रविको भारत भ्रमण अरु नेपाली नेताको भन्दा कति फरक ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणमा भारतीय पक्षले अन्य नेपाली नेताको तुलनामा बढी महत्व दिएको छ ।
- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणको क्रममा जस्तो स्वागत तथा तामझाम रविलाई नभएको जानकारहरु बताउँछन् ।
- पूर्वराजदूत विजयकान्त कर्णका अनुसार, नेपालमा छोटो समयमा शक्तिशाली बनेको पार्टीका सभापति रविलाई भारतले दिएको महत्व स्वाभाविक छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । उनलाई भारतमा गरिएको स्वागतको चर्चा सुरु भएको छ ।
यसअघि पनि भारतीय जनता पार्टीको निमन्त्रणामा अन्य दलका अध्यक्षहरु भ्रमणमा जाने गरेका थिए, तर सभापति लामिछाने जतिको महत्त्व अन्य नेपाली नेतालाई भारतले नदिएको जानकारहरु बताउँछन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेलामा भारतीय पक्षले गर्ने स्वागतमा रास्वपाका सभापति रविलाई जति तामझाम नगरिएको उनीहरुको भनाइ छ ।
२०७९ भदौको अन्तिम साता माओवादी केन्द्रको अध्यक्षको हैसियतमा प्रचण्डले भाजपाको निमन्त्रणामा भारत भ्रमण गरेका थिए । त्यो भ्रमणको क्रममा अध्यक्ष प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले एयरपोर्टमा स्वागत गरेका थिए ।
तर रास्वपाका सभापति लामिछानेलाई भाजपाका महासचिव अरुण सिंहले स्वागत गरे भने उनको साथमा विदेश विभाग प्रमुख चौथाइवाले पनि थिए ।
सभापति लामिछानेले आफ्नो भेटघाटको सुरुवात भाजपाका अध्यक्ष नितिन नविनबाट सुरु गरेका छन् । भाजपाको मुख्यालयमा गएर उनले अध्यक्ष नविनसँग दुई पक्षीय भेटघाट गर्नुको साथै मुख्यालयको अवलोकन गरे । उनले भाजपाकै मुख्यालयमा दिवाभोज र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरे ।
भारतले रास्वपा र त्यसको नेतृत्वमा रहेको सरकारसँग मित्रवत् सम्बन्ध बनाउन चाहेको कारण यस्तो महत्त्व दिएको हुन सक्ने नेपालका पूर्वराजदूत विजयकान्त कर्णले बताए । नेपालाम पहिलो पटक छोटो समयमा यस्तो शक्तिशाली बनेको पार्टीका सभापतिलाई भारतले महत्त्व दिनु स्वाभाविक रहेको उनको भनाइ छ ।
२०८१ फागुनमा देउवाले भारतको भ्रमण गर्न चाहेका थिए । उनी भ्रमणमा जाने पनि लगभग निश्चित भइसकेको थियो । देउवा प्रयागराज जाने तय भएर त्यो अनुसारको प्रचार पनि भारतमा गरिएको थियो तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई भेट्न नमानेपछि अन्तिम समयमा सो भ्रमण देउवाले रद्द गरेका थिए ।
२०७८ चैतमा प्रधानमन्त्रीको रुपमा देउवाले भारत भ्रमणमा जाँदा उनले पनि भाजपा मुख्यालयको अवलोकन गरेका थिए । एयरपोर्टमा पर्यटन राज्यमन्त्रीले देउवालाई स्वागत गरेका थिए । तर भाजपा कार्यालय जाँदा नेपालमा उनको निकै आलोचना भएको थियो ।
भाजपा कार्यालयमा गएपछि देउवालाई भाजपाका तत्कालीन अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए, तर अहिले रास्वपा सभापति रविलाई जति महत्त्व दिएको छ, त्यति महत्त्व देउवालाई पनि भारतले नदिएको जानकार बताउँछन् । प्रधानमन्त्रीको रुपमा गएको कारण देउवासँग त्यतिबेला भारतका प्रधानमन्त्री मोदीले भेट गरेको तर पार्टी सभापतिको रुपमा गएका प्रचण्डसँग मोदीले भेट गर्न मानेका थिएनन् ।
पूर्वराजदूत कर्णले भने, ‘२०६३ को आन्दोलनपछि प्रधानमन्त्रीको रुपमा गिरिजाप्रसाद कोइराल भारत भ्रमणमा गएको बेला जसरी महत्त्व दिएको थियो, अहिले रविलाई भारतले त्यस्तै महत्त्व दिएको छ ।’
रास्वपा सभापति लामिछानेले भ्रमणकै क्रममा त्यहाँको प्रतिष्ठित पत्रिका हिन्दुस्तान टाइम्समा उनको लेख प्रकाशन भएको छ । त्यसले पनि उनको भ्रमणको महत्त्व बढाएको छ ।
भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य एवं पूर्वराजदूत पंकज शर्माले पनि सो लेखको प्रशंसा गर्दै नेपाली तथा भारतीयलाई त्यो लेख पढ्न आग्रह गरेका छन् ।
भारतका प्रध्यापक एसडी मुनीले त सभापति लामिछानेले नेपालको अपेक्षालाई प्रस्तुत गरेर भ्रमणमा आएको कारण त्यसको महत्त्व रहेको बताए । सभापति लामिछानेले भारतको अपेक्षाको बारेमा कुरा गरेको छैन, आफ्नो अपेक्षाको मात्र कुरा गरेको कारण भ्रमणले महत्त्व पाएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण