शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी उपविदेशमन्त्री साराको नेपाल भ्रमण : के–के छन् कार्यक्रम ?

आइतबार, १७ जेठ २०८३, १३ : १२
आइतबार, १७ जेठ २०८३

सारांश

  • अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले एसेन्ट समिट २०२६ मा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछिन् ।
  • उनले नेपाल सरकारका उच्च अधिकारी, अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधि र अमेरिकी शैक्षिक कार्यक्रमका भूतपूर्व विद्यार्थीहरूसँग भेटघाट गर्नेछिन् ।
  • भ्रमणका क्रममा उनले पाटन दरबार स्क्वायर र अमेरिकी दूतावासको सहयोगमा जीर्णोद्धार गरिएका पुरातात्त्विक स्थलहरूको अवलोकन गर्नेछिन् ।

काठमाडौँ । अमेरिकी कूटनीति र सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स एसेन्ट समिटमा सहभागी भएकी छन् । हिजो साँझ नेपाल आइपुगेकी उपविदेशमन्त्री रोजर्सले एसेन्ट समिट २०२६ मा प्रमुख अतिथिको रूपमा विशेष सम्बोधन गर्नेछिन् ।

भोलिसम्म नेपालमा रहने उनले आज सुरु भएको समिटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी र अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग भेटघाट गर्नुको साथै विभिन्न अमेरिकी शैक्षिक कार्यक्रमका भूतपूर्व विद्यार्थीहरूसँग बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थिति अमेरिकी दूतावासले जनाएको छ ।  

भेटघाटका अवसरमा उनले खुला समाज र आर्थिक समृद्धिको मुख्य आधारका रूपमा रहेका अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राख्ने दूतावासले जनाएको छ ।

आफ्नो भ्रमणको क्रममा उपविदेशमन्त्री रोजर्सले ललितपुरस्थित ऐतिहासिक पाटन दरबार स्क्वायरको भ्रमण गर्नुका साथै अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा जीर्णोद्धार तथा संरक्षण गरिएका सातवटा पुरातात्त्विक स्थलहरूको समेत अवलोकन गर्ने बताइएको छ । 

नेपाली समुदायको जनजीवन, धार्मिक अभ्यास र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका  ऐतिहासिक सम्पदाहरूको संरक्षणमा संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग र प्रतिबद्धता रहने कुरालाई उनको यस भ्रमणमा थप जोड दिने बताइएको छ ।

नयाँ सरकार गठन भएयता अमेरिकाबाट भएको यो अहिलेसम्मकै उच्चस्तरीय कूटनीतिक भ्रमण हो । यसअघि वैशाख ८ गते अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेश मन्त्री पल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए । 

जेठ १४ गते परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरसँग टेलिफोनमा कुराकानी गरेका थिए । मन्त्री खनालले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरिरहेकोमा नेपाल सरकारका तर्फबाट अमेरिकी सरकारप्रति आभार प्रकट गरेका थिए ।

सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको प्राथमिकताबारे मन्त्री खनालले उनलाई जानकारी गराएका थिए ।

उपविदेश सचिव हुकरले नेपालसँग अमेरिका सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले अघि सारेको राष्ट्रिय विकासको प्राथमिकताबारे प्रशंसा गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप