आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

मरुभूमिकरणोन्मुख सिद्धार्थनगर

शुक्रबार, १५ जेठ २०८३, १४ : २५
शुक्रबार, १५ जेठ २०८३

विश्व मौसम विज्ञान संगठनको तथ्यांकअनुसार, विश्वव्यापी रूपमै हरेक दशकमा औसत ०.२६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ । 

यो समस्या मानवीय सभ्यताका लागि नै एक अकाट्य चुनौती बनेको छ । समकालीन विश्वमा अत्यधिक तापक्रम भएका मुलुकहरूमध्ये खाडी क्षेत्रका अधिकांश राष्ट्रहरू यसको उच्च जोखिममा छन् । संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारजस्ता मुलुकहरूले पर्यावरण संरक्षणलाई आफ्नो मुख्य शासकीय एजेन्डाका रूपमा आत्मसात गरेका छन् । 

तिनले त छिमेकी मुलुकबाट पानीजहाजमार्फत माटो नै ल्याएर वृक्षरोपण गर्दै आएका छन् । धेरै टाढा नजाने हो भने, हाम्रै छिमेकी मुलुक भारतको राजधानी दिल्लीलाई हेर्न सकिन्छ । त्यहाँ नीम, स्वामी, बर, जामुन र पिपलजस्ता रैथाने प्रजातिका रुखहरू व्यापक रूपमा रोपिएका छन् । विज्ञहरूका अनुसार, यसले दिल्लीको नगर सौन्दर्य मात्र बढाएको छैन, वातावरणीय शुद्धीकरणमा समेत ठूलो योगदान पुर्‍याएको छ । 

सहरी सौन्दर्यीकरणमार्फत तापक्रम नियन्त्रणमा ती मुलुकहरूले अनुकरणीय नजीर मात्र स्थापित गरेका छैनन्, उल्लेखनीय सफलतासमेत हासिल गरेका छन् । साउदी अरेबियाले सन् २०३० सम्म ७.५ मिलियन वृक्षारोपण गर्ने सरकारी लक्ष्य राखेको छ । आबुधाबीको ’अल इमारत पार्क’ यसको पछिल्लो उदाहरण हो, जहाँ सहरी वृक्षारोपणमार्फत 'डस्ट स्ट्रोम’ (धुलोको आँधी) नियन्त्रण र तापक्रमलाई कम्तीमा २.२ डिग्री सेल्सियससम्म घटाउने लक्ष्य राखिएको छ । 

अब नेपालको सन्दर्भलाई हेरौं । लुम्बिनी प्रदेशअन्तर्गत पर्ने सिद्धार्थनगर भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनीको मुख्य प्रवेशद्वार हो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र आंशिक सञ्चालनले यहाँको पर्यटकीय वातावरण केही चलायमान भएको छ । धार्मिक पर्यटनको दृष्टिले यस क्षेत्रको सम्भावनाको आयतन निकै ठूलो छ । 

तर, विडम्बना यो छ कि यस्तो महत्त्वपूर्ण क्षेत्र मरुभूमिकरणको जोखिमतर्फ धकेलिँदै छ । सांस्कृतिक, धार्मिक र पर्यावरणीय रूपमै सौन्दर्यीकरण गरिनुपर्ने टड्कारो आवश्यकता हुँदाहुँदै पनि स्थानीय जनप्रतिनिधि, सरकारी संयन्त्र तथा सरोकारवाला निकायहरू यसप्रति उदासीन देखिन्छन् । यसले गर्दा उक्त क्षेत्रले ठूलो सांस्कृतिक र पर्यटकीय मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ । 

सिद्धार्थनगरमा मुख्यतया दुईवटा सडक खण्ड पर्छन्, सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल खण्ड र भैरहवा–लुम्बिनी खण्ड । सडक विस्तारसँगै बेलहिया–बुटवल खण्डमा सडकको दुवैतर्फ वृक्षरोपण गरी सहरी सौन्दर्य प्रवद्र्धन गर्ने प्रयास भएको देखिन्छ । तर, त्यसको तुलनामा भैरहवा–लुम्बिनी सडक खण्ड मरुभूमिकरणोन्मुख छ । यहाँ कुनै पनि हरियाली कायम गर्ने योजना देखिँदैन । यसको मुख्य कारण सडकको ’टोपोग्राफिकल म्यापिङ’ गर्दा पर्याप्त ध्यान नपुग्नु वा डिजाइनमै ’टेक्निकल फल्ट’ (प्राविधिक त्रुटि) हुनु हुन सक्छ । 

नेपालको मध्य तराईमा पर्ने यस क्षेत्रमा आधुनिक सडक निर्माण हुनुपूर्व सडकका दुवैतर्फ आँप, नीम, बर, सिसौं, पिपल र स्वामीजस्ता रैथाने प्रजातिका रुखहरू प्रशस्त थिए । 

तिनले पर्यावरणीय सौन्दर्य मात्र कायम गरेका थिएनन्, बढ्दो स्थानीय तापक्रम नियन्त्रणमा पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए । सडक आयोजना आरम्भ भएपछि ’ग्रिनरी प्लानिङ’ (हरियाली योजना) बिना नै ती रुखहरूको गरिएको निर्मम फडानी पर्यावरणीय न्यायका दृष्टिले त्रुटिपूर्ण छ । यसले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई समेत कुण्ठित गरेको छ ।

नगर क्षेत्रका कतिपय सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमणको चपेटामा परेको तथ्यांक छ । तिनलाई तदारुकताका साथ पुनःप्राप्ति गरी वृक्षारोपणलाई अभियानका रूपमा अगाडि बढाउनु रचनात्मक कार्य हुन सक्छ । विशेषगरी, सिद्धार्थनगर नगरपालिकाअन्तर्गतको भैरहवा–लुम्बिनी सडक खण्डको बुद्धचोक–घाघरा खोला क्षेत्रमा दुवैतर्फ रैथाने बिरुवा रोप्नु अहिलेको टड्कारो आवश्यकता हो । 

यसबाट हरियाली प्रवद्र्धन हुनुका साथै मरुभूमिकरणको जोखिम न्यूनीकरण भई प्राणी जगतको कल्याण हुनेछ । रैथाने प्रजातिका बिरुवा स्थानीय वातावरणअनुकूल हुने हुनाले आँप, नीम, बर, सिसौं, पिपल र स्वामी जस्ता वनस्पतिले यहाँको पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्नेछन् । सहरी सौन्दर्यीकरणले वातावरणीय सन्तुलन कायम गर्दै पर्यटकीय गुणस्तर समेत बढाउने कुरामा दुईमत हुन सक्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण पन्थी
अरुण पन्थी
लेखकबाट थप