बहुमतको मूर्ख बल र स्टन्टशैलीले राज्यलाई ठुलो क्षति भयो : प्रमुख सचेतक दुलाल
सारांश
- प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहको संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत, तथ्यहीन र आत्मसमर्पणवादी भएको आरोप लगाएका छन्।
- दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपालको अतिक्रमित भूमि फिर्ता गर्न आवश्यक राष्ट्रिय अडान, कूटनीतिक परिपक्वता र दृढ इच्छाशक्ति नदेखिएको दाबी गरे।
- उनले प्रधानमन्त्रीको गलत अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अगाडि बढ्न नदिने दृढता व्यक्त गरे।
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत, तथ्यहीन र आत्मसमर्पणवादी भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको उक्त भनाइप्रति गम्भीर आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने माग अनुसार उपस्थित भएर प्रश्नको उत्तर दिनु सकारात्मक भए पनि सीमा विवादबारे व्यक्त धारणा अक्षम्य रहेको उनको भनाइ छ। प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपालको अतिक्रमित भूमि फिर्ता गर्न आवश्यक राष्ट्रिय अडान, कूटनीतिक परिपक्वता र दृढ इच्छाशक्ति नदेखिएको दाबी गरे।
सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले खेतीपाती गरेको विषयलाई भारतीय सेनाले नेपाली भूमिमा परेड खेलेर भूमि कब्जा गरेको अवस्थासँग तुलना गर्नु गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी सोच भएको उनको टिप्पणी छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित करिब ६० हजार हेक्टर नेपाली भूमि भारतद्वारा अतिक्रमण गरिएको नेपालको आधिकारिक दाबी जीवन्त रहेको स्मरण गराउँदै उनले उक्त ऐतिहासिक तथ्यलाई दशगजामा हुने सीमापार खेतीपातीसँग तुलना गर्न नमिल्ने जिकिर गरे।
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टीकरणलाई समेत उनले झुट र तथ्य तोडमोड गर्ने प्रयासको रूपमा अर्थ्याए। सत्तारूढ दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आउनुले गम्भीर शङ्का उत्पन्न गरेको उनको तर्क छ। संसद्को रोस्टमबाट आक्रोश व्यक्त गर्दै दुलालले भने, ‘बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टन्टशैलीको पराकाष्ठाले हिजो राज्यले ठुलो क्षति व्यहोर्नुपर्यो।’
उनले राष्ट्रको प्रमुख पद जोशको मात्र नभई होस, अनुभव, ज्ञान र जिम्मेवारीबोधको पद भएको भन्दै 'नयाँ' भन्ने मित्रहरूले यसबाट गम्भीर शिक्षा पाउनुपर्ने बताए। प्रधानमन्त्रीले तत्कालीन ब्रिटिस (युके) सरकारको प्रसंग निकाल्नु आत्मसमर्पणवादको अर्को पराकाष्ठा भएको टिप्पणी गर्दै उनले थपे, ‘अझै आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन ? गम्भीर संसय पैदा भएको छ।’
दुलालले भारत आफैँले पनि नेपालले आफ्नो सिमाना मिचेको दाबी नगरेको र नेपाली सेना कुनै भारतीय भूमि कब्जा गरेर नबसेको अवस्थामा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्नु घोर अज्ञानता भएको बताए। पुर्खाहरूले शिरको बलि चढाएर बचाएको देशको एक एक इन्च अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा प्रधानमन्त्रीको जवाफ राष्ट्रघाती र आत्मसमर्पणवादी भएको जिकिर गर्दै उनले प्रधानमन्त्री साहले संसद्मा दिएको उक्त गलत अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अगाडि बढ्न नदिने र बैठक चल्न नदिने दृढता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण