आईपीएल २०२६ मा खराब प्रदर्शनपछि ऋषभ पन्तले छोडे लखनउको कप्तानी
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा टोली तालिकाको पुछारमा रहेपछि ऋषभ पन्तले लखनउ सुपर जाइन्ट्सको कप्तान पदबाट राजीनामा दिएका छन् ।
- क्रिकेट निर्देशक टम मुडीले पन्तले आफैँले कप्तानी छोड्ने इच्छा व्यक्त गरेको र टोलीले उनको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् ।
- पन्तको नेतृत्वमा लखनउले २८ खेलमा १० जित र १८ हार ब्यहोरेको थियो ।
लखनउ । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्तले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा टोली तालिकाको पुछारमा रहेपछि लखनउ सुपर जाइन्ट्स को कप्तान पदबाट राजीनामा दिएका छन् ।
पन्तले गत शुक्रबार नै फ्रेन्चाइज टोलीलाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए । लखनउका क्रिकेट निर्देशक टम मुडीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस विकासको पुष्टि गरेका हुन् । क्रिकेट निर्देशक मुडीका अनुसार पन्त आफैँले कप्तानी छोड्ने इच्छा व्यक्त गरेका थिए र टोलीले उनको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको छ ।
मुडीले भने, ‘यस्ता निर्णयहरू लिनु कहिल्यै सजिलो हुँदैन । ऋषभले कप्तानका रूपमा ड्रेसिङ रुममा पुर्याएको योगदानका लागि हामी आभारी छौँ । अब हाम्रो ध्यान सामूहिक प्रदर्शन, टोलीको पुनर्संरचना र उत्कृष्ट स्तरमा पुग्नका लागि पुनर्निर्माणमा केन्द्रित हुनेछ ।’
पन्तको निर्णयबारे थप प्रस्ट पार्दै मुडीले इसिपिएन क्रिकइन्फोको ‘टाइम आउट’ कार्यक्रममा पन्तले अहिलेका लागि कप्तानीबाट पछि हटेर एक खेलाडीका रूपमा मात्र खेलमा ध्यान केन्द्रित गर्ने समय आएको महसुस गरेको बताएका छन् । ‘विगतका केही वर्ष पन्तका लागि कठिन रहे र उनले आफ्नो स्तर अनुरूपको खेल प्रदर्शन गर्न सकेनन् । त्यसैले यो निर्णय पन्त आफैँ र फ्रेन्चाइज दुवैका लागि सही हो,’ मुडीले थपे, ‘आशा गरौँ यो निर्णयले उनलाई आफ्नो पुरानै शैलीको क्रिकेट खेल्न मद्दत गर्नेछ ।’
लखनउले पछिल्ला तीन सिजनमा क्रमशः सातौँ, सातौँ र दसौँ स्थानमा लिग टुङ्ग्याएकाले टोलीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको सबैले बुझिसकेको मुडीको भनाइ छ । कप्तानी छोडेपछि लखनउमा पन्तको भविष्य के हुन्छ भन्ने प्रश्नमा मुडीले अहिले नै ठोस जवाफ दिन नसकिने बताएका छन् । प्रतियोगिता अझै पूर्ण रूपमा नसकिएकाले सिजनको विस्तृत समीक्षा र टोलीका सबै खेलाडीहरूको मूल्याङ्कन गरेपछि मात्रै आगामी रणनीति र भूमिकाबारे निर्णय हुने उनले जानकारी दिएका छन् ।
२८ वर्षीय पन्त लखनउ सुपर जाइन्ट्सको इतिहासमा केएल राहुलपछिका दोस्रो कप्तान हुन् । राहुलले सन् २०२२ देखि २०२४ सम्म टोलीको नेतृत्व गरेका थिए । दिल्ली क्यापिटल्सले फुकुवा गरेपछि पन्तलाई आईपीएल २०२५ को मेगा अक्सनमा लखनउले २७ करोड भारतीय रुपैयाँमा किनेको थाहा भएकै कुरा हो, जसले उनलाई आइपिएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनाएको थियो । टोलीमा आबद्ध हुँदा पन्तले लखनउका लागि आफ्नो दुई सय प्रतिशत योगदान दिने र नयाँ ऊर्जाका साथ मैदानमा रमाइलो गर्ने बताएका थिए ।
तर, पन्तको नेतृत्वमा न त टोलीले सोचे जस्तो सफलता पायो न त उनको आफ्नै प्रदर्शन उत्साहजनक रह्यो । पन्तको कप्तानीमा लखनउले कुल २८ खेल खेल्दा १० मा जित र १८ खेलमा हार ब्यहोर्यो, जसमा टोली आइपिएल २०२५ मा सातौँ र २०२६ मा दसौँ स्थानमा सीमित भयो । पन्तको व्यक्तिगत ब्याटिङ फर्म पनि निराशाजनक रह्योस उनले २०२५ को सिजनमा १३३.१६ को स्ट्राइक रेटमा केवल २६९ रन र २०२६ को सिजनमा १३८.०५ को स्ट्राइक रेटमा ३१२ रन मात्र बनाउन सके ।
लखनउको नयाँ कप्तान को बन्नेछ र कहिले घोषणा हुनेछ भन्नेबारे मुडीले कुनै समयसीमा तोकेका छैनन् । टोलीमा रहेका मिचेल मार्श, एडन मार्करम र निकोलस पुरन जस्ता वरिष्ठ विदेशी खेलाडीहरूलाई लखनउको कप्तानीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण