गणतन्त्रको १९ वर्ष : ड्राइभिङ सिटमा बस्नेकै कारण व्यवस्थामाथि उठ्दै छ प्रश्न
सारांश
- गणतन्त्र स्थापनाको १९ वर्ष बितिसक्दा पनि जनताका आशा र अपेक्षा सम्बोधन गर्न सरकारको नेतृत्वकर्ताहरूले चासो नदेखाएको जनगुनासो बढ्न पुगेको छ।
- राज्य सञ्चालकहरूको उदासीनता, बेरोजगारी र भ्रष्टाचार बढ्नुका साथै नातावाद र कृपावाद मौलाउँदा नागरिकले व्यवस्थाप्रति नै प्रश्न गर्नुपर्ने अवस्था आएको छ।
- गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन सबैले राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलले बताएका छन्।
काठमाडौँ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १९ वर्ष पूरा भएको छ। विक्रम संवत् २०६५ मा गणतन्त्र घोषणा भएको दिनलाई आधार मानेर त्यसयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ। यो दिनलाई राजतन्त्रको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको ऐतिहासिक अवसरका रूपमा स्मरण गरिन्छ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसमेतको सहभागितामा भएको २०६२/६३ को ऐतिहासिक १९ दिने जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाएको थियो। जनआन्दोलन सामु तत्कालीन राजा ज्ञानेन्द्र शाह घुँडा टेक्न बाध्य मात्र भएनन्, विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न राजी हुँदै राजनीतिक दल र जनताको चाहनाअनुसार अगाडि बढ्न तयार भए। वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखिको निरङ्कुश राजतन्त्र अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो।
गणतन्त्रकै जगमा संविधानसभामार्फत २०७२ सालमा जनताका प्रतिनिधिबाट नयाँ संविधान जारी भयो र सोहीअनुरूप मुलुक अघि बढिरहेको छ। अहिले तीन तहका सरकारहरू क्रियाशील छन्। तर, गणतन्त्र स्थापनाको १९ वर्ष बितिसक्दा पनि बढ्दै गएका जनताका आशा र अपेक्षा सम्बोधन गर्न सरकारको नेतृत्वकर्ताहरूले चासो नदेखाएको जनगुनासो बढ्न पुगेको छ। राज्य सञ्चालकहरूको यही उदासीनताका कारण जनतामा निराशा निरन्तर चुलिँदै गयो, सँगै बेरोजगारी र भ्रष्टाचार पनि बढे।
_7B0qcNszfN.jpg)
विगत १९ वर्षमा जनताले तिनै गणतन्त्रका लागि योगदान गरेका राजनीतिक दलहरूलाई राज्य सञ्चालनको जिम्मेवारी दिए। तर, उनीहरू आमजनताको हितभन्दा पनि सरकार गठन र विघटनजस्ता घृणित खेलमा निरन्तर लागिरहे। २०६५ पछि बालेन नेतृत्वको सरकारबाहेक सुशीला कार्की, खिलराज रेग्मीसहित १४ वटा सरकार बने। तर, सुशासन र भ्रष्टाचार नियन्त्रणभन्दा पनि नातावाद र कृपावाद मात्र मौलायो। जसका कारण नागरिकले व्यवस्थाप्रति नै प्रश्न गर्नुपर्ने अवस्था आयो। यसकै आडमा बेलाबेलामा राजतन्त्र पुनःस्थापनाको मुद्दा समेत उठाउने गरिएको छ।
यो बिचमा जनताले नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादीलाई पालैपालो सरकार सञ्चालन गर्न जनमत दिए। तर, उनीहरूले गणतन्त्रको मर्म र भावनाभन्दा पनि सत्ताको दाउपेचलाई प्राथमिकता दिएपछि जनतामा उनीहरूप्रतिको विश्वास घट्दै मात्र गएन, उनीहरूलाई सत्ताबाटै च्युत गराएर नयाँ शक्ति रास्वपालाई अहिले राज्यसत्ताको साँचो बुझाएका छन्।
- गणतन्त्रको ड्राइभिङ सिटमा बस्नेकै कमजोरी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ न्यौपाने गणतन्त्रप्रति जनताको आस्था नघटेको बताउँछन्। गणतन्त्रको ड्राइभिङ सिटमा बसेर राज्य सञ्चालन गर्नेको कार्यशैलीका कारण व्यवस्थामाथि प्रश्न उठ्ने गरेको न्यौपानेको भनाइ छ।

‘गणतन्त्र नै अस्वीकार्य हो भन्ने लाग्दैन। तर, प्रतिकूलता निर्माण भइरहेको छ भनेर बुझ्न सकिएला,’ न्यौपाने भन्छन्, ‘गणतन्त्रप्रति पार्टी र नेताहरूको संस्कृति, जनतासँगको सम्बन्ध र डेलिभरी नभएपछि यस्ता तर्क स्वाभाविक रूपमा उठ्छन्।’ १९ वर्षे गणतन्त्रको अवधिको अनुभवले खासगरी गणतन्त्रको ड्राइभिङ सिटमा बसेका पार्टी र तिनका नेताहरूकै कारण नकारात्मक दृष्टिकोण बन्दै गएको वस्तुगत धरातललाई बिर्सन नमिल्ने उनी बताउँछन्।
‘नेपाली समाज कहाँ गइरहेको छ? त्यहाँ कस्ता पक्षबिच सङ्घर्ष भइरहेको छ भन्ने विषयवस्तु बुझ्न नचाहेको र नसकेको सत्य हो,’ नेता न्यौपानेले भने, ‘किनभने समाज कता गइरहेको छ र के चाहिरहेको छ भन्ने नबुझीकनै ड्राइभिङ सिटमा बसेर सही गन्तव्यमा पुर्याउन सकिँदैन। अहिले भएको पनि त्यही हो।’
गणतन्त्र आइसकेपछि त्यसका लागि लडेका शक्ति र आज ड्राइभिङ सिटमा बसेका शक्तिहरूको समग्र जीवन, व्यवहार, दैनिकी र सम्पत्तिसँगको सम्बन्ध, गणतन्त्रभन्दा अगाडि ड्राइभिङ सिटमा बसेकाहरूको पद्धति र पात्रभन्दा फरक नभएको उनको भनाइ छ। ‘हामीले गणतन्त्र अनुकूलको जीवन, व्यवहार र संस्कृति अनुसरण गर्न सकेनौँ भन्ने असन्तुष्टि जनताको हो,’ न्यौपानेले भने।
गणतन्त्रपछि संस्थागत विकास र डेलिभरीमा जसरी ध्यान दिनुपर्थ्यो, त्यो हुन नसकेको उनी स्वीकार गर्छन्। ‘अर्को कुरा, गणतन्त्रका लागि लडेकाहरूले राज्यका संस्थाहरूमा बदलिएको संस्कृतिअनुसारको बदलाव ल्याउने इच्छा नै देखाएनौँ,’ उनी भन्छन्, ‘त्यतातिर कामै गरेनौँ। काम नगरेपछि पुराना इन्स्टिच्युसनहरूले दिने डेलिभरी नयाँ राजनीतिक अपेक्षा र परिस्थितिसँग मेल खाएन।’
न्यौपानेका अनुसार पछिल्ला दिनहरूमा गणतन्त्र पक्षधर भनिएका राजनीतिक दल र तिनको नेतृत्व नैतिक बलमा टिक्न नसक्दा किनाराकृत हुन पुगेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पनि उद्देश्य र लक्ष्यमा केन्द्रित भएर स्टेकहोल्डरहरू नहिँडेको स्वीकार गर्छन्। ‘खासगरी व्यवस्था परिवर्तनपछि जसले राज्यसत्ता सञ्चालनको अभिभारा पाउँछन्, उनीहरू सत्तास्वार्थमै अल्मलिन्छन्,’ घिमिरेले रातोपाटीसँग भने, ‘सत्तास्वार्थभन्दा माथि उठेर पूर्वघोषणा र प्रतिबद्धतामा केन्द्रित भएर काम नगरेको २०४६ र २०६२/०६३ पछि देखिँदै आएको छ।’
ठुला र ऐतिहासिक राजनीतिक परिवर्तनपछि पनि सामान्य सत्ता मात्र परिवर्तन भएको जस्तो ठान्ने प्रवृत्ति पुराना र परम्परागत भनिएका दलहरूभित्र हाबी भएको नेता घिमिरेको भनाइ छ। ‘त्यसैले यस्ता प्रवृत्ति र पात्र दोषी छन्,’ घिमिरेले भने, ‘सत्ता भनेको दलले प्राप्त गर्ने, दलभित्रका नेताले प्राप्त गर्ने, निर्वाचन जित्ने र अमुक पदमा पुग्नेभन्दा माथि उठ्न सकिएन। जसको सिकार गणतन्त्रका संवाहक हौँ भन्नेहरू अहिलेको अवस्थामा पुगेको स्थिति हो।’
यही व्यवस्थाअनुसार २०८२ फागुनपछि मुलुकमा नयाँ पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेको भन्दै घिमिरेले नयाँ पार्टी र सरकारसँग जनताले सोहीअनुसार अपेक्षा राखेको बताए। ‘तर, अहिले नयाँ सरकारको प्रवृत्ति हेर्दा पनि खासै ठुलो चमत्कार गर्ला र जनअपेक्षाअनुसार काम गर्ला भन्ने सङ्केत देखिँदैन,’ कांग्रेस नेता घिमिरेको भनाइ छ।
गणतन्त्रको आफ्नो मौलिक चरित्र हुनुपर्ने भन्दै घिमिरेले त्यो भनेको मुलतः जनताले अनुभूत गर्ने गरी उनीहरूको जीवनस्तरमा परिवर्तन खोज्ने भएको बताए। ‘नागरिकको दैनिक जीवन सहज बनाउनेदेखि राज्यबाट पाउनुपर्ने सेवासुविधा सहजै पाउने कुरा हुन्छ,’ घिमिरेले भने, ‘पुराना दलहरूले विगतमा प्राप्त जनविश्वासअनुसार चल्न नसक्दा अहिले विश्वास गुमाउन पुगे पनि व्यवस्थालाई दोषी भन्न मिल्दैन। बरु जो ड्राइभिङ सिटमा बसे, उनीहरूकै कमजोरी भन्न सकिन्छ।’
न्यौपाने र घिमिरेको भन्दा फरक धारणा राख्छन् नेकपा एमालेका सचिव शेरधन राई। राईको बुझाइमा गणतन्त्रपछि मुलुकमा धेरै विकास निर्माणका कामहरू भएका छन्। ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा प्रमुख पुराना राजनीतिक दलहरूको मुख्य भूमिका छ, यो कुरा कसैले नकार्न सक्दैन,’ सचिव राईले भने, ‘गणतन्त्र स्थापना गरेर नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न तुल्याउने काम पुराना दलहरूले नै गरेका हुन्।’

यति हुँदाहुँदै पनि राम्रो कुरा देख्दै नदेख्ने र नकारात्मक खेती गर्ने ठुलो पङ्क्तिका कारण गणतन्त्रमाथि नकारात्मकता फैलाउने काम भएको राईको भनाइ छ।
भ्रष्टाचारका पुराना मेकानिजम भत्काउन नसक्नु दलहरूको ठुलो कमजोरी रहेकाले त्यस्ता तत्त्वहरूले खेल्ने मौका पाएको सचिव राई स्वीकार गर्छन्। ‘पुराना करप्सन मेकानिजम जो थिए, त्यो भत्काउन नसक्नु एउटा मुख्य कमजोरी हो,’ राईले भने, ‘नागरिकलाई सेवासुविधा दिने र सुशासन कायम गर्ने कुरामा स्थायी मेकानिजमहरू भत्काउन सकेनौँ, त्यसको दोष राजनीतिक नेतृत्वले खेप्नुपर्यो।’
उनले अहिले ‘बाघको छालामा स्यालको रजाइँ’ भनेजस्तै भएको भन्दै पुराना राजनीतिक दलहरूबाट गणतन्त्र कहिल्यै खतरामा नपर्ने बताए। ‘गणतन्त्रप्रति खतरा छ भने, जसले अहिले संविधान मिच्ने, कुल्चने र खारेज गर्ने प्रयास गरिरहेका छन्; जसले संवैधानिक विधि र कानुन मिचेर प्रतिशोधपूर्ण काम गरिरहेका छन्, तिनैबाट छ,’ राईले दाबी गरे।
- ‘मर्यादा बढाउन निष्ठा, मूल्यमान्यता र आचरण परिवर्तन’
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन सबैले राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्। १९औँ गणतन्त्र दिवसका दिन काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका नैतिक दायरा बिर्सेर इतिहासको अभिभारा पूरा गर्न नसकिने स्मरणसमेत गराएका छन्।
‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण