बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल

श्रेयस अय्यरको शतकसँगै पन्जाबको सानदार जित, प्लेअफको सम्भावना कायमै

शनिबार, ०९ जेठ २०८३, २३ : ३०
शनिबार, ०९ जेठ २०८३

सारांश

  • श्रेयस अय्यरको अविजित १०१ रनको मद्दतले पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ ।
  • लखनउले दिएको १९७ रनको लक्ष्य पन्जावले १२ बल बाँकी छँदै १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।
  • यो जितसँगै पन्जाब १५ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ र प्लेअफको सम्भावना कायमै राखेको छ ।

काठमाडौँ । श्रेयस अय्यरको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतमा पन्जाब किंग्स ले इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्स लाई ७ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना जीवितै राखेको छ ।

लखनउले दिएको १९७ रनको चुनौतीपूर्ण लक्ष्य पञ्जावले १२ बल बाँकी छँदै १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । पन्जाबको जितमा श्रेयस अय्यरले विष्फोटक ब्याटिङ गर्दै ५१ बलमा १०१ रनको अविजित शतकीय इनिङ्स खेले। उनलाई बलियो साथ दिँदै प्रभसिमरन सिंहले ३९ बलमा ६९ रन बनाए भने कुपर कोनोलीले १० बलमा १८ रनको योगदान दिए । लखनउका तर्फबाट बलिङमा मोहम्मद शामीले २ तथा अर्जुन तेन्दुलकरले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। लखनउका लागि जोस इङ्लिसले ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै, आयुष बदोनीले १८ बलमा आक्रामक ४३ रन र अब्दुल समदले २० बलमा अविजित ३७ रन जोडेका थिए। पञ्जावका तर्फबाट बलिङमा युजवेन्द्र चहल र मार्को यान्सेनले समान २–२ विकेट लिए भने अजमतुल्लाह ओमरजाईले १ विकेट हात पारे।

यो महत्त्वपूर्ण जितसँगै पन्जाब १५ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । अब भोलि हुने मुम्बई र राजस्थानबिचको खेलले प्लेअफको अन्तिम समीकरण पूरा गर्नेछ ।

यदि उक्त खेलमा राजस्थान विजयी भएमा १६ अंकसहित प्लेअफमा प्रवेश गर्नेछ । तर, राजस्थान पराजित भएमा पन्जाब १५ अंकका साथ प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न सफल हुनेछ । यसअघि नै बेंगलुरु, गुजरात र हैदराबादले प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप