शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

जापानले भारतीय आँप आयातमा लगायो रोक

आइतबार, १७ जेठ २०८३, १४ : १६
आइतबार, १७ जेठ २०८३

टोकियो । जापानले यस वर्ष भारतबाट हुने आँप आयातमा रोक लगाएको छ ।

जापानी अधिकारीहरूका अनुसार कीरा नियन्त्रण (पेस्ट कन्ट्रोल)सम्बन्धी प्रक्रियामा कमजोरी भेटिएपछि यो निर्णय गरिएको हो । यसअघि सन १९८० को दशकमा पनि जापानले भारतबाट आँप आयात बन्द गरेको थियो । त्यतिबेला भारतका फलफूलसँगै कीरा, तिनका अण्डा वा लार्भा जापान पुगेर त्यहाँको कृषि प्रणालीमा असर पार्न सक्ने चिन्ताका कारण सावधानीस्वरूप प्रतिबन्ध लगाइएको थियो ।

लगभग दुई दशकपछि भारतीय आँपका लागि जापानी बजार खुलेको थियो । तर अहिले फेरि त्यही समस्या दोहोरिने संकेत देखिएको छ । जापानले भारतीय आँपको प्रशोधन प्रक्रियामा त्रुटि फेला पारेपछि आयात रोक्ने निर्णय गरेको हो । हरेक वर्ष आँपको मौसममा जापानले आफ्ना निरीक्षकहरू दिल्ली पठाउँछ । उनीहरूले विशेष प्रक्रिया मार्फत आँपको गुणस्तर परीक्षण गर्छन् । यसलाई भेपर हिट ट्रिटमेन्ट भनिन्छ ।

यो प्रक्रिया फलभित्र रहेका कीरा, अण्डा तथा लार्भालाई नष्ट गर्न प्रयोग गरिन्छ । यसमा फललाई केही समयसम्म तातो हावायुक्त च्याम्बरमा राखिन्छ, जसले सम्भावित कीटहरू नष्ट गर्छ । यस वर्षको निरीक्षणका क्रममा यही प्रक्रियामा केही कमजोरी भेटिएपछि जापानको योकोहामा प्लान्ट प्रोटेक्शन स्टेशनले सूचना जारी गर्दै भारतीय आँप स्वीकार गर्न अस्वीकार गरेको हो ।

जापानी पक्षले समस्या पूर्ण रूपमा समाधान भएकोमा विश्वस्त नभएसम्म भारतबाट आँप आयात स्थगित रहने जनाएको छ । आँपको चरम निर्यात सिजनकै बेला यो निर्णय आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप