शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेपत्ता सिरियाली चेस च्याम्पियनका ६ जना नै सन्तान मारिएको अधिकारीहरूको पुष्टि

आइतबार, १७ जेठ २०८३, १३ : ५९
आइतबार, १७ जेठ २०८३

सारांश

  • सिरियाको बेपत्ता व्यक्तिहरू सम्बन्धी आयोगले पूर्व चेस च्याम्पियन रानिया अल–अब्बासीका ६ जना सन्तानको मृत्यु भएको पुष्टि गरेको छ ।
  • उनीहरू २०१३ देखि बेपत्ता थिए र परिवारका आठ सदस्यमध्ये उनीहरू मात्रै मारिएको निष्कर्ष निकालिएको छ ।
  • यो घटनाले असद शासनकालमा हजारौँ बेपत्ता भएका बालबालिका र बन्दीहरूको पीडालाई उजागर गरेको छ ।

काठमाडौँ । सिरियाको बेपत्ता व्यक्तिहरू सम्बन्धी आयोग (नेसनल कमिसन फर मिसिङ पर्सन)ले पूर्व दन्त चिकित्सक तथा पूर्व चेस च्याम्पियन रानिया अल–अब्बासीका ६ जना सन्तान अब जीवित नरहेको निष्कर्ष निकालेको छ । 

उनीहरू सन् २०१३ देखि बेपत्ता थिए, जब तत्कालीन राष्ट्रपति बसर अल–असदको शासन थियो ।

आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामीले विश्वसनीय र पुष्टि हुने परिणामहरू प्राप्त गरेका छौँ, जसका आधारमा उच्च व्यावसायिक निश्चिततासहित डा. रानिया अल–अब्बासीका छोराछोरीहरूको  मृत्यु भइसकेको छ भन्ने निष्कर्ष निकालिएको छ ।’

रानिया अल–अब्बासी, उनका पति अब्दुल रहमान यासिन र ३ देखि १५ वर्ष उमेरका छ जना सन्तान गरि परिवारका आठ सदश्य मार्च २०१३ मा दमास्कसमा सरकारी सुरक्षाबलले उनीहरूको घरमा छापा मारेपछि बेपत्ता भएका थिए ।
यो घटनाले असद शासनकालमा हजारौँ बेपत्ता भएका बालबालिका र बन्दीहरूको पीडाको प्रतीकको रूपमा अन्तर्राष्ट्रिय ध्यान खिचेको थियो । असदलाई सन् २०२४ मा सत्ताच्युत गरिएको थियो ।

आयोगले जनाएको छ कि उनीहरूको अनुसन्धान ‘बहुविधिय प्रमाणीकरण र विश्लेषण प्रक्रियामा आधारित’ थियो, जुन राष्ट्रिय अधिकारीहरूसँगको सहकार्यमा गरिएको हो । यद्यपि, मृतकहरूको अवशेष खोज्ने प्रयास अझै जारी रहेको बताइएको छ ।

रानियाका दाइ हसन अल–अब्बासीले फेसबुकमा पोस्ट गरिएको भिडियोमार्फत बालबालिकाको मृत्यु पुष्टि गरेका छन् । उनले भनेका छन् कि परिवारले २०१३ को दमास्कस नरसंहारसँग सम्बन्धित मुख्य शंकास्पद व्यक्तिसँग जोडिएका भिडियो हेर्न पाएको थियो । ती भिडियोमध्ये एकमा अँध्यारो कोठामा बालबालिकालाई ‘आतंकवादका प्रमुख सहयोगी’ भनेर आरोप लगाइएको देखिन्छ ।

‘अन्ततः ती हाम्रा आफ्नै सन्तान रहेछन्,’ उनले भने, ‘हामीले अन्ततः उनीहरूलाई देख्यौँ... तर उनीहरू शहीद भइसकेका थिए ।’

रानिया र उनका पतिको अवस्था भने अझै पनि औपचारिक रूपमा अज्ञात छ । २०१३ मा पक्राउसँगै उनीहरूसँग सम्पर्क टुटेको थियो । मानवअधिकार समूहहरू र विभिन्न रिपोर्टहरूले उनीहरू पनि ज्यान गुमाएको हुन सक्ने संकेत गरेका छन्, तर उनीहरूको शव कहिल्यै फेला परेको छैन ।

सिरियामा बेपत्ता व्यक्तिहरूको समस्या अझै पनि गम्भीर मानिन्छ । युद्धका क्रममा सरकारी जेलहरूबाट हराएकाहरू, चेकपोइन्टहरूमा बेपत्ता भएका नागरिकहरू र युद्धबाट भाग्ने क्रममा हराएकाहरू यसमा समावेश छन् । २०११ मा सरकारविरोधी आन्दोलनमाथि दमनपछि सुरु भएको गृहयुद्धका क्रममा दशौँ हजार मानिस बेपत्ता भएका थिए ।

आयोगका अनुसार असद परिवारको दशकौँ लामो शासनकालमा बेपत्ता भएका मानिसहरूको संख्या ३ लाखभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैबीच, सिरियाली आन्तरिक मन्त्रालयले रानिया अल–अब्बासीका सन्तानहरूको बेपत्ताबारे अनुसन्धान गर्दा २०१३ को टाडामोन नरसंहारसँग सम्बन्धित व्यक्ति अम्जाद युसुफसँग जोडिने प्रमाण फेला परेको जनाएको छ । उनी असद शासनकालका एक कुख्यात सुरक्षा अधिकारी मानिन्छन् ।

मन्त्रालयका अनुसार पक्राउ परेका व्यक्तिहरूको बयान, भिडियो र आयोगसँगको जानकारीका आधारमा अनुसन्धान थप मजबुत भएको छ ।

युसुफलाई अप्रिलमा पक्राउ गरिएको थियो, जसपछि उनलाई कडा सजायको माग गर्दै सिरियाभरि प्रतिक्रिया बढेको छ ।

टाडामोन घटनाले अन्तर्राष्ट्रिय स्तरमा ध्यान तानेको थियो, जब सार्वजनिक भएको भिडियोमा दर्जनौँ नागरिकको हत्या र शव जलाइएको देखिएको थियो ।

सन् २०२२ मा बेलायतको पत्रिका द गार्जियनले सार्वजनिक गरेको एक फुटेजमा असदकालीन सैन्य गुप्तचर इकाइका सदस्यहरूले कम्तीमा ४१ जनाको हत्या गरेर शव जलाएको देखिएको थियो । 

उक्त भिडियोमा पहिचान गरिएका अधिकारी युसुफले आँखामा पट्टी बाँधिएका बन्दीहरूलाई गोली हानेको दृश्य समेत देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप