एसियन गेम्स महिला टी–२० छनोट : इन्डोनेसियासँग भिड्दै नेपाल
सारांश
- एसियन गेम्स महिला टी–२० छनोटमा नेपालले बिहीबार इन्डोनेसियाको सामना गर्दैछ ।
- समूह 'बी' मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो ।
- यस छनोट प्रतियोगितामा सहभागी छ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
काठमाडौँ । सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा छनोट हुने लक्ष्यसहित एसियन गेम्स महिला टी–२० छनोटअन्तर्गतको छैटौँ खेलमा नेपालले बिहीबार इन्डोनेसियाको सामना गर्दैछ ।
यो खेल मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा ११:४५ बजे सुरु हुँदैछ।
आफ्नो पहिलो खेलमा जित हात पारेको नेपाल समूह ‘बी’ को अङ्क तालिकामा पहिलो स्थानमा रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो ।
उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रनको योगफल तयार पारेको थियो । इनिङ्सको सुरुवातमै सम्झना खड्काको महत्त्वपूर्ण विकेट गुमाए पनि पूजा महतोले ५७ बलमा ६ चौकाको मद्दतले ६३ रनको उत्कृष्ट पारी खेलिन् । त्यस्तै, सोनी पाख्रिन र रुवी पोद्दारले पनि राम्रो योगदान दिए ।
१२६ रनको लक्ष्य पछ्याएको चीनका लागि जियापिङ ली र वेई हाइटिङले पहिलो विकेटका लागि ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, मिङयुए झुले २८ बलमा ३० रन बनाइन् । उनी क्रिजमा रहँदासम्म चीनले लक्ष्य सजिलै पूरा गर्ने अनुमान गरिएको थियो ।
तर, उनी आउट भएसँगै तल्लो क्रमका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमै समेटियो । यसरी नेपालले खेल १९ रनले आफ्नो पक्षमा पार्न सफल भयो ।
यता, इन्डोनेसिया भने आफ्नो पहिलो खेलमा हार व्यहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ । टोली पहिलो खेलमा चीनसँग ३ विकेटले पराजित भएको थियो ।
मलेसियाले मे २६ देखि ३१ सम्म महिला टी–२० छनोटका सबै खेलहरू बायोमास ओभलमै आयोजना गर्दैछ। यस छनोट प्रतियोगितामा सहभागी छ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् भने समूह ‘बी’ मा नेपालसहित चीन र इन्डोनेसिया रहेका छन्।
राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल पुग्ने दुई टोली र तेस्रो स्थानको प्लेअफ जित्ने एक गरी कुल तीन टोलीले जापानको आइची–नागोयामा हुने एसियाली खेलकुद २०२६ का लागि स्थान पक्का गर्नेछन्।

आयोजक जापान तथा आईसीसीका पूर्ण सदस्य राष्ट्रहरू बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का यसअघि नै प्रतियोगिताका लागि स्वतः छनोट भइसकेका छन्।
टोलीको नेतृत्व नियमित कप्तान इन्दु बर्माले गर्नेछिन् भने उप–कप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ। टोलीमा अनुभवी खेलाडीहरू सिता राना मगर र रुबिना क्षेत्रीसँगै बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर र रिया शर्मा रहेका छन्।
त्यस्तै अनु कठायत, मनीषा उपाध्याय, सोनी पाख्रिन र सिमाना केसीले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। मुख्य टोलीका अतिरिक्त क्यानले चार जना खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ। वैकल्पिक खेलाडीहरूमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण