भौतिक पूर्वाधार मन्त्रालयको पुँजीगत खर्च ९ महिनामा २२.८३ मात्रै
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको ९ महिनामा कुल बजेटको ५३.५१ प्रतिशत खर्च गरेको छ ।
- यद्यपि, पुँजीगत बजेटतर्फ भने विनियोजनको २२.८३ प्रतिशत मात्र खर्च भएको छ, जुन गत वर्षको तुलनामा सुस्त हो ।
- यस अवधिमा ४३८ किलोमिटर सडक कालोपत्रे, ४६ वटा पुल निर्माण, सुरुङमार्ग र द्रुतमार्गमा प्रगति भएको छ ।
काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ (साउन–चैत) महिनामा उल्लेख्य प्रगति देखिएको छ ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सञ्जाल विस्तार, सुरुङमार्ग निर्माण र यातायात व्यवस्थापनको क्षेत्रमा रणनीतिक सफलता हासिल गरेको हो । तर, भौतिक प्रगतिको तुलनामा पुँजीगत खर्चको दर भने अझै चुनौतीपूर्ण देखिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणलाई हेर्दा मन्त्रालयले विनियोजित बजेटको आधाभन्दा बढी हिस्सा खर्च गरिसकेको छ । प्रतिवेदन अनुसार, मन्त्रालयका लागि चालु आवमा विनियोजित कुल १ खर्ब ९६ अर्ब ४१ करोड १० लाख रुपैयाँ (संशोधित) बजेटमध्ये चैत मसान्तसम्ममा १ खर्ब ५ अर्ब १० करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ५३.५१ प्रतिशत वित्तीय प्रगति हो ।
यद्यपि, पुँजीगत तर्फको खर्च भने अझै अपेक्षित गतिमा बढ्न सकेको छैन । विकास निर्माणका कार्यमा प्रत्यक्ष खर्च हुने पुँजीगत बजेटतर्फ कुल ४० अर्ब ७८ करोड विनियोजन भएकोमा चैत मसान्तसम्ममा ९ अर्ब ३१ करोड मात्र खर्च भएको छ, जुन विनियोजित पुँजीगत बजेटको करिब २२.८३ प्रतिशत मात्र हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १ खर्ब ८६ अर्ब बजेटमध्ये १ खर्ब ५१ अर्ब ३२ करोड (८१.३४ प्रतिशत) खर्च भएको थियो, जसको तुलनामा यस वर्षको पुँजीगत खर्चको दर केही सुस्त देखिएको छ ।
- सडक र पुल निर्माणको अवस्था कस्तो छ ?
मन्त्रालयले चालु आर्थिक वर्षको नौ महिनामा कुल ४३८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसमा ३६४ किलोमिटर दुई लेनको सडक र ७४ किलोमिटर चार लेन वा सोभन्दा बढी चौडाइको सडक समावेश छन् । यस्तै, १०३ किलोमिटर ग्राभेल सडक निर्माण हुनुका साथै ८८ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ ।
सडक सञ्जालसँगै पुल निर्माणमा पनि प्रगति देखिएको छ । चैत मसान्तसम्ममा मुलुकका विभिन्न स्थानमा ४६ वटा नयाँ सडक पुलहरूको निर्माण कार्य सम्पन्न भएको छ । साथै, ६३ किलोमिटर राष्ट्रिय राजमार्गको आवधिक मर्मत कार्य सम्पन्न गरी यातायात आवागमनलाई सहज बनाइएको छ ।
- राष्ट्रिय गौरव र रणनीतिक आयोजनाको प्रगति
नेपालका रणनीतिक महत्वका ठुला आयोजनाहरूमा यो वर्ष भौतिक निर्माणले सामान्य गति लिएको छ । काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको नेपालको पहिलो आधुनिक सुरुङमार्ग आयोजना अन्तिम चरणमा पुगेको छ । यसको मुख्य सुरुङको कार्य शतप्रतिशत सम्पन्न भइसकेको छ भने ४ किलोमिटर ‘सेकेन्डरी लाइनिङ’ को काम सकिएको छ ।
नेपाली सेनाले निर्माण जिम्मा पाएको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा कुल १३ प्याकेजमध्ये १२ वटामा ठेक्का सम्झौता भई काम भइरहेको छ । हालसम्म ६.३ किलोमिटर सुरुङ खन्ने कार्य सकिएको छ भने ७ वटा सुरुङमध्ये ४ वटाको ब्रेक–थ्रु भइसकेको छ । ८९ वटा पुलमध्ये ५६ वटाको जग निर्माण सम्पन्न हुनुले आयोजनाको प्रगतिलाई सकारात्मक दिशामा डोहोर्याएको छ ।
पहाडी भेगको लाइफलाइन मानिने पुष्पलाल (मध्यपहाडी) राजमार्गमा हालसम्म कुल १,५५०.६२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । आयोजना अन्तर्गत हालसम्म ११४ वटा पुल निर्माण सम्पन्न भएका छन् ।
तराई–मधेसको आर्थिक समृद्धिसँग जोडिएको हुलाकी राजमार्गमा हालसम्म १,३८८.७ किलोमिटर सडक कालोपत्रे र १५४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । सिद्धबाबा (पाल्पा र बुटवल जोड्ने) यो सुरुङमार्गको १,१२६ मिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको छ भने ९०० मिटर कङ्क्रिट लाइनिङको काम सकिएको छ ।
- रेलवे र जल र सडक यातायातको अवस्था
रेल्वे तर्फ पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमध्ये ६८.६ किलोमिटर ट्रयाकबेड निर्माण सम्पन्न भएको छ । यस खण्डमा १६ वटा रेल पुलहरू समेत बनिसकेका छन् । जयनगर–जनकपुर–भङ्गाहा खण्डमा रेल सेवा सुचारु छ र यसलाई बर्दिबाससम्म जोड्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । यस्तै, जल यातायातका लागि कोशी र नारायणी नदीमा सम्भाव्यता अध्ययनका कार्यहरू अघि बढाइएका छन् ।
यातायात व्यवस्था विभागले लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको स्मार्ट लाइसेन्सको अभावलाई सम्बोधन गर्न महत्त्वपूर्ण कदम चालेको छ । प्रतिवेदन अनुसार, १२ लाख थान स्मार्ट कार्ड छपाइ गरी वितरण प्रक्रिया सुरु गरिएको छ । यसले गर्दा लाइसेन्सको ब्याकलग उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ । यस्तै, ८ लाख ३१ हजार भन्दा बढी इम्बोस्ड नम्बर प्लेट उत्पादन गरी जडान कार्यलाई तीव्रता दिइएको छ । विभागले अनलाइन भुक्तानी र सवारी दता सम्बन्धी सेवालाई पनि डिजिटलाइज गर्ने कार्यलाई अघि बढाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण