शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपथ्य मलेसियामा पहिलोपटक गुञ्जने

मङ्गलबार, १२ जेठ २०८३, १२ : ५८
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यले रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रोतामाझ प्रस्तुति दिने भएको छ।
  • यो ब्यान्डको मलेसियामा हुने पहिलो प्रस्तुति हुनेछ, जसले यसलाई २०औँ देश र क्वालालम्पुरलाई ५८औँ अन्तर्राष्ट्रिय सहर बनाउनेछ।
  • ब्यान्डका मुख्य गायक अमृत गुरुङले मलेसियामा रहेका नेपाली दर्शकलाई भेट्न र स्वदेशको माया बाँड्न आतुर रहेको बताएका छन्।

काठमाडौँ । अध्ययन र अन्य अवसरका निम्ति बिदेसिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ। 

क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको यो समूह यसै जुनको पहिलो तारिख (जेठ १८ गते) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुन लागेको हो। मलेसियामा बसोबास गर्दै आएका नेपालीहरूले त्यहाँस्थित ‘जेप क्वालालम्पुर’ मा सोमबार बेलुकी नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन सक्नेछन्।

जापानको जेप नेटवर्कअन्तर्गत रहेर चार वर्षअघि मात्र तयार भएको यो अन्तर्राष्ट्रिय रंगमञ्च सहरकै मुख्य पर्यटकीय गन्तव्य बुकित बिन्ताङमा अवस्थित छ। स्थापनाको साढे तीन दशक लामो यात्रामा पहिलोपटक मलेसियाका दर्शकमाझ उपस्थित हुन लागेको नेपथ्यका लागि यो २० औँ देश हुनेछ भने क्वालालम्पुर ५८ औँ अन्तर्राष्ट्रिय सहर बन्नेछ। तन्नेरीहरूकै सङ्घर्ष र सपनाबाट उठेको नेपथ्यका निम्ति वैदेशिक रोजगारीका गन्तव्यहरू प्रारम्भिक टेको बनेका थिए। 

गत वर्ष प्रकाशित नेपथ्यको जीवनी पुस्तकमा नब्बेको दशकतिर ब्यान्ड जन्मिएसँगै जापान र हङकङका अनुभवहरूलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसैगरी ब्यान्डले हिजोआज सबैजसो कन्सर्टमा प्रस्तुत गर्ने गरेको म्युजिक भिडियो ‘मै मरिजाउँला, जीवन छोटो छ’ पनि पछिल्लो कालखण्डकै रचनामध्येमा पर्छ, जसमा श्रम गरेर पारिवारिक समुन्नतिको सपना देख्ने तन्नेरीको गाथा समेटिएको छ।

मलेसिया यात्राबारे बोल्दै ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले भनेका छन्, ‘मलेसियाबाट धेरै अगाडिदेखि सामाजिक सञ्जालमार्फत हामीसँग संवाद गरिरहनुभएका दर्शकसँग यसपाला बल्ल भेटघाटको जोग जुर्न लागेकोमा असाध्यै खुसी छु। रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रलाई टेको दिने तन्नेरीहरूसँग स्वदेशको माया बाँड्न म र मेरो टिम आतुर छौँ।’ लाहुरे परिवारकै सदस्य भएकाले कुनै समयको ‘मलाया’ सँग आफ्नो पनि विगत जोडिएको अमृत बताउँछन्।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्। कन्सर्टका लागि व्यवस्थापक नेपालयले नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट अनलाइन टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ। 

त्यसबाहेक मलेसियामा बसोबास गर्दै आएका दर्शकको बढ्दो चासोलाई दृष्टिगत गर्दै फोनबाटै बुकिङको व्यवस्था पनि स्थानीय आयोजकले मिलाएका छन्, जसको विस्तृत जानकारी नेपथ्यको सामाजिक सञ्जाल पेजहरूमा उपलब्ध गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप