एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
सारांश
- अमेरिका र इरानबीचको सैन्य तनाव कम भएसँगै कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको छ ।
- ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९२ डलर ८२ सेन्ट र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको मूल्य ८५ डलर २९ सेन्टमा झरेको छ ।
- मध्यपूर्वमा जारी सुरक्षा जोखिम र रुस-युक्रेन युद्धले तेल आपूर्तिमा अवरोध आउन सक्ने र मूल्य पुनः बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिका र इरानले दुई सातादेखि जारी सैन्य आक्रमण सप्ताहन्तमा अस्थायी रूपमा रोकेपछि कच्चा तेलको मूल्य सोमबार करिब ४ प्रतिशतले घटेको हो । दुवै देशबीच कूटनीतिक समाधानको सम्भावना बढेसँगै स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी पुनः सामान्य हुन सक्ने आशाले बजारमा सकारात्मक प्रभाव परेको छ ।
सोमबार बिहान लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३ डलर ९६ सेन्टले घटेर ९२ डलर ८२ डलरमा झरेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव १ प्रतिशत कम हो । कारोबारको सुरुआती चरणमा यसको मूल्य केही समयका लागि ९० डलरभन्दा तलसम्म आएको थियो ।
त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको मूल्य पनि ४ डलर शून्य २ सेन्ट घटेर प्रतिब्यारेल ८५ डलर २९ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव ५ प्रतिशत कम हो ।
लगातार तीन सातासम्म बढेको तेलको मूल्य अहिले करिब एक सातायताकै न्यून स्तरमा पुगेको छ । यसअघि अमेरिका–इरान द्वन्द्वका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल ढुवानी प्रभावित भएपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुगेको थियो । द्वन्द्व लाल सागरसम्म फैलिँदा विश्वकै प्रमुख तेल निर्यातकर्ता साउदी अरबबाट बाब अल–मन्देब जलडमरूमार्ग हुँदै एसियातर्फ हुने तेल निर्यातमा समेत अवरोध सिर्जना भएको थियो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई समय दिन इरानमाथिको अमेरिकी हवाई आक्रमण अस्थायी रूपमा रोक्ने निर्णय गरेको बताएका थिए । त्यसपछि इरानले पनि अमेरिकाले आक्रमण नगरेसम्म आफूले पनि प्रतिआक्रमण नगर्ने जनाएको छ ।
आईएनजी बैंकका विश्लेषकहरूले अमेरिका र इरानले थप सैन्य कारबाही नगरेपछि बजारमा तनाव कम हुने संकेत देखिएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्य तीव्र रूपमा घटेको बताएका छन् । उनीहरूका अनुसार बजारले सकारात्मक समाचारको लामो समयदेखि प्रतीक्षा गरिरहेको थियो । यद्यपि सैन्य कारबाही रोकिए पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाज आवागमन अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन । क्लेपरको तथ्यांकअनुसार सप्ताहन्तमा दैनिक १० भन्दा कम मालवाहक जहाज मात्र उक्त जलमार्गबाट आवतजावत गरेका थिए ।
एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकका अनुसार धेरै ढुवानी कम्पनी अझै पनि सुरक्षा अवस्थाप्रति विश्वस्त छैनन् । त्यसैले स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी विस्तारै मात्र बढ्ने सम्भावना रहेको उनले बताएका छन् । यसैबीच, यमनका हुथी विद्रोहीले रेड सी तटस्थित साउदी अरेबियाका तेल पूर्वाधारमा आक्रमण गरेपछि बाब अल–मन्देब जलडमरूमार्ग हुँदै हुने जहाज आवागमन पनि आइतबार घटेको छ । यद्यपि एक चिनियाँ सुपरट्याङ्कर भने उक्त मार्ग हुँदै सफलतापूर्वक बाहिरिएको बताइएको छ ।
विश्लेषकहरूले मध्यपूर्वमा जारी सुरक्षा जोखिम र रुस–युक्रेन युद्धका कारण विश्वव्यापी तेल आपूर्ति अझै पनि प्रभावित हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार यदि तेल आपूर्तिमा निरन्तर अवरोध रह्यो भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः बढ्न सक्ने र त्यसले विश्वव्यापी मुद्रास्फीतिमाथि थप दबाब सिर्जना गर्न सक्नेछ । यसैबीच, युक्रेनले सप्ताहन्तमा रुसका विभिन्न तेल भण्डारण केन्द्र तथा तेलसम्बन्धी पूर्वाधारहरूमा ड्रोन आक्रमण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो युद्धका लागि अमेरिकाभन्दा बलियो अवस्थामा इरान
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण