गिलको कीर्तिमानी शतक, सूर्यवंशीको विस्फोटक ब्याटिङ : आईपीएलमा रेकर्डका वर्षा
सारांश
- गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको फाइनलमा स्थान सुरक्षित गरेको छ।
- गुजरातको जितमा शुभमन गिलले १०४ रनको शतकीय पारी खेले भने साई सुदर्शनले ५८ रनको योगदान दिए।
- राजस्थानका लागि वैभव सूर्यवंशीले ९६ रनको विस्फोटक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
चन्दीगढ । गुजरात टाइटन्स तेस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ। टोलीले ‘क्वालिफायर–२’ मा राजस्थान रोयल्सलाई ७ विकेटले हरायो।
अब ३१ मेका दिन अहमदाबादमा हुने फाइनलमा गुजरातको भिडन्त रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग हुनेछ।
शुक्रबार मुल्लांपुरको महाराजा यादविन्द्र सिंह स्टेडियममा पहिले ब्याटिङ गर्दै राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। जवाफमा गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो आईपीएलमा गुजरातको सबैभन्दा ठूलो सफल ‘रन चेज’ हो। यसअघिको सबैभन्दा ठूलो सफल रन चेज २०४ रनको थियो।
- गिलको १०४ रनको कप्तानी पारी
गुजरातको जितका नायक शुभमन गिल रहे। उनले ५३ बलमा १०४ रनको कप्तानी पारी खेले। उनको इनिङ्समा १५ चौका र ३ छक्का समावेश थिए। त्यस्तै साई सुदर्शनले पनि ३२ बलमा ५८ रन बनाए। यी दुईबिच पहिलो विकेटका लागि १६७ रनको साझेदारी भयो। यसले राजस्थानलाई पूर्ण रूपमा ब्याकफुटमा धकेलिदियो।
सुदर्शन लगातार दोस्रो खेलमा ‘हिट विकेट’ आउट भए। गिललाई जोफ्रा आर्चरले एलबीडब्लु आउट गरे। त्यसपछि वासिङ्टन सुन्दरले १६ रनको तेज पारी खेले। अन्त्यमा राहुल तेवतियाले ९ बलमा अविजित १७ रन बनाउँदै छक्का प्रहार गरेर खेल समाप्त गरे। जोस बटलर ९ रन बनाएर अविजित फर्किए। राजस्थानका तर्फबाट आर्चर, नान्द्रे बर्गर र ब्रिजेश शर्माले १–१ विकेट लिए।
- सूर्यवंशीले बनाए ९६ रन
यसअघि राजस्थान रोयल्सका लागि यशस्वी जैसवाल पहिलो ओभरमै १ रन बनाएर आउट भएका थिए। त्यसपछि वैभव सूर्यवंशीले ४७ बलमा ९६ रनको पारी खेले, जसमा ८ चौका र ७ छक्का समावेश थिए।
जडेजाले पनि जिम्मेवारीपूर्वक खेल्दै अविजित ४५ रन बनाए। मध्यक्रममा रियान पराग (११), दासुन शनाका (३) र जोफ्रा आर्चर (७) छिट्टै आउट भए। तर, अन्तिम ओभरहरूमा डोनोभान फरेराले मात्र ११ बलमा अविजित ३८ रन ठोके।
उनको पारीमा २ चौका र ४ छक्का सामेल थिए। फरेरा र जडेजाबीच सातौँ विकेटका लागि अविजित ४२ रनको साझेदारी भयो। यसले राजस्थानलाई २०० रनको आँकडा पार गरायो।
गुजरातका तर्फबाट कगिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए। मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले १–१ सफलता हात पारे।
प्लेअफमा गिलको नयाँ कीर्तिमान, सूर्यवंशीको अर्को उचाइ
गुजरात टाइटन्स र राजस्थान रोयल्सबिचको क्वालिफायर–२ का मुख्य तथ्याङ्कहरू :
- २१५ - गुजरात टाइटन्सले राजस्थान रोयल्सविरुद्ध पूरा गरेको यो लक्ष्य आईपीएलमा उनीहरूको सबैभन्दा ठूलो सफल रन चेज हो। यसअघि गत वर्ष दिल्ली क्यापिटल्सविरुद्ध उनीहरूले २०५ रन चेज गरेका थिए।
- १ - गुजरातको यो रन चेज आईपीएलको प्लेअफ (वा नकआउट) खेलमा कुनै पनि टोलीले गरेको सबैभन्दा उच्च रन चेज पनि हो। यसअघिको उच्च कीर्तिमान गत वर्ष ‘क्वालिफायर–२’ मा पन्जाब किंग्सले मुम्बई इन्डियन्सविरुद्ध गरेको २०४ रनको थियो।
यो टी–२० क्रिकेटको प्लेअफ (वा नकआउट) खेलमा कुनै पनि टोलीले सफलताका साथ पूरा गरेको दोस्रो उच्च लक्ष्य पनि हो। योभन्दा अगाडि सैयद मुश्ताक अली ट्रफी २०२४–२५ को क्वाटरफाइनलमा मुम्बईले विदर्भविद्ध २२२ रन चेज गरेको थियो।
- १ - शुभमन गिल आईपीएल प्लेअफ (वा नकआउट) खेलहरूमा एकभन्दा बढी शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। उनले यस्तो पहिलो शतक २०२३ को ‘क्वालिफायर–२’ मा मुम्बईविरुद्ध (१२९ रन) प्रहार गरेका थिए।
आईपीएल प्लेअफ (वा नकआउट) मा शतक प्रहार गर्ने गिल पहिलो कप्तान पनि हुन्। यसअघिको उच्च स्कोर सन् २०१६ मा गुजरात लायन्सविरुद्ध डेभिड वार्नरको अविजित ९३ रन र आईपीएल २०२६ को ‘क्वालिफायर–१’ मा गुजरातविरुद्ध रजत पाटीदारको थियो।
- ११ - आईपीएलमा गिल र बी साई सुदर्शनबिच १०० भन्दा बढी रनको साझेदारीको सङ्ख्या। यो कुनै पनि जोडीले गरेको सबैभन्दा धेरै साझेदारी हो। उनीहरूका यी ११ शतकीय साझेदारी टी–२० क्रिकेटमै कुनै पनि जोडीले गरेको सर्वाधिक हो। उनीहरूले ओपनिङ विकेटका लागि आठ पटक शतकीय साझेदारी गरेका छन्। यो पनि कुनै पनि जोडीको संयुक्त सर्वाधिक कीर्तिमान हो।
- १६७ - गिल र साई सुदर्शनबिचको साझेदारी आईपीएल प्लेअफ (वा नकआउट) मा कुनै पनि जोडीले गरेको उच्च साझेदारी हो। यसअघि सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुविरुद्ध माइकल हसी र मुरली विजयले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए।
- ४४० - वैभव सूर्यवंशीले आईपीएलमा १००० रन पूरा गर्न खेलेका बलको सङ्ख्या। सामना गरेका बलको हिसाबले यो सबैभन्दा छिटो पूरा गरिएको आँकडा हो। यसअघि आन्द्रे रसेलले ५४५ बल सामना गर्दै सबैभन्दा छिटो यो उपलब्धि हासिल गरेका थिए।
- १००० आईपीएल रन पूरा गर्न खेलेका इनिङ्सका आधारमा सूर्यवंशी संयुक्त रूपमा दोस्रो सबैभन्दा छिटो ब्याट्सम्यान हुन्। शन मार्सले जम्मा २१ इनिङ्समा यो आँकडा पार गरेका थिए। लेन्डल सिमन्सले सूर्यवंशीकै बराबर २३ इनिङ्स लगाएका थिए।
- १३५ - वैभव सूर्यवंशीले आईपीएल २०२६ मा प्रहार गरेका कुल बाउन्ड्रीको सङ्ख्या, जसमा कीर्तिमानी ७२ छक्का समावेश छन्। यो कुनै पनि टी–२० प्रतियोगितामा कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का हो। यसअघि बटलरले आईपीएल २०२२ मा १२८ बाउन्ड्री प्रहार गरेका थिए, जसमा ८३ चौका र ४५ छक्का थिए।
- ३ - वैभव सूर्यवंशी आफ्ना पछिल्ला चार इनिङ्समा ९० को लाइनमा (नर्भस नाइन्टीज) आउट भएको सङ्ख्या। आईपीएलमा ९० को लाइनमा आउट हुने उनी संयुक्त रूपमा शीर्ष स्थानमा छन्। सन् २०१४ मा ग्लेन म्याक्सवेलपछि एउटै सिजनमा तीन पटक ९० को लाइनमा आउट हुने उनी दोस्रो ब्याट्सम्यान मात्र हुन्।
- ७७६ - आईपीएल २०२६ मा सूर्यवंशीले बनाएका रन। यो प्रतियोगिताको कुनै पनि एक सिजनमा ब्याट्सम्यानले बनाएको पाँचौँ सर्वाधिक रन हो। साथै, २०२२ मा जोस बटलरले बनाएको ८६३ रनपछि राजस्थान रोयल्सका लागि कुनै पनि ब्याट्सम्यानले बनाएको यो दोस्रो ठूलो योगफल हो।
सूर्यवंशीले तीमध्ये १९३ रन एलिमिनेटर र ‘क्वालिफायर–२’ मा मात्र बनाएका हुन्। आईपीएलको एउटै सिजनका क्वालिफायर र एलिमिनेटर खेलहरूमा योभन्दा बढी रन २०२२ मा बटलर (१९५ रन) ले मात्र बनाएका थिए।
- ३ - शुक्रबार आईपीएल २०२६ मा ७०० रन पूरा गर्ने ब्याट्सम्यानहरूको सङ्ख्या (सूर्यवंशी, गिल र साई सुदर्शन)। आईपीएल २०२६ अब यस्तो पहिलो टी–२० प्रतियोगिता बनेको छ जसमा तीन जना ब्याट्सम्यानले ७०० वा सोभन्दा बढी रन बनाएका छन्।
गिलले यसअघि २०२३ मा ७०० भन्दा बढी रन बनाएका थिए। साई सुदर्शनले २०२५ मा यस्तै गरेका थिए। क्रिस गेल (आईपीएल २०१२ र २०१३) र कोहली (आईपीएल २०१६ र २०२४) मात्र एकभन्दा बढी सिजनमा यस्तो उपलब्धि हासिल गर्ने अन्य ब्याट्सम्यान हुन्।
- ९ - आईपीएल २०२६ मा साई सुदर्शनले बनाएका ५० भन्दा बढी रनको सङ्ख्या। यो एउटै सिजनमा ब्याट्सम्यानले बनाएको संयुक्त रूपमा दोस्रो धेरै अर्धशतक/शतक हो। विराट कोहलीले २०१६ मा ११ पटक यस्तो गरेका थिए। वार्नरले २०१६ र २०१९ दुवै वर्ष ९–९ पटक ५० भन्दा बढी रन बनाएका थिए।
- ३ - साई सुदर्शन आईपीएलमा ‘हिट–विकेट’ आउट भएको सङ्ख्या। यसमा यस वर्षको प्लेअफमा भएको दुई पटकको आउट पनि समावेश छ। आईपीएलमा अन्य कुनै पनि ब्याट्सम्यान एकपटक भन्दा बढी हिट–विकेट आउट भएका छैनन्। समग्र पुरुष टी–२० मा आन्द्रे रसेल र शोएब मलिक मात्र ३–३ पटक यसरी आउट भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण