काठमाडौँका विभिन्न घरमा चोरी गर्ने गिरोह पक्राउ
सारांश
- प्रहरीले काठमाडौँको तारकेश्वर र बालाजु क्षेत्रमा कोही नभएको मौका छोपी चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
- पक्राउ परेकाहरू चोरीका गरगहनाको स्वरूप परिवर्तन गरी बेच्ने, खरिद गर्ने र नक्कली बिल बनाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
- प्रहरीले उनीहरूको साथबाट १ लाख ५० हजार नगद, चोरीका औजार, मोबाइल फोन र गरगहना लगायतका सामान बरामद गरेको छ ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर र बालाजु क्षेत्रका विभिन्न घर तथा कोठाहरूमा कोही नभएको मौका छोपी चोरी गर्ने तथा चोरीका गरगहनाको स्वरूप परिवर्तन गरी बेचबिखन र खरिद गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको विशेष टोलीले उनीहरूलाई चोरीका विभिन्न धनमालसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ थलरी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने २७ वर्षीया दीपा मगर रहेकी छन् । उनी चोरीका गरगहनाको स्वरूप परिवर्तन गरी बेच्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी चोरीका गरगहना बेचबिखन गर्ने कार्यमा संलग्न चितवनको भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक घर भई हाल माछापोखरी बस्ने ३८ वर्षीय किशोर थापा र चोरीका गहना खरिद गर्ने, सुनका गरगहनाको नक्कली बिल बनाइदिने तथा स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न तेह्रथुमको आठराई गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–८ बानियाँटारमा सुनचाँदी पसल सञ्चालन गर्ने ४१ वर्षीय कृष्ण प्रसाद गहतराज रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार गत वैशाख ३० गते दिउँसो करिब १ बजे तारकेश्वर नगरपालिका–११ डाँडागाउँस्थित एक घरमा डेरा गरी बस्ने मानिसको कोठाबाट सुनका गरगहना र नगद पैसा चोरी भएको थियो । सोही घटना र बालाजु क्षेत्रका अन्य घर कोठाहरूमा भएका चोरीका घटनाको अनुसन्धान गर्ने क्रममा यो समूह पक्राउ परेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ ।
यस चोरी शृङ्खलाका मुख्य अभियुक्त भने ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ थलरी घर भई हाल तारकेश्वर नगरपालिका–७ सङ्गमफाँट बस्ने २२ वर्षीय दिपेश मगर रहेको प्रहरीले खुलाएको छ । मुख्य अभियुक्त मगर यसअघि नै लागु औषध कसुर मुद्दामा पक्राउ परी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका छन् र उनीमाथि सोही हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ १ लाख ५० हजार नगद, चोरी गर्दा ढोका तथा दराज फोड्न प्रयोग हुने औजारहरू, वारदातको समयमा लगाएका जुत्ता र कपडाहरू बरामद गरेको छ । यसका साथै विभिन्न कम्पनीका ३ थान मोबाइल फोन, १ थान आइफोन र चोरीका गरगहना लगायत अन्य धनमालसहितका दसीका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण