मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुदूरका मुख्यमन्त्री शाहले बाेलाए संसदीय दलको बैठक

बुधबार, २० जेठ २०८३, १४ : ५७
बुधबार, २० जेठ २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्।
  • मुख्यमन्त्री शाहविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यो बैठक डाकिएको हो।
  • बैठकमा दलभित्रको विवाद समाधान गर्ने रणनीति तय गरिने अपेक्षा गरिएको छ।

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । 

आफ्नै दलका सांसदहरूले संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमकाबिच मुख्यमन्त्री शाहले दलको बैठक बोलाएका हुन् ।

मङ्गलबार मात्रै नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका १८ मध्ये ९ जना सांसदले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, प्रस्ताव दर्ता भएको केही समयमै हस्ताक्षरकर्ता मध्येकी एक सांसद डम्बरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरिन् ।

उनले आफू मुख्यमन्त्रीकै पक्षमा रहेको र समर्थन कायमै रहेको बताएकी थिइन्। बहुमत सांसदको हस्ताक्षर नपुग्ने भएपछि र महराले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दलभित्रको पछिल्लो अवस्था र आपसी असमझदारी हटाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू र अन्य सदस्यहरूबिच छलफल हुने बताइएको छ। बैठकले दलभित्रको विवाद समाधान गरी अगाडि बढ्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप