बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
गगन–विश्वको फरक दाउ

कांग्रेसमा विश्वप्रकाशले थापा च्याप्दा गगन पक्ष रुष्ट, इतर पक्षको 'गोल हान्ने' तयारी

निकटस्थलाई अमृत अर्याल भन्छन्, ‘हाइज्याक भयो’
शनिबार, ०९ जेठ २०८३, १९ : ३०
शनिबार, ०९ जेठ २०८३

विराटनगर । सुनसरीको लौकहीमा शुक्रबार आयोजित कांग्रेस कोशी प्रदेशस्तरीय दुईदिने परामर्श कार्यशालामा उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए ।

एमाले र कांग्रेसबिच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने तयारी भइरहँदा शर्माले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘अहिले यसबारेमा धेरै बोल्न चाहन्नँ, तर अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले गर्नेछ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’ 

अहिले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस चार मन्त्रालयसहित सहभागी छ । सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कुनै पनि प्रदेशमा स्पष्ट बहुमत नहुँदा दलहरूबिच आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार गठबन्धन सरकार सञ्चालन हुँदै आएका छन् । प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न कांग्रेसले उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो । त्यसक्रममा उनले एमाले अध्यक्ष केपी ओलीसँग पटक–पटक संवाद गरिसकेको जनाइएको छ । तर, एमाले अध्यक्ष ओलीले कोशीमा आफ्नै दलको मुख्यमन्त्री बनाउनुपर्ने अडानमा छन् । 

उता एमालेसँग मुख्यमन्त्रीको दाबी गरिरहेको कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता र भावी मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा आफ्नै पार्टीभित्र एकमत हुन सकेको छैन । 

विशेष महाधिवेशनको छेको पारेर गगन थापा समूहमा पुगेका प्रदेश सांसद अमृत अर्याललाई दलको नेता बनाउने पक्षमा सभापति थापा थिए । तर, उपसभापति विश्वप्रकाश शर्माले हालकै दलका नेता उद्धब थापालाई आफ्नो समूहमा ल्याउँदै मुख्यमन्त्रीमा प्रस्ताव गरेको स्रोतको दाबी छ । ‘सहमति अनुसार नेतृत्व आलोपालो गर्नुपर्छ । अब कोशीमा कांग्रेसबाट उद्धव थापाजीले सरकारको नेतृत्व गर्नुहुनेछ,’ शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रस्ताव गरेका थिए, ‘आलोपालो प्रणाली अनुसार अघि बढौ अध्यक्षज्यू ।’ 

विश्वप्रकाशले यो प्रस्ताव राख्नुमा झापा कांग्रेसमा आफ्नो समूह बलियो बनाउनु र नेता कृष्णप्रसाद सिटौलालाई कमजोर बनाउनु मुख्य उद्देश्य रहेको बताइन्छ । दल नेता थापा पनि पछिल्लो समय विश्वप्रकाशकै योजनाअनुसार चलिरहेको अर्को पक्ष बताउँछ । यसअघि थापा नेता कृष्ण सिटौलाको 'दाहिना' थिए । 

तर, एकाएक मुख्यमन्त्रीको लोभमा संस्थापन पक्षमा आएर दलको नेतामा विराजमान हुने चाहना थापाले राखेपछि सभापति गगन पक्षधर सांसदहरू भने रुष्ट बनेका छन् । यसअघि प्रदेश सांसद तथा उदयपुर कांग्रेसका सभापति हिमाल कार्कीले दलको नेता अमृत अर्याल हुने बताएका थिए । अहिले भने यो विषयमा उनी स्पष्ट धारणा राख्दैनन् । ‘यो विषयमा अहिले नबोलौं, पछि कुरा गरौंला,’ उनी भन्छन् । यद्यपि उनले निकटस्थहरूलाई भन्ने गरेका छन्, ‘दलको नेता फेर्न खोजेको हाम्रै समूहमा आएपछि त्यो एजेण्डा अब अर्को समूहको हातमा पुगेको छ ।’ 

२०८२ जेठमा डाक्टर शेखर कोइराला पक्षधरले विराटनगरमा आयोजित एक कार्यक्रममा अर्यालले कन्ट्रोभर्सी र प्रतिबद्ध नभएको जमातमा बस्दा आफूलाई हीनताबोध भएको भन्दै उद्धब थापालक्षित कडा आलोचना गरेको थियो । त्यसबेला कोइरालाले उद्धबलाई सभापतिमा जिताउँदा र दलको नेतामा जित्ने मौका दिँदा ठुलो भूल गरेको भन्दै पश्चाताप पनि गरेका थिए ।

‘मैले राजनीतिक जीवनमा धेरै काम गरेको छु । दुई पटक मोरङको सभापति भएँ । दुई पटक कन्द्रीय सदस्य र दुई पटक माननीय भएँ । मलाई अहिले रिग्रेट फिल भएको छ,’ कोइरालाले भने, ‘मैले गुरु घिमिरेलाई हराएर उद्धबजीलाई प्रदेश सभापतिमा जिताउने काम गरेँ । त्यो मेरो राजनीतिक भूल थियो ।’

त्यसबेला कांग्रेसको पहिलो कोशी प्रदेश अधिवेशनमा अर्यालले गुरु घिमिरेलाई हराउन उद्धब थापालाई सघाएका थिए । 

अर्यालले प्रदेश सांसदको रूपमा रहे पनि संसदमा बोल्न पनि नसकेको बताउँथे । ‘दलका नेता उद्धबजीलाई हामीले प्रस्ताव गरौं । कि जातीय पहिचानको पक्षमा उभिनुपर्‍यो कि कोशीको पक्षमा उभिनुपर्‍यो भनेको थिएँ । तर, पछि एमालेले गरेको निर्णयमा भोट हाल्यौं । यस्तो कन्ट्रोभर्सी, प्रतिबद्ध नभएको जमातमा बस्दा मलाई हिनताबोध पनि भएको छ ।’ 

तर, आफूले कन्ट्रोभर्सी र प्रतिबद्ध नभएको जमातको नेता भनेर आलोचना गरिरहेका उनै उद्धब थापालाई दलको नेता मान्नुपर्ने बाध्यता अर्यालको जिम्मेवारी बनेको छ । तीन दिन अगाडि विराटनगरमा बसेको कोशी प्रदेश संसदीय दलको बैठकमा पनि सांसद अर्यालले प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिका विषयमा गम्भीर असहमति राखेका थिए । ‘कहाँबाट कसको सिफारिसमा राजनीतिक नियुक्ति भइरहेको छ ?,’ उनले दलका नेतालाई प्रश्न गरेका एक सांसद बताउँछन् ।

प्रदेश सरकारले मंगलबार कोशी प्रदेश लोकसेवा आयोगमा रिक्त रहेका दुई सदस्य पदमा कांग्रेसबाट रूपा थापा ओझा नियुक्त गरेको थियो । उक्त नियुक्ति कांग्रेस महामन्त्री गुरुराज घिमिरेको सिफारिसमा भएको स्रोत दाबी गर्छ । दलका नेता उद्धब थापाले भने झापाकै एक व्यक्तिको नाम सिफारिस गरेका थिए । दलको बैठकमा महामन्त्री घिमिरेले सिफारिस गरेको व्यक्तिलाई नै प्रदेश सरकारले नियुक्त गरेपछि असन्तुष्टि देखिएको थियो । अर्यालले त निकटस्थहरूलाई आफूहरू विशेष महाधिवेशन भनेर जोखिम मोलेर आएको भए पनि थापाले दलको नेताको पद हाइज्याक गर्न लागेको बताउने गरेका छन् ।

उद्धब थापालाई दलको नेताबाट हटाउनु पर्नेमा गगन पक्षकै नेताहरू रहेका स्रोत दाबी गर्छ । थापालाई नेताबाट हटाउन हिमाल कार्की, विनोद वान्तवा, अमृत अर्यालहरू लागे पनि अविश्वासको प्रस्ताव हाल्न उपर्युक्त संख्या नहुँदा रोकिएको स्रोत दाबी गर्छ ।

‘उहाँहरू तपाईहरूले दर्ता गर्नुपर्यो भनेर आइरहनुभएको छ,’ इतर पक्षका एक सांसदले भने, ‘हामी भने उद्धब थापाको स्पष्टता खोजिरहेका छौँ । उहाँ गगन पक्षमा लाग्नुभएकै हो कि होइन, नेताहरूले क्लियर गरेपछि मात्रै हामी काम गर्छौँ ।’ 

कांग्रेस संसदीय दल २९ सदस्यीय छ । जसमा डाक्टर शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका सांसदको संख्या दुई तिहाई रहेको स्रोत दाबी गर्छ । तर इतर पक्ष अहिले नै थापालाई हटाउने पक्षमा छैन । ‘हामी अहिले हटाउन लाग्दैनौँ । पहिलो कुरा त नेताहरूले हामीलाई अब संसदीय मोर्चामा पनि हस्तक्षेप गर्नु भनेर भन्नुभएको छैन,’ एक नेताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप