आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

पाटीदारको कीर्तिमानी ब्याटिङ : बेंगलुरु लगातार दोस्रो फाइनलमा पुग्दा के-के बने रेकर्ड ?

बुधबार, १३ जेठ २०८३, ०७ : ०५
बुधबार, १३ जेठ २०८३

सारांश

  • रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलको फाइनलमा लगातार दोस्रो सिजन पुगेको छ, जसले गुजरात टाइटन्सलाई ९२ रनले हराएको छ।
  • कप्तान रजत पाटीदारले अविजित ९३ रनको कीर्तिमानी पारी खेले, जसमा ५ चौका र ९ छक्का सामेल थिए।
  • बेंगलुरुले आईपीएल प्लेअफमा सर्वाधिक २५४/५ को स्कोर बनायो र पाटीदारले कप्तानको रूपमा सर्वाधिक स्ट्राइक रेटमा रन बनाए।

धर्मशाला । रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो सिजन आईपीएलको फाइनलमा पुगेको छ। टोलीले मंगलबार क्वालिफायर-१ मा गुजरात टाइटन्सलाई ९२ रनले हरायो। 

अब गुजरातले ‘एलिमिनेटर’ खेल जित्ने टोलीसँग ‘क्वालिफायर-२’ खेल्नेछ। ‘एलिमिनेटर’ खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच बुधबार न्यु चण्डीगढमा खेलिनेछ।

धर्मशालामा टस हारेर ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनायो। जवाफमा गुजरातको टोली १९.३ ओभरमा १६२ रनमै ‘अलआउट’ भयो।

वेङ्कटेश अय्यरले ७ बलमा १९ रन बनाएर बेंगलुरुलाई उत्कृष्ट सुरुवात दिलाए। त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलले पारी सम्हाले। कोहलीले २५ बलमा ४३ र पडिक्कलले १९ बलमा ३० रन बनाए। 

rajat patidar

दुवै आउट भएपछि कप्तान रजत पाटीदारले ३३ बलमा अविजित ९३ रन प्रहार गरे। उनको इनिङ्समा ५ चौका र ९ छक्का सामेल थिए। पाटीदार र क्रुणाल पाण्ड्याबिच चौथो विकेटका लागि ९५ रनको साझेदारी भयो। क्रुणालले २८ बलमा ४३ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे। 

अन्तिम ओभरहरूमा जितेश शर्माले ५ बलमा १५ रन बनाएर टोलीलाई २५० को आँकडा पार गराए। गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिए।

२५५ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात निकै खराब रह्यो। साई सुदर्शन १४ रन बनाएर ‘हिट-विकेट’ आउट भए भने कप्तान शुभमन गिलले मात्र २ रन बनाउन सके। जोस बटलरले ११ बलमा २९ रनको पारी खेलेर आशा जगाएका थिए, तर जोस हेजलवुडले उनलाई बोल्ड गरिदिए। त्यसपछि गुजरातले ५१ रन पुग्दा आफ्ना ५ विकेट गुमायो।

एक छेउबाट राहुल तेवतियाले एक्लै संघर्ष गर्दै ४३ बलमा ६८ रनको पारी खेले, जसमा ८ चौका र ४ छक्का समावेश थिए। बेंगलुरुका लागि डफीले ३ विकेट लिए भने क्रुणाल पाण्ड्या, भुवनेश्वर र रसिख सलामले २-२ विकेट झारे।

rcb

बेंगलुरुको स्कोर ऐतिहासिक त थियो नै, सँगै टोलीका कप्तानले पनि ३३ बलमा अविजित ९३ रन बनाएर कीर्तिमानहरू तोडेका छन् :

  • २५४/५ : धर्मशालामा गुजरात टाइटन्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरुले बनाएको यो योगफल ‘आईपीएल’ प्लेअफ वा नकआउट खेलमा कुनै पनि टोलीले बनाएको सर्वाधिक उच्च स्कोर हो। तीन वर्षअघि गुजरातले नै मुम्बई इन्डियन्सविरुद्ध ‘क्वालिफायर-२’ मा २३३/३ बनाएको थियो।

टी-२० क्रिकेटको प्लेअफ वा नकआउट खेलमा कुनै पनि टोलीले २५० वा सोभन्दा बढी रन बनाएको यो पाँचौँ पटक हो, जसमध्ये चारवटा पछिल्लो छ महिनामा भारतमै बनेका हुन्।

  • ४ : आईपीएलमा बेंगलुरुले २५० वा सोभन्दा बढी रन बनाएको यो चौथो पटक हो। जुन सनराइजर्स हैदराबाद पछिको दोस्रो सर्वाधिक धेरै हो। हैदराबादले यस्तो ६ पटक गरिसकेको छ।

RAJAT SUBHMAN

अर्कोतर्फ, गुजरातले एकै इनिङ्समा २५० भन्दा बढी रन खाएको यो पहिलो पटक हो। यसअघि उनीहरूले दश दिनअघि कोलकाता नाइट राइडर्सविरुद्ध २ विकेटको क्षतिमा २४७ रन दिएका थिए।

  • ११४ : बेंगलुरुले आफ्नो इनिङ्सको अन्तिम छ ओभरमा ११४ रन बनायो, जुन आईपीएल इनिङ्समा कुनै पनि टोलीले बनाएको दोस्रो सर्वाधिक ठुलो योगफल हो। यसको कीर्तिमान पनि बेंगलुरुकै नाममा छ, उनीहरूले २०१६ मा गुजरात लायन्सविरुद्ध अन्तिम छ ओभरमा १२६ रन बनाएका थिए।
  • ९ : आईपीएल २०२६ मा बेंगलुरुले २०० भन्दा बढी रन बनाएको यो नवौँ पटक हो। कुनै पनि टी-२० प्रतियोगितामा यो संयुक्त रूपमा सर्वाधिक धेरै हो। यसै संस्करणमा हैदराबाद र पञ्जाब किंग्सले पनि ९-९ पटक यस्तो गरेका छन्।
  • २८१.८१ : ३३ बलमा अविजित ९३ रन बनाउँदा रजत पाटीदारको ब्याटिङ स्ट्राइक रेट २८१.८१ रह्यो, जुन आईपीएल मा पचासभन्दा बढी रन बनाउने कप्तानको सर्वाधिक उच्च स्ट्राइक रेट हो। यसअघि २०२४ मा फाफ डु प्लेसिसले बेंगलुरुकै लागि गुजरातविरुद्ध २३ बलमा ६४ रन बनाउँदा २७८.२६ को स्ट्राइक रेट राखेका थिए।
  • ० : आईपीएलको एउटा इनिङ्समा पाटीदारको ९३* रन (२८१.८१ स्ट्राइक रेट) भन्दा बढी रन र उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याटरको सङ्ख्या शून्य छ। वैभव सूर्यवंशीले गत वर्ष गुजरातविरुद्ध ३७ बलमा १०३ रन बनाउँदा राखेको २७८.३७ को स्ट्राइक रेट यति धेरै रनका लागि दोस्रो उच्च हो।

पाटीदारको इनिङ्समा १२ औँ ओभरमा प्रसिद्ध कृष्णाको बलमा मात्र एउटा ‘डट बल’ थियो, जसमा पनि बेंगलुरुले ‘बाई’ मार्फत रन पाएको थियो।

  • ९३* : गुजरातविरुद्ध पाटीदारको यो स्कोर आईपीएल प्लेअफ (वा नकआउट) मा कुनै पनि कप्तानले बनाएको संयुक्त रूपमा सर्वाधिक उच्च स्कोर पनि हो। २०१६ को ‘क्वालिफायर-२’ मा डेभिड वार्नरले पनि गुजरात लायन्सविरुद्ध हैदराबादका लागि अविजित ९३ रन बनाएका थिए।
  • ९ : आफ्नो अविजित ९३ रनको इनिङ्समा पाटीदारले ९ छक्का प्रहार गरे, जुन आईपीएल प्लेअफ (वा नकआउट) खेलमा कुनै पनि ब्याटरले प्रहार गरेको दोस्रो सर्वाधिक धेरै छक्का हो। सन् २०२३ मा मुम्बईविरुद्ध १२९ रन बनाउँदा शुभमन गिलले १० छक्का प्रहार गरेका थिए।

पाटीदारले इनिङ्सको अन्तिम छ ओभरमा मात्रै आठवटा छक्का प्रहार गरे। सुरुवातमा १३ बलमा २१ रन बनाएका उनले त्यसपछिको २० बलमा ७२ रन जोडेका थिए।

  • १८ : आईपीएल २०२६ को ‘पावरप्ले’ ओभरमा कगिसो रबाडाले १८ विकेट लिएका छन्, जुन ‘आईपीएल’ को एउटै संस्करणमा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो। उनले सन् २०२३ मा गुजरातबाटै खेल्दै मोहम्मद शामीले लिएको १७ विकेटको कीर्तिमानलाई पछि पारेका हुन्।

अर्कोतर्फ, रबाडाले यस आईपीएलका सबै चरणहरूमा गरी कुल ३५ छक्का खाइसकेका छन्, जुन एउटै संस्करणमा कुनै पनि बलरले खाएको सर्वाधिक छक्का हो। उनले यसै २०२६ को संस्करणमा अंशुल कम्बोजले खाएको ३४ छक्काको कीर्तिमानलाई उछिनेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप