहुँदा जीवनस्तर कसरी उकास्न सकिन्छ ?
हो, यो हाम्रोलागि एकदमै चुनौतीपूर्ण अवस्था हो । किनभने उद्योग, कलकारखाना भनेको आधुनिकीकरणसँग जोडिएर आएका हुन्छन् । समाज जसरी औद्योगिकीकरण र आधुनिकीकरणतर्फ अगाडि बढ्छ, त्यहाँ उद्योग, कलकारखानाहरू बिस्तारै विस्तारित हुन्छन् । कर्णाली भनेको परम्परागत जीवनशैली, परम्परागत कृषि र पशुपालनमा आधारित सामाजिक–आर्थिक मोडलमा चलिरहेको समाज हो । यस्तो समाजमा आधुनिकीकरण, औद्योगिकीकरण वा यान्त्रीकरण नभएसम्म कलकारखानाहरू खुल्दैनन् ।
त्यस क्षेत्रमा प्रवेश गर्नका लागि पूर्वाधारको पहुँच अनिवार्य हुन्छ । समाजमा सचेतना छ र हामीले सम्भावनाहरू पनि देखेका छौँ, तर ती सम्भावनालाई चरितार्थ गर्न आवश्यक वातावरण अहिलेसम्म बनेको छैन । वातावरण नबनेपछि आधुनिकीकरण, औद्योगिकीकरणको सम्भावना न्यून हुने नै भयो ।
वातावरण नबन्नु भनेको पूर्वाधारहरूको अभाव हो । पूर्वाधार नबन्नुको कारण हाम्रा स्रोत–साधनहरूमा पर्याप्त लगानी भएन । देशको अन्य भागको तुलनामा कर्णालीको पूर्वाधारमा लगानी पर्याप्त भएन । हामी एकदमै पछाडि परेको र विकासको गति सुस्त भएको कारणले धेरै चाहेर पनि ठुला कलकारखाना र उद्योगधन्दाहरू बन्न सकेका छैनन् ।
अहिले परम्परागत ढङ्गका घरेलु र साना उद्योगहरू निर्वाहमुखी रूपमा चलिरहेका छन् । त्यसले कुनै परिवारलाई आफ्नो जीविकोपार्जन गर्न सानो स्केलमा सहयोग त गरेको छ, तर हामीलाई बजारमुखी उद्योग चाहिएको हो, जसले समग्र प्रदेशको र कर्णालीबासीको आर्थिक अवस्थामा सुधार ल्याउन सकुन् । बजारमुखी भयो भने प्रतिस्पर्धामा चल्छ । हामीले त्यतातर्फ वा प्रतिस्पर्धामा जान सक्ने हैसियत बनाउनुपर्छ । प्रतिस्पर्धामा जान बजारसम्मको पहुँच चाहिन्छ र पहुँचका लागि पूर्वाधार अनिवार्य हुन्छ । हामीसँग पूर्वाधार भएनन् । पूर्वाधार नभएसम्म जतिसुकै चाहे पनि धेरै ठुलो रोजगारी सिर्जना गर्ने उद्योगधन्दाहरू खुल्ने सम्भावना कम रहन्छ ।
- समस्याको कुरा आयो, सम्भावनाको कुरा गर्दा हामी कहाँ कस्ता–कस्ता कलकारखानाहरूको सम्भावना देख्नुहुन्छ ?
कर्णालीको सम्भावना अन्य क्षेत्रभन्दा पृथक हुनुपर्छ । नेपालमा अहिले स्थापित करिडोरहरूमा जुन मोडलका उद्योगधन्दा बनिरहेका छन्, त्यही शैली कपी गरेर कर्णालीमा सफल हुन सकिँदैन । वीरगन्ज, नेपालगन्ज वा विराटनगर करिडोरमा भएका उद्योगहरू कर्णालीमा गरौँभन्दा लागत बढी हुन जान्छ, किनकि हामी ठुलो बजारबाट टाढा छौँ । त्यसैले ती क्षेत्र हाम्रालागि तुलनात्मक लाभका क्षेत्र होइनन् ।
हाम्रो लागि तुलनात्मक लाभको क्षेत्र कृषि, विशेषगरी फलफूलमा आधारित उद्योग हो । कृषियोग्य जमिन थोरै भए पनि फलफूलमा आधारित उद्योगको ठुलो सम्भावना छ । हिमाली जडीबुटीहरू जस्ता उच्च मूल्य दिने उत्पादन अर्को ठुलो क्षेत्र हो । अहिलेसम्म हामीले कच्चा पदार्थमात्र सप्लाई गरिरहेका छौँ, प्रशोधन गर्ने उद्योगहरू छैनन् । बजारसम्म पुर्याउन सरकारबाट पर्याप्त संरक्षण र सहायता नहुँदा तथा मुख्यतया पूर्वाधार नहुँदा यी उद्योग फस्टाउन सकेका छैनन् ।
त्यसैगरी, सिञ्जाली क्षेत्रमा कङ्क्रिट र कच्चा पदार्थ भएको ठाउँमा सिमेन्ट उद्योगको ठुलो सम्भावना छ । यहाँ ठुला उद्योगको विकास गर्न सकिन्छ । यसका लागि पनि बाटो, बिजुली र सञ्चारजस्ता आधारभूत पूर्वाधारको पहुँच चाहिन्छ । त्यो नहुँदा लगानीकर्ता आउन सक्ने अवस्था रहँदैन ।
कर्णालीको अर्को महत्त्वपूर्ण क्षेत्र हो जलविद्युत् । जलविद्युत् नेपालकै ठुलो सम्भावना भएको क्षेत्र भए पनि पूर्वाधारकै अभावले यहाँ लगानी हुन सकेको छैन । पर्यावरण पर्यटनसँग जोडिएका ठुला उद्योगहरूको अर्को सम्भावना छ । यसको बजार क्रस बोर्डर अर्थात् तिब्बत र चीनसम्म हुन सक्छ ।
साना तथा मझौला उद्योगका लागि पनि यहाँ राम्रो अवसर छ । वन क्षेत्र ठुलो भएकाले काष्ठजन्य र गैरकाष्ठजन्य उद्योग हुन सक्छन् । खानीजन्य उद्योगको पनि सम्भावना छ । विगतमा परम्परागत ढङ्गले सञ्चालन भएका तर सरकारी नीतिका कारण बन्द भएका खानीहरूलाई पुनरुत्थान गर्न सकिन्छ । पर्यटन क्षेत्रमा अमूर्त सम्पदाहरू अर्को ठुलो उद्योग बन्न सक्छ । प्राकृतिक दृश्यावलोकन मात्र होइन, सांस्कृतिक पर्यटन, सम्पदा पर्यटन र ‘ल्यान्डस्केप टुरिजम’ को नयाँ अवधारणामा आधारित उद्योगहरू ठुला सम्भावनाका क्षेत्र हुन् ।
- सधैँ कर्णाली सम्भावना नै सम्भावनाको क्षेत्रमात्र भनिन्छ, व्यवहारमा हामी सबै हिसाबले कमजोर छौँ । यहाँ लगानीकर्ताहरू किन आकर्षित छैनन् ? तपाईं केन्द्रमा वन तथा वातावरणमन्त्री हुँदा पनि यो विषयमा जानकारी पाउनुभयो होला । कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण कस्तो देख्नुहुन्छ ?
अहिलेको अवस्थामा लगानीमैत्री वातावरण पूर्ण रूपमा तयार भइसकेको छैन भन्न मिल्छ, तर कर्णालीप्रतिको आकर्षण र लगानी गर्ने चाहनाचाहिँ बढिरहेको पाउँछु मैले । कर्णाली र सुदूरपश्चिम क्षेत्रप्रति एउटा रहस्यमय आकर्षण छ, तर लगानीकर्ताका लागि पहुँच, लगानीको सुरक्षा र बजारसँगको सहज पहुँचको अभाव छ । राज्यले पनि यसलाई प्रवर्द्धन गर्ने खालको नीति ल्याउन सकेको छैन ।
उदाहरणका लागि, कर्णाली प्रदेशभरि अहिलेसम्म विशेष आर्थिक क्षेत्रको व्यवस्था गरिएको छैन । अलि सम्भावनाका रूपमा हेरिएका ठाउँमा पनि पूर्वाधार बनाइएन । उपयुक्त जग्गा प्राप्त गर्ने, भोगाधिकार लिने र सुरक्षा पाउने सुनिश्चितता छैन । कतिपय लगानीकर्ता ठुलो लगानी गर्न चाहन्छन् तर जग्गा खरिद, ट्याक्सको समस्या र सरकारी प्रत्याभूतिको अभावले उनीहरू हच्किएका छन् । कानुनी झमेला र भौतिक असुरक्षाको डर पनि उत्तिकै छ । मेरो लगानी सुरक्षित हुन्छ र विवाद भएमा कानुनी उपचार पाइन्छ भन्ने विश्वास सरकारले दिलाउन सकेको छैन ।
अहिले उद्योग र व्यवसायलाई छुट्टएर हेर्नुपर्ने आवश्यकता छ । धेरैले व्यवसायलाई नै उद्योग बुझ्ने गरेका छन् । व्यवसायीले अर्को उद्योगको उत्पादन बिक्री गर्ने आउटलेटको रूपमा मात्र काम गर्छ । होटलहरू पनि व्यवसायको रूपमा मात्र छन्, तिनलाई उद्यमशीलतामा जोड्न सकिएको छैन । उद्योगलाई प्रवर्द्धन गर्ने वातावरण नहुँदा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कर्णालीको उद्योग क्षेत्रको योगदान एकदमै कम छ । यद्यपि, यहाँको विशाल भूगोल र अनपेक्षित प्राकृतिक स्रोतका कारण मानिसहरूले नयाँ अवसर देखिरहेका छन् ।
मुस्ताङमा जस्तै कर्णालीमा पनि पर्यटनको ठुलो लहर आउन सक्छ । काठमाडौँ, पोखरा वा भारतबाट आउने पर्यटकका लागि कर्णाली र सुदूरपश्चिम मुख्य गन्तव्य बन्न सक्छन्, तर त्यसका लागि यात्राको अनुमानयोग्यता हुनुपर्छ । जस्तो कि कति दिनमा पुगेर फर्किइन्छ भन्ने निश्चिततता । त्यो नभएसम्म लगानीकर्ताले जोखिम लिन खोज्दैनन् ।
- तपाईंले विशेष क्षेत्रको कुरा गर्नुभयो, अन्य प्रदेशमा औद्योगिक क्षेत्र तोकिएका छन् । कर्णालीमा यस्तो औद्योगिक करिडोर वा क्षेत्रको सम्भावना कहाँ देख्नुहुन्छ ?
यसमा दुई–तीन वटा कुरा छन् । एउटा सानो–सानो औद्योगिक ग्राम बनाउनुपर्छ । हामीसँग सरकारी जग्गा थोरै छन् र भएका पनि अतिक्रमणमा परेका छन् । त्यसैले भएका सरकारी जग्गाहरूमा औद्योगिक ग्राम बनाएर आसपासका गतिविधि केन्द्रित गर्नुपर्छ । त्यहाँ सरकारले बिजुली, सूचना र आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ । जुम्ला वा सुर्खेतमा यस्ता प्रयास भए पनि प्रभावकारी रूपमा अगाडि बढ्न सकेनन् । पूर्वाधारको अभाव नै यसको मुख्य बाधक हो ।
यसलाई नयाँ ढङ्गले सोच्दा हिमाली क्षेत्रमा भेंडापालनको अत्यन्त ठुलो सम्भावना छ । भेंडाको मासु र उनका लागि यो ठुलो मार्केट हो । अहिले यो पुर्ख्यौली र पारिवारिक तरिकाले मात्र भइरहेको छ । हाम्रो ठुलो चरन क्षेत्रलाई उपयोग गरेर यसलाई व्यावसायिक बनाउन सकिन्छ । त्यसैगरी सुन्तला र स्याउका लागि कोल्ड चेन मेन्टेन गर्न सके राम्रो आम्दानी हुन्छ ।
स्पेसल इकोनोमिक जोन भनेको सरकारले सबै सुविधा दिएर उद्यमीहरूलाई आकर्षित गर्ने ठाउँ हो । अहिले उद्यमी आफैँ जमिन खोज्ने र स्थानीयसँग विवाद सुल्झाउने झमेलामा फसेका छन् । उद्योग स्थापनाका धेरै चरण र झन्झट छन् । त्यसैले एउटै जोनभित्र सबै सुविधा र सुरक्षा दिने हो भने लगानीकर्ता आकर्षित हुन्छन् । लुम्बिनी वा चितवनजस्तो ठुलो नभए पनि कर्णालीको माटो सुहाउँदो साना प्रकृतिका इकोनोमिक जोनहरू बनाउने यो उपयुक्त समय हो । अहिले प्रमुख ठाउँहरूमा बिजुली पुग्दैछ । अब बाटोको गुणस्तर सुधार गर्नुपर्छ । सडक समयमा बन्ने र भरपर्दो हुने हो भने उद्योगको वातावरण स्वतः बन्छ ।
- नेपालको निजी क्षेत्र वा एनआरएनहरूको कर्णालीप्रतिको धारणा कस्तो पाउनुहुन्छ ?
निजी क्षेत्र र डायस्पोरामा रहेका लगानीकर्ताहरू कर्णालीलाई नयाँ अवसरको रूपमा हेर्छन् । उनीहरूलाई लाग्छ कि कर्णालीले भविष्य बोकेको छ । आकर्षण उच्च छ, तर उनीहरू अनिश्चिततासँग डराइरहेका छन् ।
जोखिम व्यवस्थापन र सुरक्षाको ग्यारेन्टी हुने हो भने उनीहरू ठुलो लगानी लिएर आउन तयार देखिन्छन् ।
- विदेश जाने जनशक्तिलाई यहीँ रोक्न के गर्न सकिएला ? कस्ता खालका उद्यमशील कार्यक्रम गर्न आवश्यक छ ?
कर्णालीबाट वैदेशिक रोजगारीमा जाने लहर भर्खरै सुरु भएको हो । ऐतिहासिक रूपमा यहाँको जनशक्ति कालापहाड (भारत) जाने गर्दथ्यो । त्यहाँ उनीहरू मुख्यतया फलफूलका बगैँचामा काम गर्ने वा निर्माण कार्यमा लाग्ने गर्दथे । ती दुवै काम कर्णालीमै गर्न सकिने सम्भावना धेरै छ । आफ्नै गाउँठाउँमा काम गर्न सङ्कोच मान्ने प्रवृत्तिका कारण मानिसहरू बाहिर गएका हुन् । यदि कर्णालीमै फलफूल, जडीबुटी र निर्माणका क्षेत्रमा व्यावसायिक अवसर सिर्जना गर्ने हो भने त्यो जनशक्तिलाई रोक्न सकिन्छ ।
अबको ठुलो बजार पर्यटन हो । पर्यटनमा हुने ‘बुम’ले धेरैलाई रोजगारी दिन्छ, तर यसका लागि बाटोको अवस्था सुध्रिनुपर्छ । कर्णालीमा राति गाडी चल्दैनन् । हामीले राति पनि गाडी चल्ने र १२ महिना सडक सञ्चालन हुने वातावरण बनाउनुपर्छ । कर्णाली राजमार्गको विकल्पका रूपमा समानान्तर बाटो खोल्नुपर्छ । जस्तो कर्णाली राजमार्गको दैखोला वा गगने खोलामा पहिरो जाँदा सयौँ गाडी रोकिने अवस्थाको अन्त्य हुनुपर्छ । सुर्खेतदेखि तिब्बतसम्म जोड्ने सडक सञ्जाल विस्तार भयो भने साना, मझौला र ठुला उद्योग खुल्ने ठुलो सम्भावना छ । यात्रा सहज र सुरक्षित हुनेबित्तिकै कर्णालीको आर्थिक रूपान्तरण सुनिश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण