वर्तमान सरकार सुकुम्वासी, गरिब र निमुखा वर्गको विरोधी हो : नेता पाण्डे
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकार सुकुमबासी, गरिब र निमुखा वर्गको विरोधी रहेको आरोप लगाएका छन् ।
- उनले वि.सं. २०८२ साल भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' लाई विध्वंस र षड्यन्त्रको संज्ञा दिँदै सोही आडमा संसद् विघटन गरिएको दाबी गरे ।
- नेता पाण्डेले कम्युनिस्ट शक्तिहरूलाई पुनः सङ्घर्षका लागि तयार हुन र पार्टी कार्यकर्ताहरूलाई विगतको गम्भीर आत्मसमीक्षा गर्दै पुनः सङ्गठित हुन आह्वान गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकार सुकुमबासी, गरिब र निमुखा वर्गको विरोधी रहेको आरोप लाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला सङ्गठन एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नै एउटा ठुलो योजनाबद्ध षड्यन्त्रको परिणामबाट बनेको दाबी गरेका हुन् ।
नेता पाण्डेले वि.सं. २०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ लाई एउटा ठुलो विध्वंस र षड्यन्त्रको संज्ञा दिएका छन् । सो आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालयहरू तथा विभिन्न राजनीतिक नेताहरूका घरहरू खोजी-खोजी आगो लगाउने काम भएको उनले उल्लेख गरे ।
सोही विध्वंसको आडमा बिनाकुनै कारण जनताबाट निर्वाचित संसद्लाई विघटन गरिएको र अर्को संसद् जन्माउने खेल खेलिएको उनको भनाइ छ । निर्वाचित संसद्लाई विघटन गरेर कुनै सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पुर्याउने काम भएको उनले बताए ।
विगतको आन्दोलनको स्मरण गर्दै नेता पाण्डेले आफूहरूले लामो लडाइँ लडेर निरङ्कुश पञ्चायत फ्याकेको र राजालाई संविधानभित्र बाँधेर राख्न खोज्दा निहुँ खोज्न आएपछि राजतन्त्रलाई समेत बिदा गरेको प्रस्ट पारे । तर, आज पञ्चायत फ्याँक्न र राजतन्त्र विरुद्धको लडाइँमा कुनै योगदान तथा भूमिका नभएका मानिसहरू देशको प्रधानमन्त्री, मन्त्री र संसदको जिम्मेवारी लिएर बसेको भन्दै उनले आपत्ति जनाए ।
उनले भने, ‘उनीहरूलाई यो आन्दोलन, हामीले रगत बगाएको, लडेको, दुःख गरेको, भूमिगत बसेको, अप्ठ्यारो भोगेको, जनयुद्ध र जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यसको माया पनि छैन ।’ त्यस्तो शक्ति आज राष्ट्रको मूल ठाउँमा पुगेकाले व्यवहारमै गरिब र निमुखा वर्ग मारमा परेको उनले दाबी गरे ।
यो चुनौतीको सामना गर्न नेता पाण्डेले कम्युनिस्ट शक्तिहरूलाई पुनः सङ्घर्षका लागि तयार हुन आह्वान गरेका छन् । उनले पार्टी कार्यकर्ताहरूलाई विगतको गम्भीर आत्मसमीक्षा गर्दै पुनः सङ्गठित हुन आग्रह गरे । उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, ‘कमरेडहरू हामी एकचोटि गम्भीरतापूर्वक फेरि धुलो टक्टक्याएर उठौँ, माटो समातेर कसम खाऔँ, कि हिजोको भन्दा अझ राम्रो पार्टी हामी निर्माण गरेर जान सक्छौँ ।’
पार्टीको आन्तरिक अवस्थाबारे बोल्दै उनले पार्टी एकता केन्द्रीय तहका नेताहरूका बिचमा भए पनि तल्लो तहका कार्यकर्ताहरूका बिचमा अझै पूर्ण रूपमा हुन नसकेको स्वीकार गरे । नेता पाण्डेले अबका दिनमा पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादीको पुरानो सङ्कुचित विचारबाट माथि उठेर एउटै कम्युनिस्ट भावनाका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण