शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

एल निनोको ‘अनिश्चित र भयावह’  परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास

शनिबार, २३ जेठ २०८३, ०९ : ३०
शनिबार, २३ जेठ २०८३

सारांश

  • संयुक्त राष्ट्रसंघले एल निनोको पुनरागमन र यसले ल्याउने चरम मौसमी घटना तथा विश्वव्यापी तापक्रम वृद्धिका लागि तयार रहन चेतावनी दिएको छ ।
  • एल निनोको प्रभावले भारतमा खडेरी र चीनमा बाढीको त्रास बढेको छ, जसले कृषि, विद्युत् र पानी आपूर्तिमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
  • दक्षिणपूर्वी एसियामा एल निनोका कारण गर्मी, खडेरी, डढेलो, वायु प्रदूषण, रोग र पर्यटनमा असर पर्ने सम्भावना छ ।

संयुक्त राष्ट्रसंघले विश्वलाई एल निनोको आसन्न पुनरागमन तथा त्यसले ल्याउने बढ्दो विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसमीय घटनाहरूका लागि तयार रहन चेतावनी दिएको छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले मंगलबार जारी गरेको जानकारीअनुसार एल निनो सेप्टेम्बरअघि विकसित हुने सम्भावना ८० प्रतिशत र नोभेम्बरअघि विकसित हुने सम्भावना ९० प्रतिशत रहेको छ ।

विज्ञहरूका अनुसार विशेष चिन्ताको विषय के हो भने एल निनो मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनको पृष्ठभूमिमा विकसित भइरहेको छ । त्यसैले पनि यसको प्रभाव अझ तीव्र र व्यापक हुन सक्ने सम्भावना छ ।

एशिया यसबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्रहरूमध्ये एक हुने अनुमान गरिएको छ । बढ्दो गर्मी र खडेरीले कृषि, विद्युत् सञ्जाल तथा पानी आपूर्तिमाथि ठुलो दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यहाँ महादेशका विभिन्न प्रमुख क्षेत्रहरूमा अवस्था कस्तो देखिन्छ भन्ने विवरण प्रस्तुत गरिएको छः

भारतका लागि घातक हुन सक्ने 

मुख्य चिन्ता के हो भने एल निनोले गर्मीलाई अझ तीव्र बनाउन सक्छ र जुन महिनातिर हरेक वर्ष आउने मनसुनलाई कमजोर पार्न सक्छ । यस वर्षको मनसुनमा पनि औसतभन्दा कम’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

विज्ञहरूले चेतावनी दिएका छन् कि यस्तो अवस्था भारत तथा सम्पूर्ण दक्षिण एसियाली उपमहादेशका लागि विनाशकारी हुन सक्छ । यहाँ पहिले नै चरम गर्मीका लहरहरू चलिरहेका छन् र मध्यपूर्व संकटका कारण ऊर्जा सङ्कट पनि देखिएको छ ।

यदि एल निनोका कारण वर्षा ढिलो भयो भने पछिल्ला हप्ताहरूमा देशभर फैलिएको गर्मीको लहर अझ लामो समयसम्म जारी रहनेछ । यसले जनजीविकामा गम्भीर असर पार्नुका साथै सम्भावित रूपमा हजारौँ मानिसको ज्यान जान सक्ने खतरा बढाउनेछ ।

वर्षाको अभाव विशेषगरी किसानहरूका लागि विनाशकारी साबित हुनेछ, किनभने उनीहरू आगामी बाली रोपाइँका लागि आकासे वर्षामै निर्भर छन् । मे महिनाको गर्मीले गहुँ र तोरीबालीमा क्षति पुर्‍याइसकेको छ । एल निनोले खडेरीलाई अझ बढाउने तथा देशको खाद्य सुरक्षामा गम्भीर असर पार्ने आशंका गरिएको छ ।

भारतीय कृषि विज्ञ तथा अभियन्ता देवेन्द्र शर्माले ‘क्लाइमेट ट्र्याकर कार्बन कपी’सँग भनेका छन्, ‘जलवायु परिवर्तन र वर्तमान भू–राजनीतिक परिस्थितिबिच सन् २०२६ भारतका लागि परीक्षाको वर्ष बन्नेछ ।’

‘अहिलेको चरम गर्मीले चिन्ता बढाइरहेको छ । हामी एल निनोको अपेक्षा गरिरहेका छौँ, जसको प्रभाव जुलाई वा अगस्टमा देखिन सक्छ । यो भारतका लागि, विशेषगरी भारतीय कृषिका लागि, घातक संयोजन हो ।’

मध्यपूर्व संकटका कारण मल अभाव हुन सक्ने चिन्ताले भारतभरका किसानहरू पहिले नै तनावमा छन् ।

एल निनोले भारतका सहरहरूमा पनि गम्भीर असर पार्न सक्छ । विशेषगरी मुम्बईमा यसको प्रभाव बढी देखिन सक्छ । भारतको आर्थिक तथा फिल्मी राजधानी मुम्बईका २ करोड २० लाखभन्दा बढी बासिन्दाका लागि पानीको स्रोत सातवटा वर्षामा निर्भर तालहरू मात्र हुन् । हाल ती तालहरूमा केवल ४५ दिन पुग्ने पानी बाँकी रहेको छ । यदि एल निनोका कारण मनसुन ढिलो भयो भने मुम्बईले गम्भीर पानी सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

चीनका केही क्षेत्रमा अत्यावश्यक सामग्री भण्डारण गर्न आह्वान

चीनमा गर्मीयाममा बाढी र खडेरी दुवै समस्या देखिने गर्छन् । जलवायु संकटका कारण ती मौसमीय घटना झन् गम्भीर बन्दै गएका छन् र यसले विद्युत् सञ्जालमाथि दबाब बढाएको छ । यस वर्ष एल निनोका कारण चुनौतीहरू अझ ठुलो हुने अपेक्षा गरिएको छ ।

शुक्रबार चीनको राष्ट्रिय जलवायु केन्द्रले एल निनोको प्रभाव शरद् र हिउँदमा चरम अवस्थामा पुग्ने तथा यसले दक्षिणी चीनमा बढी वर्षा र देशभर उच्च तापक्रम निम्त्याउन सक्ने जनाएको थियो ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यस वर्ष केही क्षेत्रमा औसतभन्दा २० प्रतिशत बढी वर्षा हुन सक्छ । 

यसै साता तिब्बती पठारमा अवस्थित उत्तर–पश्चिमी चीनको उच्च भूभागीय प्रान्त छिङहाइको मौसम विभागले एल निनो ‘टाढाको विषय जस्तो देखिए पनि’ छिङहाइ (तिब्बत पठार)मा यसको प्रभाव ‘अनिश्चित र भयावह’ हुन सक्ने चेतावनी दिएको छ ।

विभागले आकस्मिक मौसमीय परिवर्तनका लागि तयारी गरिरहेको जनाएको छ र नागरिकहरूलाई घरमा आपत्कालीन सामग्री भण्डारण गरेर राख्न सुझाव दिएको छ ।

एल निनो आउनुअघि नै चीनले भीषण वर्षा र आँधीका लागि मौसम चेतावनी जारी गरिसकेको छ । सिन्ह्वाले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘बाढी नियन्त्रणको अवस्था गम्भीर र जटिल छ ।’

यस साता चीनका केही भागमा अत्यधिक वर्षा हुने अपेक्षा गरिएको छ । दक्षिणी र पूर्वी चीनका केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी हुबेइ प्रान्तका केही क्षेत्रहरू बढी प्रभावित भएका छन् ।

दक्षिण–पूर्वी एशियाका लागि ‘कठिन परीक्षा’

मलेसिया साबाह विश्वविद्यालयका जलवायु परिवर्तनका प्राध्यापक जस्टिन सेन्टियनका अनुसार शक्तिशाली एल निनोले दक्षिण–पूर्वी एसियामा लामो तथा तीव्र गर्मी, गम्भीर खडेरी, डढेलो तथा वायु प्रदूषण निम्त्याउन सक्छ ।

सामान्य अवस्थामा बलिया हावाहरूले न्यानो सतही पानीलाई पश्चिमी प्रशान्ततर्फ धकेल्छन्, जसले यस क्षेत्रमा आवश्यक वर्षा गराउँछ । तर ती हावाहरू कमजोर वा उल्टो दिशामा बग्न थालेपछि न्यानो पानी पूर्वतर्फ सर्छ र मलेसिया, सिंगापुर, इन्डोनेसिया, थाइल्यान्ड तथा फिलिपिन्सजस्ता देशहरूले आवश्यक वायुमण्डलीय आर्द्रता गुमाउँछन् ।

यसले ती देशहरूलाई बढ्दो तापक्रमको जोखिममा पार्छ, जसले जनस्वास्थ्यमा असर पुर्‍याउने, विद्युत् सञ्जालमाथि दबाब बढाउने तथा पानीका स्रोतहरूलाई तीव्र रूपमा सुकाउने काम गर्छ ।

सिंगापुरको राष्ट्रिय विश्वविद्यालय तथा बोस्टन कलेजका जलवायु वैज्ञानिक मिङ यीका अनुसार कृषि र जलविद्युत् सबैभन्दा बढी जोखिममा पर्ने क्षेत्र हुन् । इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र फिलिपिन्सजस्ता कृषि–निर्भर देशहरू विशेष रूपमा संवेदनशील छन् ।

मध्यपूर्व संकटका कारण यो क्षेत्र पहिले नै ऊर्जा तथा मल अभावको सामना गरिरहेको छ र अभाव पूर्ति गर्न बढी प्रदूषणकारी इन्धन प्रयोग गर्न बाध्य भएको छ । ग्लोबल हिट हेल्थ इन्फर्मेसन नेटवर्क दक्षिण–पूर्वी एशिया हबका अध्यक्ष एसोसिएट प्रोफेसर जेसन लीले भने, ‘दक्षिण–पूर्वी एसियामा एल निनोको पुनरागमन केवल मौसमीय घटना मात्र होइन । यो पहिले नै दबाबमा रहेका प्रणालीहरूको परीक्षा हो ।’

सुक्खा माटोले विशेषगरी धान र पाम तेलजस्ता मुख्य उत्पादनहरूलाई असर पार्न सक्छ । यसले खाद्यान्न अभाव तथा बजार मूल्यवृद्धि गराउन सक्छ, जसले स्थानीय अर्थतन्त्रमा ठुलो आघात पुर्‍याउनुका साथै न्यून आय भएका परिवारहरूको पोषण सुरक्षालाई जोखिममा पार्न सक्छ ।

सेन्टियनका अनुसार यसको प्रभाव विशेषगरी दुर्गम ग्रामीण क्षेत्रमा बढी देखिनेछ, जहाँ पानीको पूर्वाधार पहिले नै कमजोर छ ।

‘सहरहरूले केन्द्रीकृत सेवा प्रणालीबाट पानी पाउँछन्, तर दुर्गम समुदायहरू प्रायः उथला इनार, प्राकृतिक नदी तथा पहाडी पानीका स्रोतमा निर्भर हुन्छन्,’ उनले भने ।

‘एल निनोका कारण वाष्पीकरण बढ्दै जाँदा यस्ता कमजोर पानीका स्रोतहरू हराउने निश्चित छ । पानी प्रशोधन सुविधा नहुँदा परिवारहरू सुक्दै गएका नदी किनारका असुरक्षित तथा स्थिर पानी संकलन गर्न बाध्य हुनेछन्, जसले हैजाजस्ता पानीजन्य रोगहरू बढाउन सक्छ ।’

मिङ यीका अनुसार शक्तिशाली एल निनोले डेंगु र मलेरियाजस्ता गर्मीमा फस्टाउने रोग फैलिन अनुकूल अवस्था पनि सिर्जना गर्न सक्छ ।

सेन्टियनका अनुसार यस क्षेत्रको महत्वपूर्ण पर्यटन उद्योग पनि प्रभावित हुन सक्छ । ‘बैंककदेखि दा नाङसम्मका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामना गर्न गइरहेका छन् । यस्तो अवस्थामा खुला स्थान, सांस्कृतिक सम्पदा स्थल तथा समुद्री तटहरू दिनको व्यस्त समयमा लगभग प्रयोग गर्न नसकिने अवस्था सिर्जना हुनेछ ।’

सुक्खापनका कारण सुमात्रा र कालिमान्तानजस्ता क्षेत्रमा कृषि तथा पीटल्यान्डमा डढेलो लाग्न सक्छ । त्यसबाट निस्कने विषाक्त धुवाँले सिंगापुर र क्वालालम्पुरजस्ता वित्तीय तथा यातायात केन्द्रहरू ढाक्न सक्ने सेन्टियनले बताए ।

हङकङ सिटी विश्वविद्यालयको ऊर्जा तथा वातावरण विद्यालयका डिन प्रोफेसर बेन्जामिन होर्टनले दक्षिण–पूर्वी एशियालाई ‘एल निनोको प्रभाव सबैभन्दा बढी झेल्ने क्षेत्रहरूमध्ये एक’ भनेका छन् ।

उनले भने, ‘मेरो लागि यस घटनालाई विशेष रूपमा चिन्ताजनक बनाउने कुरा के हो भने यो मानव–प्रेरित जलवायु परिवर्तनको पृष्ठभूमिमा विकसित भइरहेको छ । अब हामी एल निनोलाई यसबाट अलग्याएर हेर्न सक्ने अवस्थामा छैनौँ ।’ द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप