बजेटको इतिहास: छालाको झोलादेखि आधुनिक शासनको मेरुदण्डसम्म
सारांश
- बजेट सरकारको आम्दानी, खर्च, ऋण व्यवस्थापन र आर्थिक स्थिरता निर्धारण गर्ने आधुनिक शासन प्रणालीको एक महत्त्वपूर्ण विषय हो ।
- बजेट शब्द फ्रेन्च शब्द 'बुजेट' (सानो छालाको झोला) बाट आएको हो, जसमा बेलायतका अर्थमन्त्रीले वित्तीय कागजात बोकेर संसदमा प्रस्तुत गर्थे ।
- आधुनिक बजेट प्रणालीको विकास राजतन्त्र र संसदबिचको शक्ति संघर्ष, तथा आधुनिक राज्य प्रणालीको विकाससँगै क्रमशः विकसित भएको हो ।
आजको आधुनिक शासन प्रणालीमा बजेट अत्यन्तै महत्त्वपूर्ण विषय हो । यसले सरकारको आम्दानी, खर्च, ऋण व्यवस्थापन र आर्थिक स्थिरता निर्धारण गर्छ । तर आज हामीले बुझ्ने आधुनिक बजेट प्रणाली पनि एकाएक बनेको होइन । यो शताब्दियौँ लामो राजनीतिक संघर्ष, राजतन्त्र र संसदबिचको शक्ति संघर्ष, तथा आधुनिक राज्य प्रणालीको विकाससँगै क्रमशः विकसित भएको हो ।
‘बजेट’ शब्द फ्रेन्च शब्द ‘बुजेट’ (सानो छालाको झोला) बाट आएको हो, जसमा बेलायतका अर्थमन्त्रीले वित्तीय कागजात बोकेर संसदमा प्रस्तुत गर्थे । पछि यही शब्द सम्पूर्ण सरकारी वित्तीय योजना बुझाउन प्रयोग हुन थाल्यो ।
के हो बजेट ?
बजेट (सरकारी) भनेको निश्चित अवधिका लागि (सामान्यतया एक आर्थिक वा वित्तीय वर्षका लागि) सरकारले अपेक्षा गरेको आम्दानी र खर्चको अनुमानित विवरण हो । वित्तीय वर्ष क्यालेन्डर वर्षसँग मिल्न पनि सक्छ र नमिल्न पनि सक्छ ।
राज्यको बजेटमा आम्दानीमा मुख्यतः कर, भन्सार महसुल, शुल्क तथा अन्य राजस्वहरू पर्छन् भने खर्चतर्फ संविधान वा कानुनले तोकेका राज्यका दायित्वहरू समावेश हुन्छन् । बजेट आफैंले कुनै कार्यक्रमका लागि रकम विनियोजन गर्दैन; त्यसका लागि थप कानुनी तथा प्रशासनिक प्रक्रिया आवश्यक हुन्छ ।
सरकारी बजेट केन्द्रीय सरकार वा अन्य राजनीतिक निकायले तयार गर्छ । अधिकांश संसदीय व्यवस्थामा बजेट संसदमा प्रस्तुत गरिन्छ र त्यसलाई संसदको स्वीकृति आवश्यक पर्छ । बजेटमार्फत सरकारले आफ्नो आर्थिक नीति कार्यान्वयन गर्छ र प्राथमिकताहरू निर्धारण गर्छ । बजेट स्वीकृत भएपछि विभिन्न मन्त्रालय तथा सरकारी निकायहरूले तोकिएका शीर्षकहरूअनुसार रकम खर्च गर्न सक्छन् ।
बजेटको इतिहास
आधुनिक बजेटको प्रारम्भ (अर्थात् संसदबाट परीक्षण र अनुमोदन गर्न सकिने निश्चित अवधिको वैधानिक बजेट) सर्वप्रथम नेदरल्याण्ड्स (१५७२), बेलायत (१६८९), फ्रान्स (१८३०), डेनमार्क (१८४८), पिडमोन्ट (१८४८), प्रशिया (१८४८), पोर्चुगल (१८५१), स्वीडेन (१८६६), अस्ट्रिया (१८६७), स्पेन (१८७६) मा बजेट प्रणली लागू गरिएको थियो ।
नेदरल्याण्डले सन् १५७२ मै ‘प्रारम्भिक वित्तीय नियन्त्रण प्रणाली’को रुपमा बजेटको प्रचलन शुरु गरेको भएपनि आधुनिक सरकारी (संसदिय) बजेट प्रणालीको जन्म बेलायतमा १८औँ शताब्दीमा भएको मानिन्छ । खास कारण, १६८८ को गौरवपूर्ण क्रान्ति पछि बेलायतको संसद बलियो भयो । १७६० तिर बेलायतमा अर्थमन्त्रीले वार्षिक रूपमा संसदमा सरकारको आय–व्यय विवरण प्रस्तुत गर्न थाले ।
यस प्रणाली विकास हुनाको मुख्य कारणको रुपमा राजतन्त्रको खर्चमा संसदको नियन्त्रण बढाउनु, कर प्रणालीलाई व्यवस्थित बनाउनु तथा सरकारको आर्थिक पारदर्शिता बढाउनुलाई मानिन्छ । यो प्रचलन नै महत्त्वपूर्ण ऐतिहासिक मोड बन्न पुग्यो । अब, कर लगाउने अधिकार संसदमा गयो । १७६० पछि वार्षिक बजेट भाषण संस्थागत भयो । इतिहासकारहरूले मान्छन् कि १८औँ शताब्दीको मध्यतिर बजेट प्रणाली पूर्ण रूपमा विकसित भइसकेको थियो ।
बेलायतपछि अन्य युरोपेली देशहरूले पनि बजेट प्रणाली अपनाए । फ्रान्समा १८३० पछि संसदीय बजेट प्रणाली लागु गरियो । प्रसियामा १८४८–१८६७ बिच आधुनिक बजेट प्रणाली लागू गरियो भने स्विडेन र स्पेनमा १९औँ शताब्दीको अन्त्यतिर । यसरी बजेट प्रणाली लोकतान्त्रिक शासनको आधारभूत संरचना बन्न पुग्यो ।
संयुक्त राज्य अमेरिकामा भने सुरुमा बजेट प्रणाली केन्द्रीकृत थिएन । त्यहाँ प्रत्येक खर्च छुट्टाछुट्टै अनुमोदन गरिन्थ्यो । सन् १९२१ म बजेट एण्ड एकाउन्टिङ एक्ट लागू भयो र आधुनिक कार्यकारी बजेट प्रणली सुरु भयो । यसपछि अमेरिकी राष्ट्रपति कार्यालयमा बजेट तयार गर्ने संरचना स्थापित भयो ।
भारतमा आधुनिक बजेट प्रणाली बेलायती उपनिवेशकालमा सुरु भयो । १८६० जेम्स विल्सनले पहिलो औपचारिक बजेट प्रस्तुत गरेपछि त्यहाँ औपनिवेशिक कर प्रणाली व्यवस्थित बनेको थियो । १९४७ पछि स्वतन्त्र भारतको पहिलो बजेट १९५० आयो । पछि योजना आयोग र पाँच वर्षे योजना प्रणालीको अवधारणा पनि ल्याइयो ।
नेपालमा आधुनिक बजेट प्रणाली १९५१ पछि सुरु भयो । आर्थिक वर्ष १९५१–५२मा गरिएको पहिलो राष्ट्रिय बजेटका प्रस्तुतकर्ता तत्कालिन अर्थमन्त्री सुवर्ण शमशेर थिए । त्यतिबेला संसद पूर्ण रूपमा स्थापित नभएकोले करिब रु. ५.२५ करोडको त्यो बजेट रेडियो नेपालमार्फत सार्वजनिक गरिएको थियो ।
बजेटको नामकरण
सन् १७२० मा दक्षिण सागर कम्पनीको वित्तीय संकट र ‘साउथ सी बबल’को पतनपछि जनविश्वास पुनःस्थापित गर्न बेलायतका अर्थमन्त्री सर रोबर्ट वालपोल ले संसदमा नियमित वित्तीय विवरण प्रस्तुत गर्ने अभ्यास सुरु गरेका थिए । सन् १७३३ मा उनले मदिरा र सुर्तीमा अतिरिक्त कर लगाउने प्रस्ताव राखे । यसले व्यापक जनविरोध निम्त्यायो । त्यसबेला विलियम पुल्टेनीले ‘द बजेट ओपन्ड’ शीर्षकको एउटा पुस्तिका प्रकाशित गरे । इतिहासमा पहिलो पटक ‘बजेट’ शब्द सरकारी वित्तीय नीतिसँग सम्बन्धित रूपमा प्रयोग भएको यही समय मानिन्छ । १८औँ शताब्दीको शुरु मा बजेटको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने अभ्यास विकसित हुँदै गयो । १७६० को दशकसम्म यो पूर्ण रूपमा स्थापित भइसकेको थियो ।
त्यसो त आधुनिक बजेट प्रणालीभन्दा पहिले प्राचीन सभ्यताहरूमा कर, उत्पादन र खर्चको रेकर्ड राख्ने अभ्यास थियो । मेसोपोटामिया (सुमेर र बेबिलोन)मा कर र अन्न वितरणको लेखाजोखा गरिन्थ्यो भने इजिप्टमा अन्न भण्डारण र कर प्रणालीको, ग्रिसमा युद्ध र सार्वजनिक परियोजनामा खर्च प्रणली थियो । रोममा साम्राज्यको बेग्लै कर प्रशासन नै थियो । तर यी प्रणालीहरू आधुनिक बजेट थिएनन्, किनभने त्यहाँ संसदद्वारा अनुमोदन हुँदैनथ्यो, वार्षिक योजना प्रणाली थिएन अनि जनउत्तरदायित्व पनि कमजोर थियो ।
आधुनिक बजेट सिद्धान्तको विकास
२०औँ शताब्दीपछि बजेट केवल लेखा प्रणाली मात्र रहेन, यो आर्थिक नीतिको मुख्य औजार पनि बन्यो । बजेट केवल आर्थिक दस्तावेज होइन, यो राजनीतिक शक्ति, लोकतन्त्र र राज्य–नागरिक सम्बन्धको प्रतिबिम्ब हो । प्राचीन कर प्रणालीदेखि आधुनिक डिजिटल अर्थतन्त्रसम्म बजेटको विकासले देखाउँछ कि राज्य सधैं आफ्नो नागरिकसँग आर्थिक सम्झौताको आधारमा सञ्चालन हुन्छ । आज विश्वका सबै देशहरूले बजेटलाई शासनको मेरुदण्डका रूपमा प्रयोग गर्छन् ।
आधुनिक सरकारी बजेट पूँजीवादी समाजको विकाससँगै उत्पन्न भएको हो । यो सामन्ती शासक वर्ग र उदाउँदो बुर्जुवा वर्गबिचको लामो राजनीतिक संघर्षको परिणाम थियो । पूँजीवादको विकाससँगै उत्पादन शक्तिहरू विस्तार भए । व्यापारी तथा औद्योगिक वर्गको आर्थिक शक्ति बढ्यो । राजनीतिक अधिकारका मागहरू तीव्र भए । प्रारम्भिक बजेट प्रणालीको मुख्य उद्देश्य व्यवस्थापिकाको अधिकार स्थापित गर्नु थियो भने अब यसका जिम्मेबारी बृहत् हुदैँ आएका छन् । अब, सरकारी बजेट केवल आय–व्ययको हिसाबकिताब होइन । यो राज्य, नागरिक र लोकतन्त्रबिचको सम्बन्धलाई परिभाषित गर्ने महत्वपूर्ण राजनीतिक तथा आर्थिक संस्था हो । आधुनिक बजेट प्रणाली संसदको नियन्त्रण, जनउत्तरदायित्व र लोकतान्त्रिक शासनको परिणामस्वरूप विकसित भएको हो । आज बजेट कुनै पनि आधुनिक राष्ट्रको आर्थिक योजना, विकास रणनीति र सार्वजनिक उत्तरदायित्वको केन्द्रबिन्दु बनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण