सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कागज कारखानामा रासायनिक विस्फोट हुँदा एक जनाको मृत्यु, ९ जना बेपत्ता

बुधबार, १३ जेठ २०८३, १३ : २९
बुधबार, १३ जेठ २०८३

सारांश

  • अमेरिकाको वाशिङ्टन राज्यस्थित एक कागज कारखानामा रासायनिक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ र नौ जना बेपत्ता भएका छन् ।
  • निप्पोन डायनावेभ प्याकेजिङको कारखानामा 'ह्वाइट लिकर' नामक रसायन भएको ट्याङ्की फुटेपछि विस्फोट भएको हो ।
  • विस्फोटमा आठ कर्मचारी र एक अग्निनियन्त्रक घाइते भएका छन्, जसको अवस्था गम्भीरदेखि सामान्यसम्म रहेको छ ।

वाशिङ्टन डीसी । अमेरिकाको वाशिङटन राज्यराज्यस्थित एउटा कागज कारखानामा रासायनिक विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । अन्य नौ जना अझै बेपत्ता रहेका छन् ।

 विस्फोट निप्पोन डायनावेभ प्याकेजिङको कारखानामा स्थानीय समयअनुसार बिहान ७ः१५ बजे भएको हो । उक्त उद्योग लङभ्युमा छ, जुन सियाटलबाट करिब २१० किलोमिटर दक्षिणमा पर्छ ।

लङभ्युमा अग्नि विभागका अनुसार विस्फोटमा थप नौ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जना कर्मचारी र एक जना अग्निनियन्त्रक रहेका छन् । अधिकारीहरूले क्षतिग्रस्त ट्याङ्की अझै अस्थिर अवस्थामा रहेको बताएका छन् । 

कम्पनीले जारी गरेको वक्तव्यअनुसार ‘ह्वाइट लिकर’ नाम गरेको रसायन भएको ट्याङ्की फुटेपछि विस्फोट भएको हो । यो कागज उत्पादन प्रक्रियामा प्रयोग हुने अत्यधिक प्रतिक्रियाशील रसायनिक पदार्थ हो ।

उद्धार कार्य अझै जोखिमपूर्ण अवस्थामा जारी रहेको अग्नि विभागले जनाएको छ । विभागका अनुसार ट्याङ्की अस्थिर भएकाले उद्धारकर्मीहरूका लागि घटनास्थल खतरनाक बनेको छ । उद्धार कार्य सुरक्षित रूपमा अघि बढाउन सकियोस् भनेर अहिले संरचनात्मक मजबुतीकरण र स्थिरीकरणको काम भइरहेको बताइएको छ ।

सुरुमा अधिकारीहरूले ट्याङ्कीमा करिब ८० हजार ग्यालन रसायन रहेको अनुमान गरेका थिए । तर पछि त्यसमा करिब ९ लाख ग्यालन रसायन रहेको थाहा भयो । अहिले पनि क्षतिग्रस्त ट्याङ्कीभित्र करिब ९० हजार ग्यालन रसायन बाँकी हुन सक्ने बताइएको छ । 

काउलिट्ज अग्नि तथा उद्धार प्रमुख स्कट गोल्डस्टाइनका अनुसार घाइतेहरूको अवस्था गम्भीरदेखि सामान्यसम्म रहेको छ । उनीहरूमा आगोले पोलेको र विषाक्त ग्यास सास फेर्दा भएको चोटपटक देखिएको छ । कम्पनीले पनि धेरै जना गम्भीर घाइते भएको पुष्टि गरेको छ ।

आगलागी नियन्त्रण र उद्धार कार्य जारी रहेकाले अधिकारीहरूले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन आग्रह गरेका छन् ।  हालसम्म यस घटनाले वरपरको समुदायलाई प्रत्यक्ष खतरा नपुगेको जनाइएको छ । व्हाइट लिकर सोडियम हाइड्रोक्साइड र सोडियम सल्फाइड भएको क्षारीय रसायन हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप