‘गौरीटार मैदानमा एनपीएलका दुई क्लबले होम ग्राउन्डका रूपमा अभ्यास गर्न सक्छन्’
सारांश
- प्रदेश सरकारको लगानीमा हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको क्रिकेट मैदानको उद्घाटन गरिएको छ ।
- क्यान सचिव पारस खड्काले यो मैदानले नेपाली क्रिकेटको भविष्यलाई अघि बढाउन भूमिका खेल्ने बताएका छन् ।
- उनले एनपीएलका दुई क्लबले यो मैदानलाई होम ग्राउन्डका रूपमा प्रयोग गर्न सक्ने बताएका छन् ।
हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडा–६ स्थित गौरीटार रंगशालामा क्रिकेट मैदान तयार गरेको छ ।
काठमाडौँकेन्द्रित क्रिकेट गतिविधिलाई विकेन्द्रीकरण गर्दै मोफसलमा पनि अन्तर्राष्ट्रियस्तरका मैदानहरू निर्माण गर्ने लक्ष्य अनुरूप प्रदेश सरकारको लगानीमा हेटौँडामा गौरीटार अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गरिएको हो ।
प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त क्रिकेट मैदानमा आइतबार एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा देखाएको लोभलाग्दो प्रदर्शनसँगै प्रदेश सरकारले निर्माण गरेको उक्त क्रिकेट पूर्वाधारको आवश्यकता थप चुलिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भई खेलकुद गतिविधि सुरु हुनु नेपाली खेलकुद क्षेत्रकै लागि ऐतिहासिक क्षणको रूपमा व्याख्या गर्छन् । क्रिकेट मैदान उद्घाटनका क्रममा हेटौँडा आइपुगेका सचिव खड्काले कुनै समय जङ्गल र खाल्डोका रूपमा रहेको जमिनलाई क्रिकेट मैदानका रूपमा निर्माण गर्न निकै मिहिनेत गर्नुपरेको बताए ।
प्रदेश सरकारको यो लगानीले नेपाली क्रिकेटको भविष्यलाई थप अघि बढाउन भूमिका खेलेको उनले बताए । भौतिक पूर्वाधारको विकास, खेलाडीहरूको वृत्तिविकास र नेपाललाई विश्व क्रिकेटको हब बनाउन उक्त मैदानले भूमिका खेल्ने उनको भनाइ छ ।
गौरीटार क्रिकेट मैदान र क्यानको आगामी मार्गचित्रका विषयमा केन्द्रित रहेर क्यान सचिव खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश:
- हेटौँडाको गौरीटारमा क्रिकेट रङ्गशाला निर्माण सम्पन्न भएर आजबाट खेल पनि सुरु भएको छ । एक क्रिकेट व्यक्तित्व र क्यानको सचिवको रूपमा यसलाई कसरी हेर्नुभएको छ ?
यो एकदमै खुसी र ऐतिहासिक क्षण हो । यो ग्राउन्ड बन्ने प्रक्रिया झन्डै साढे तीन–चार वर्ष अगाडि सुरु भएको थियो । त्यतिबेलाका सदस्य सचिव सूर्य भण्डारीले क्रिकेट ग्राउन्ड पनि बनाउनुपर्छ भनेर योजना ल्याउनुभयो । सुरुमा यहाँ जङ्गल र ठुला खाल्डाहरू मात्र थिए । धेरैलाई यहाँ ग्राउन्ड बन्छ भन्ने विश्वास पनि थिएन । तर अहिले बजेटको सुनिश्चितता र हालका सदस्य सचिव दीपक लामाको विशेष सक्रियताले यसले पूर्णता पाएको छ । यो बागमती प्रदेश क्रिकेट सङ्घको आफ्नै पहिलो ग्राउन्ड भएको छ । जुन हाम्रो लागि ठुलो उपलब्धि हो ।
_NxrNCtiFrF.jpg)
- प्रदेश सरकारले खेल पूर्वाधारमा लगानी गरेको यो एउटा उदाहरणीय काम हो । अन्य प्रदेश सरकारहरूलाई यस्ता पूर्वाधार निर्माणका लागि तपाईँको सुझाव के छ ?
हामीले एकैचोटी धेरै ठुला र भव्य स्टेडियम बनाउने सपना देख्नु भन्दा पनि ५ देखि १० हजार दर्शक अटाउने खालका धेरै ग्राउन्डहरू बनाउनुपर्छ । नेपालको भौगोलिक बनावट अनुसार विभिन्न प्रदेशमा फरक–फरक खेलहरू लोकप्रिय छन्, त्यसैलाई मध्यनजर गर्दै पूर्वाधार बनाउनुपर्छ । साथै, नयाँ योजनाहरू घोषणा गर्नुभन्दा पनि निर्माणाधीन अवस्थामा रहेका वा भइरहेका संरचनाहरूलाई छिटो सम्पन्न गर्नुपर्छ । बजेटलाई कागजमा मात्र सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।
- यो रंगशालाको दिगो व्यवस्थापन र सञ्चालनका लागि क्यानको भूमिका के हुन्छ र प्रदेश सरकारसँगको समन्वय कसरी हुन्छ ?
हामीले यसको कानुनी प्रावधानहरू हेरेर बागमती प्रादेशिक क्रिकेट सङ्घ र प्रदेश खेलकुद विकास परिषद्बिच एउटा बलियो समन्वयको मेकानिजम बनाउने छौँ । हाम्रो मान्यता के हो भने, जुन खेलको पूर्वाधार हो, त्यसलाई सम्बन्धित खेल सङ्घले नै हेर्ने र सञ्चालन गर्ने जिम्मा पाउनुपर्छ । यसका लागि मकवानपुर जिल्ला क्रिकेट सङ्घ र प्रदेश सङ्घ तयार छन् ।
अब क्यानले खेलको पूर्वाधार व्यवस्थापनमा खेल्ने भूमिकाका सन्दर्भमा हामीले प्राविधिक क्षेत्रमा सरकारसँग समन्वय गर्ने हो । ग्राउन्ड र पिचलाई स्तरीय बनाउने विषयमा सरकारसँग प्राविधिक विषयको जानकारी गराउन क्यास प्रयासरत छ ।
- क्यानले क्रिकेट खेलाडीलाई प्रदेश सरकारसँग कसरी जोड्ने प्रयास गरेको छ ? यो रङ्गशालाले खेलाडीहरूको विकास र नयाँ प्रतिभा पहिचानमा कस्तो भूमिका खेल्छ ?
पूर्वाधार हुनु र नहुनुमा आकाश–जमिनको फरक पर्छ । अब यहाँका खेलाडीहरूले वर्षैभरि अभ्यास गर्ने ठाउँ पाएका छन् । जब स्कुल–कलेजका साना विद्यार्थीहरूले यस्तो ग्राउन्ड देख्छन् र यहाँ खेल भएको हेर्छन् । उनीहरूमा क्रिकेटप्रति रुचि बढ्छ । प्रतिभा पहिचानका लागि ग्राउन्ड पहिलो सर्त हो । हामी यसलाई एकेडेमीको ढाँचामा लैजाने र आवश्यक ट्रेनिङ सुविधाहरू थप्ने योजनामा छौँ । सो विषयमा क्यानले प्रदेश सरकारसँग योजनाबद्ध रूपमा समन्वय गर्छ ।
एनपीएल वा राष्ट्रियस्तरको खेलहरू सञ्चालन गर्न क्यानले आवश्यक तयारी गर्छ । यो ग्राउन्डमा आवश्यक केही संरचनाहरू बनाउनुपर्छ । हामी त्यस विषयमा पनि छलफल गरेर अघि बढ्छौँ । यो ग्राउडको पिच उत्कृष्टमध्ये २/३ स्थानको रहेको छ । केही बजेट खर्च गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू सञ्चालन गर्न सक्ने अवस्था बनाउनुपर्छ ।
खेलाडीहरूलाई अभ्यास गर्न र खेल सञ्चालनका लागि आवश्यक तयारीहरू गरेर अघि बढ्नुपर्छ । एनपीएलका २ वटा टिम चितवन राइनोज् र काठमाडौँ गुर्खाजले यो ग्राउन्डलाई होम ग्राउन्डका रूपमा लिएर अभ्यास गर्न सक्छन् । त्यसतर्फ अघि बढ्न पूर्वाधारको संरक्षण, उपयोग र विकासमा राम्रो हुन्छ ।
- भविष्यमा यहाँ व्यावसायिक लिग वा ठुला अन्तर्राष्ट्रिय खेलहरू आयोजना हुने सम्भावना कत्तिको छ ?
हेटौँडा बागमती प्रदेशको राजधानी त हो नै । अब यो क्रिकेटको पनि ‘हब’ बन्न सक्छ । खेल पूर्वाधार चलायमान मात्र होइन, व्यावसायिक रूपमा पनि अघि बढ्न सक्छ । स्थानीयस्तरका व्यापारहरू पनि चल्छन् ।
जहाँसम्म अन्तर्राष्ट्रिय खेलको कुरा छ, यदि हामीसँग सुविधासम्पन्न २–३ वटा यस्ता ग्राउन्डहरू भए भने नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको केन्द्र बनाउन सकिन्छ । हाम्रो राष्ट्रिय टोलीले विश्वस्तरमा राम्रो गरिरहेको छ । अब पूर्वाधार तयार भयो भने ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नेपालमा आयोजना हुन धेरै समय लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण