मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यात्रा गर्दै हुनुहुन्छ? यी राजमार्गहरूमा छ बाढी र पहिरोको अवरोध (विस्तृत विवरणसहित)

शुक्रबार, १५ जेठ २०८३, ०९ : ४२
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्गहरू बाढी र पहिरोले प्रभावित भएका छन्।
  • कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात अवरुद्ध भएको छ, कतिपय पूर्ण रूपमा बन्द छन्।
  • यात्रुहरूलाई गन्तव्यमा जानुअघि सडकको अवस्था बुझ्न र नेपाल प्रहरीको वेबसाइटमा अद्यावधिक सूचना हेर्न आग्रह गरिएको छ।

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन् । 

प्रहरी प्रधान कार्यालयले जारी गरेको २०८३ जेठ १५ गते बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको छ ।

राजमार्ग अवरोधबाट सबैभन्दा बढी कोशी प्रदेश प्रभावित देखिएको छ । विशेषगरी पहाडी जिल्लाहरू जोड्ने मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन् । 

जेठ ८ गते गएको पहिरो र बाढीका कारण पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यसै प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–३ नयाँ बस्तिमा गएको पहिरोले कोशी राजमार्ग एकतर्फी मात्र सुचारु छ । त्यस्तै, भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्गको उक्त खण्ड वैकल्पिक बाटोसहित एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ ।

यता, बागमती र गण्डकी प्रदेशमा पनि सडक यातायात प्रभावित बनेको छ । बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । 

गण्डकी प्रदेशको म्याग्दी जिल्लाअन्तर्गत बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात एकतर्फी मात्र चलेको छ । अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगङ्गा गाउँपालिका–१ उपल्लो बैसरी र वडा नम्बर ३ तल्लो बैसरीमा विभिन्न मितिमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा खुल्न सकेको छैन ।

कर्णाली प्रदेशको हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक लगाइएको छ । वैशाख २९ गतेदेखिको जोखिम मूल्याङ्कन गर्दै नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा–सिमकोट सडकखण्डमा सवारी साधन चल्न दिइएको छैन ।

लगातारको वर्षा र भौगर्भिक जोखिमका कारण सडक खुल्ने र बन्द हुने क्रम जारी रहेकाले यात्रुहरूलाई आफ्नो गन्तव्य तय गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरिएको छ । बाटो अवरोधसम्बन्धी अद्यावधिक सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिने प्रहरीले जनाएको छ ।

709014603_1305139511748569_6308716616046432753_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप