शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता

शनिबार, २३ जेठ २०८३, २१ : ४३
शनिबार, २३ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार भरतराज कँडेलले २५० मत गणना हुँदा १४६ मतसहित फराकिलो अग्रता लिएका छन्।
  • सचिव पदमा दिवस नेपालले अग्रता लिइरहेका छन् भने सहसचिवमा सिर्जना गिरी आचार्य अगाडि छिन्।
  • उपाध्यक्षमा बिमला बस्नेत निर्विरोध निर्वाचित भएकी छिन् र कोषाध्यक्ष भने निर्वाचित समितिले चयन गर्नेछ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनबाट सभापतिमा भरतराज कँडेलले फराकिलो मतले अग्रता लिएका छन् । हालसम्म २५० मत गणना गर्दा कँडेलले १४६ मत पाएका छन् । उनका प्रतिस्पर्धी कोषराज खनालले ७० मत र सागर फुयाँलले २९ मत पाएका छन् । 

यस्तै सचिव पदमा दिवस नेपालले ७० मत पाउँदा, सुरेश कुमार श्रेष्ठ र कुमार फुयाँलले ६०–६० मत पाएका छन् । यस्तै बुद्धि अधिकारीले ५६ मत पाएका छन् । सहसचिबका प्रतिस्पर्धी सिर्जना गिरी आचार्यले १५८ मत ल्याउँदा सन्तोष सिंहले ८६ मत पाएका छन् । अहिले पनि मतगणना जारी छ । 

उपाध्यक्ष पदमा भने बिमला बस्नेत निर्विरोध निर्वाचित भइसकेकी छिन् । 

सभापति पदमा प्रतिस्पर्धा गरेका फुयाँल पेसाले शैक्षिक व्यवसायी हुन् । उनी देवकोटा कलेज र होलील्याण्ड कलेजका प्रिन्सिपल रहिसकेका छन् भने विराटनगरमा न्यु बिट कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्दै आएका छन्।

अर्का आकांक्षी भरत कँडेल उर्लाबारी निवासी हुन्। उनी रास्वपा मोरङका संस्थापक सभापति तथा करिब डेढ वर्षअघि सम्पन्न भेलाबाट निर्वाचित जिल्ला सभापति हुन्। शिक्षण पेसाबाट राजनीति प्रवेश गरेका कँडेलले उर्लाबारीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यापन गर्नुका साथै काउन्सिलरका रूपमा समेत काम गरेका छन्।

सभापति पदका अर्का दाबेदार कोषराज खनाल वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्। एक दशकभन्दा बढी समय विदेश बसेपछि नेपाल फर्किएका खनाल पार्टी स्थापनाकालदेखि नै रास्वपामा सक्रिय रहँदै आएका छन्।

यसअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका दिवस नेपाल ‘जेन्जी आन्दोलन’पछि रास्वपामा आबद्ध भएका हुन्। उनी नेपाली कांग्रेस विराटनगर महानगरको उपसचिव थिए। सहसचिव पदका प्रतिस्पर्धी सिर्जना पौडेल यसअघि पनि सहसचिवमा निर्वाचित भएकी थिइन् । 

रास्वपाको विधानअनुसार कोषाध्यक्ष भने निर्वाचित जिल्ला समितिले चयन गर्ने व्यवस्था छ। अधिवेशनले क्षेत्रीय सभापतिहरूको समेत चयन गर्नेछ। रास्वपाको जिल्ला समितिमा पदाधिकारीसहित ९ जना निर्वाचित हुने व्यवस्था छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा ४ जना सदस्य रहेका छन् । ४ जना सदस्यका लागि ६ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । 

जिल्ला अधिवेशनबाट ९ जनाको कार्यसमिति चयन हुने र २ जना सदस्य मनोनित गर्ने रास्वपाको विधानमा उल्लेख छ । जिल्ला समितिमा पालिका सभापतिहरु स्वतः पदेन सदस्य हुनेछन् । रास्वपा मोरङको अधिवेशनमा ४८६ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप