फारम भरेको एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
सारांश
- त्रिभुवन विश्वविद्यालयले परीक्षा प्रणाली नियमित गर्न खोजे पनि परीक्षा र नतिजा प्रकाशनमा ढिलासुस्ती कायम छ ।
- स्नातक तह मानविकी र समाजशास्त्र संकाय बीए प्रथम वर्षको आंशिक परीक्षा फाराम भरेको एक वर्षपछि मात्र भएको छ ।
- विद्यार्थीहरूले ढिलासुस्तीले गर्दा वर्षौँ समय खेर गएको र यसले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका छन् ।
विराटनगर । नेपालको सबैभन्दा पुरानो र ठुलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न संकायका परीक्षा तालिका र आवेदन फारम भर्ने सूचनाहरू सार्वजनिक गरिरहन्छ । ती सूचनाहरूमा विश्वविद्यालयले परीक्षा प्रणालीलाई नियमित बनाउन खोजेको जस्तो पनि देखिन्छ । तर, परीक्षा लिने र रिजल्ट प्रकाशन गर्नेकुरामा त्रिविको ढिलासुस्ती अझै हटेको छैन ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह (३ वर्षे) मानविकी र समाजशास्त्र संकाय बीए प्रथम वर्षको आंशिक परीक्षा २०८३ साल जेठ १८ गतेदेखि सुरु गर्यो । परीक्षार्थीले फारम भने गएको भदौ महिनामा र कार्तिक अन्तिममा भरेका थिए । त्यसैगरी ३ वर्षे स्नातक तह बीए प्रथम वर्ष (आंशिक) को २०८० सालको परीक्षा २०८१ साल चैत २० गतेदेखि सुरु भएको थियो, त्यसबेला देशभरका विद्यार्थीलाई परीक्षाकै लागि काठमाडौं बोलाइयो । २०८१ को परीक्षा भने २०८३ जेठमा भयो ।
एउटा विषयमा मात्रै आंशिक परीक्षा कुरिरहेका विद्यार्थीलाई सास्ती भइरहेको विद्यार्थीहरू बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयको रातोकिताब घोकाउने विश्वविद्यालयको पदाधिकारीहरू किन कानमा तेल हालेर बसेको ?,’ शैक्षिक अभियन्तासमेत रहेका विद्यार्थी योगराज दाहालले भने, ‘आंशिक परीक्षा दिने विद्यार्थी र मौका परीक्षा दिने विद्यार्थीलाई एउटै दाँजोमा किन हेरेको ? आंशिक परीक्षा दिने विद्यार्थीहरू नियमितसरह हुन् । उनीहरूले त्रिविको नियमअनुसार वर्षमा एक पटक परीक्षा दिन पाउनुपर्छ ।’
ढिलासुस्तीप्रति प्रश्न गर्दै दाहालले त्रिविले वार्षिक परीक्षा प्रणालीका विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको दाबी गरे । ‘त्रिभुवन विश्वविद्यालयमा दुई खालका विद्यार्थी छन् । धनी र पहुँचवालाहरू महँगो शुल्क तिरेर सेमेस्टर प्रणालीमा पढ्छन्, तर गरिब र आम सर्वसाधारणका छोराछोरी वार्षिक प्रणालीमा पढ्छन् । त्रिविले वार्षिक प्रणालीका विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको छ,’ उनले भने, ‘त्रिविको नियमअनुसार एउटा शैक्षिक कार्यक्रममा विद्यार्थीले पटक–पटक परीक्षा दिन पाउने व्यवस्था त छ, तर हरेक वर्ष २–३ महिना ढिलो गर्दा विद्यार्थीको वर्षौँ समय खेर गइरहेको छ । २०८१ साल चैतमा एउटा विषयमा फेल भएको विद्यार्थीले बल्ल २०८३ साल जेठमा आएर मात्र आंशिक परीक्षा दिन पाएको तितो यथार्थ हामीसामू छ । यसले विद्यार्थीको भविष्य कसरी सुनिश्चित हुन्छ ? ।’
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू हानथाप गर्ने, एकले अर्कोलाई देखाउने, समन्वय नगर्ने, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समयमा नगराउने र नतिजा ननिकाल्ने गरेको दाहाल बताउँछन् । ‘कानुन संकायको भने डिन कार्यालयले स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीले ट्रान्सक्रिप्ट निकालेपछि मात्रै तीन वर्षे कानुनको एलएलबी प्रवेश परीक्षामा सहभागी गराउने भनेर आवेदन खुलाउँछ, यो जायज छैन,’ उनले भने, ‘सोही कारण विद्यार्थीहरू पढ्नकै लागि विदेश जानुपर्ने तितो यथार्थ सुनाउँछन् ।’
कानुन संकायको उदाहरण दिँदै त्रिविमा समन्वय अभाव भएको दाहालले आलोचना गरे । उनका अनुसार चैत २७ गते खोलिएको ३८०० भ्याकेन्सीका लागि जेठ २९ मा प्रवेश परीक्षा तोकिएको छ । तर भदौ र कात्तिकमा फारम भरेका कतिपय विद्यार्थीहरूले अझै परीक्षा दिन पाएका छैनन् ।
‘के यो देशमा धनीमानीले मात्र पढ्नुपर्ने हो ? गरिबका छोराछोरी विद्यार्थी होइनन् र ?’ दाहाल प्रश्न गर्छन्, ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि त्रिविले त्यसलाई पालना गरेको छैन । फागुन र चैतमा भएका मानविकी संकायको नतिजा अझै आएको छैन ।’
त्रिविका कुलपति (प्रधानमन्त्री) र सह–कुलपति (शिक्षामन्त्री) ले त्रिवि सुधारका कुरा गरे पनि व्यवहारमा केही नभएको दाहालको आरोप छ । ‘हेलो सरकारदेखि हरेक ठाउँमा उजुरी दिँदा पनि सुनुवाइ हुँदैन । सुशासनको रटान दिने सरकार त्रिविको यस्तो अस्तव्यस्तता देख्दा पनि किन कानमा तेल हालेर बसेको छ ?,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले भदौको जेनजी आन्दोलन र विश्वविद्यालयमा भइरहने विभिन्न आन्दोलनका कारण परीक्षा लिन ढिलाइ भएको बताए । ‘ढिलो त भएकै हो । त्यसो हुनुमा जेनजी आन्दोलन भयो, त्रिभुवन विश्वविद्यालयभित्रै विद्यार्थीहरूले विभिन्न माग राखेर आन्दोलन गरे । विविध कारणले परीक्षा लिन ढिलो भएको हो,’ पौडेलले भने । उनले अहिले भएको परीक्षाको नतिजा भने आउँदो भदौ महिनासम्ममा आइसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण