ओझेलमा ‘सुन्दरादेवी’ मन्दिर
सारांश
- सुन्दरादेवी मन्दिर सडक र प्रचारको अभावमा ओझेलमा परेको छ।
- मन्दिरमा मनोकामना पूरा हुने जनविश्वास छ र हिमाल देखिन्छ।
- पूर्वाधार विकास र प्रचारका लागि पहल भइरहेको छ।
दाङ । दाङको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । त्यहाँ पुग्ने सडकबाटोको उचित व्यवस्था र प्रचारप्रसार नहुँदा उक्त मन्दिर ओझेलमा परेको हो ।
जिल्लाको शान्तिनगर गाउँपालिका–३ सुकेकोटमा रहेको उक्त मन्दिरको लामो इतिहास भए पनि त्यसलाई प्रचारप्रसार गर्न नसकिएको स्थानीय अर्जुन विकले बताए । उनका अनुसार विसं १८५४ मा स्थापना भएको उक्त मन्दिरमा दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास रहेको छ ।
यहाँ सुन्दरादेवीको बास रहेको किंवदन्तीअनुसार धार्मिक हिसाबले महत्त्वपूर्ण रहेको विकले बताउनुभयो । मन्दिर लेकमा रहेको र वरपरको हराभरा जङ्गलले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । मन्दिर क्षेत्रबाट सिस्ने, मुक्तिनाथ, धवलागिरि, माछापुच्छ्रे, जलजलालगायतका हिमाल देख्न सकिन्छ ।
“सुन्दरादेवीले बास गरेको भएर यहाँ जे माग्यो त्यो पूरा हुन्छ भन्ने जनविश्वास छ”, उहाँले भने, “त्यतिमात्रै होइन, यहाँबाट विभिन्न हिमाल, तराई, पहाडसमेत हेर्न सकिन्छ, त्यसैले पनि यहाँ पर्यटनको केन्द्र बन्न सक्छ ।”
मन्दिरका पुजारी लोकप्रसाद उपाध्याले मनोकाङ्क्षा पूरा हुने जनविश्वाससहित यहाँ दसैँको पञ्चमीदेखि अष्टमीसम्म वर्षमा दुई पटक मेला लाग्ने गरेको बताए । शान्तिनगर गाउँपालिकाको प्रशासनिक केन्द्रबाट मन्दिर करिब ११ किलोमिटर टाढा उत्तरतर्फको पहाडी भूभागमा रहेको छ । त्यहाँ पुग्ने सडकको स्तरोन्नति नहुँदा आधा घण्टामै पुग्न सकिने भए पनि हाल घण्टौँ लाग्ने गरेको छ ।
हाल यस स्थानमा मन्दिरसहित एउटा धर्मशाला निर्माण भए पनि मन्दिरको संरक्षण, संवर्द्धन र विकासमा उचित ध्यान नगएको स्थानीयहरूको गुनासो छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले मन्दिरमा भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा रङरोगनका लागि गाउँपालिकाबाट रु १५ लाख रकम विनियोजन गरी काम सम्पन्न भए पनि त्यो पर्याप्त नभएको बताए । धार्मिक पर्यटन विकास र पर्यटकीय क्षेत्र बन्ने प्रचुर सम्भावना रहेकाले प्रचारप्रसार, पक्की सडक निर्माण र अन्य पूर्वाधारका लागि आफूले पहल गरिरहेको उनले बताए ।
“अत्यावश्यक पूर्वाधारका साथै यहाँ होमस्टेसमेत निर्माण गर्ने योजना रहेको छ । यस्तै, प्याराग्लाइडिङको सम्भावना अध्ययन एवं परीक्षणका लागि तयारी भइरहेको छ, यसका लागि निजी क्षेत्रसँग समन्वय भइरहेको छ”, अध्यक्ष बस्नेतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण