बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
रास्वपा सभापतिको भारत भ्रमण

भारतमा दिनभर रविको उच्चस्तरीय भेटघाट, तर उठेन सीमाका कुरा

मङ्गलबार, १९ जेठ २०८३, २१ : ५५
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
  • भेटघाटमा सीमापार सम्पर्क सुदृढ बनाउने, आपराधिक गतिविधि नियन्त्रण र विपत् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
  • यसैबीच, भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको आवश्यकता नभएको र द्विपक्षीय संयन्त्रमार्फत टुंग्याइने बताएको छ ।

काठमाडौँ । छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तर, दिनभर भएका कुनै पनि उच्चस्तरीय भेटघाटमा नेपाल–भारतबिचको संवेदनशील सीमा विवादको विषयले प्रवेश पाउन सकेन । 

नेपाल र भारतबिच सीमा परिमार्जन तथा सुगौली सन्धिकालीन नक्साका विषयमा बहस भइरहेका बेला सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यस क्रममा सीमाको मुद्दा नउठ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग विशेष भेटवार्ता गरेका छन् । भारतीय राजनीतिमा शक्तिशाली मानिने गृहमन्त्री शाहले विगत सात वर्षको कार्यकालमा विरलै मात्र कुनै विदेशी दलका अध्यक्ष वा नेतासँग यसरी द्विपक्षीय भेटघाट गर्ने गरेका छन् । त्यसैले, लामिछाने र शाहबिचको यो भेटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त भेटघाटमा दुई देशबिचको सीमापार सम्पर्क (क्रस–बर्डर कनेक्टिभिटी) लाई थप सुदृढ बनाउने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा विपत् व्यवस्थापनका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । दुवै नेताले नेपाल–भारतको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै सुरक्षा र पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए पनि सीमा विवादबारे भने कुनै कुराकानी नभएको स्रोतको दाबी छ । 

rabi-lamichhane-india2

यसैगरी, सभापति लामिछाने र भारतीय विदेशमन्त्री एस। जयशंकरबिच पनि आजै भेटघाट भएको छ । विदेश मन्त्रालयमा भएको उक्त भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको समेत उपस्थिति थियो । भेटपछि विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाल–भारत विकास साझेदारी र जनस्तरको सम्बन्धबारे कुराकानी भएको जानकारी दिएका छन् । तर, उनले पनि सीमा विवादबारे कुनै कुरा उल्लेख गरेका छैनन् ।

सभापति लामिछानेले आजै भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनसँग पनि भेटवार्ता गरे । भेटमा दुई देशका राजनीतिक दलहरूबिचको सम्बन्ध र सङ्गठन विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । 

भाजपा नेता नवीनले भारत र नेपालबिचको साझा सभ्यता, संस्कृति र सुदृढ जनस्तरमा आधारित ऐतिहासिक एवं घनिष्ठ सम्बन्धको चर्चा गरेका थिए । रास्वपा र भाजपाबिचको दलीय सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता भ्रमणले मद्दत पुग्ने धारणा उनले राखे । उनले भाजपाको केन्द्रीय तहदेखि बुथ तहसम्मको सङ्गठनात्मक ढाँचा, पार्टीको यात्रा, विचारधारा र राजनीतिक संलग्नताबारे लामिछानेलाई जानकारी गराएका थिए । 

जवाफमा रास्वपा सभापति लामिछानेले भाजपाको डिजिटल सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्ता पहिचान गरी उनीहरूसँग जोडिने पार्टीको संयन्त्रबारे चासो राखेका थिए । सभापति लामिछाने भेटघाटमा व्यस्त रहेकै समयमा भारतीय विदेश मन्त्रालयले भने सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले नेपाल–भारतबिच देखिएको सीमा विवादलाई दुई देश मिलेर समाधान गर्ने र यसमा कुनै ‘तेस्रो पक्ष’ को आवश्यकता नरहेको स्पष्ट पारेका छन् । नेपालसँगको ९८ प्रतिशत सीमाङ्कन भइसकेको दाबी गर्दै उनले बाँकी विवादित क्षेत्रबारे स्थापित द्विपक्षीय संयन्त्रमार्फत छलफल गरेर टुङ्ग्याइने बताए । 

प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले ‘नोटिस’ मा लिएको समेत बताए । प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक संसद्मा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी भएका प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति यतिबेला विवादमा तानिएको छ । 

गत आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्तिलाई लिएर भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको हो । 

rabi-lamichhane-india3

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले संसद्मा भनेका थिए, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।' 

प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुराको विषयमा नेपाल सरकारले आधिकारिक रूपमा ‘डिप्लोम्याटिक नोट’ भारत सरकारलाई पठाइसकेको र त्यसको जवाफ पनि आइसकेको जानकारी दिएका थिए । “ब्रिटिस इन्डियाले छाड्दाखेरिको समस्या अहिलेसम्म रहेकाले यसमा इङ्गल्यान्ड सरकारसँग पनि हामीले कुरा गरेका छौँ । दुवै सरकारले आफ्ना इतिहासविद् र सर्भेयरहरू राखेर ‘टेबल टक’ मार्फत यसलाई कूटनीतिक तवरबाटै समाधान गर्ने कुरा भएको छ,' प्रधानमन्त्रीको भनाइ थियो । 

प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिले नेपाल र भारत दुवैतर्फ राजनीतिक तरङ्ग पैदा गरिरहेका बेला सत्ताधारी दलका प्रमुख नेता लामिछानेको यो भारत भ्रमण भएको हो । त्यसैले यो भ्रमणमा सीमा समस्याबारे गम्भीर कुराकानी हुने नेपाली जनता र राजनीतिक विश्लेषकहरूको ठुलो अपेक्षा थियो ।

आज दिनभरका बैठकहरूमा सीमाको विषय ओझेलमा परे पनि भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको भेटघाटमा सभापति लामिछानेले सीमा समस्याबारे चर्चा गर्ने अपेक्षा अझै बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप