बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकप २०२६ः क–कसलाई भिसा दिएन अमेरिकाले ?

बिहीबार, २८ जेठ २०८३, ११ : ५०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • अमेरिकाले विश्वकपमा सहभागी हुन आएका खेलाडी, पदाधिकारी र समर्थकलाई भिसा अल्झाएको, प्रवेश नदिएको र कडा जाँच गरेको भन्दै आलोचना खेपिरहेको छ ।
  • सोमाली रेफ्री उमर आर्टनलाई भिसा नदिएपछि र इरानी टोलीका केही सदस्यलाई भिसा अस्वीकृत गरेपछि अमेरिकी भिसा नीतिको आलोचना बढेको छ ।
  • फिफाले आयोजक राष्ट्रले भिसा प्रक्रियामा भेदभाव नगर्नुपर्ने नियम बनाए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सरकारको निर्णय उल्ट्याउन नसक्ने बताएका छन् ।

काठमाडौँ । अमेरिकाले फिफा विश्वकपमा सहभागी हुन आएका खेलाडी, पदाधिकारी तथा समर्थकहरूलाई भिसा अल्झाउने, प्रवेश नदिने तथा कडा चेकजाँच गर्ने गरेको भन्दै आप्रवासी तथा मानवअधिकार विज्ञहरूबाट आलोचना खेपिरहेको छ ।

यस आलोचनाले थप तीव्रता त्यसपछि पायो जब विश्वकप खेलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमाली फुटबल रेफ्री उमर आर्टनलाई यसै साता अमेरिकामा प्रवेश गर्न रोक लगाइयो ।

अन्तर्राष्ट्रिय खेलकुद कानुनविद् खैरान नूरका अनुसार मानवअधिकार संस्था र अधिकारकर्मी समूहहरूले अमेरिकाको आप्रवासन कार्यान्वयन नीति तथा आप्रवासी समुदायमाथिको व्यवहारबारे पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन् । उनका अनुसार यस्ता बहसहरू फुटबलबाट अलग भए पनि विश्वका सबैभन्दा ठुला अन्तर्राष्ट्रिय जमघटमध्ये एकको आयोजना गर्ने देशले यस्तो गर्नु उचित होइन ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्क अमेरिकी आप्रवासन नीतिमा व्यापक पुनर्विचार गर्नुपर्ने बताउँछन् । उनका अनुसार जातका आधfरमा वर्गीकरण गर्ने, निगरानी तथा कडाइ गर्ने अभ्यासले विश्वकपलाई असर पार्नुहुँदैन ।

इतिहासकै सबैभन्दा महँगो विश्वकप हेर्न हजारौँ डलर खर्च गरेका मोरक्को, स्कटल्यान्डलगायत विभिन्न देशका समर्थकहरूले समेत भिसा अस्वीकृत वा रद्द गरिएको गुनासो गरिरहेका छन् । ४८ राष्ट्र सहभागी ३९ दिने प्रतियोगिता सुरु हुनुअघि उमर आर्टनलाई भिसा नदिएको प्रकरणले  घटनाले अमेरिकी भिसा अस्वीकृति भित्र कतै भू–राजनीति र जातीय विभेद त लुकेको छैन भन्ने बहसलाई पनि ब्युँझाइदिएको छ । र, यो त्यस्तै पनि देखिन्छ ।

  • क–कसलाई भिसा दिएन अमेरिकाले ?

उमर आर्टन (सोमालिया)

३४ वर्षीय आर्टन विश्वकपमा खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्ने तयारीमा थिए । तर वैधानिक अमेरिकी भिसा र आवश्यक कागजात हुँदाहुँदै पनि मियामी विमानस्थलमा उनलाई प्रवेश गर्न दिइएन अनि  इस्तानबुल फर्काइयो ।

अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले उनलाई ‘सुरक्षा सम्बन्धी मापदण्ड’का कारण अमेरिका प्रवेशका लागि अयोग्य ठहर गरिएको जनाएको थियो । आर्टन फिफाले छनोट गरेका ५२ विश्वकप रेफ्रीमध्ये एक थिए ।

डोनाल्ड ट्रम्पले विगतमा सोमालिया र सोमाली–अमेरिकी समुदायप्रति विवादास्पद अभिव्यक्ति दिएका थिए र सोमालियालाई अमेरिकी यात्रा प्रतिबन्ध सूचीमा पनि राखेका थिए ।

इरानी टोली र अधिकारीहरू

अमेरिका–इजरायल युद्धका कारण इरानी टोलीले भिसा पाउने वा नपाउने भन्ने अन्योल अन्तिम समयसम्म कायम थियो । अमेरिकाले खेलाडीहरूलाई पहिलो खेल हुनुभन्दा १० दिनअघि मात्र भिसा प्रदान ग¥यो । तर इरानी फुटबल महासंघका अनुसार टोलीका केही प्रमुख व्यवस्थापकीय र प्रशासकीय सदस्यलाई भिसा दिइएन ।

इरानको टोली मूलतः अमेरिकाको एरिजोनामा बस्ने योजना भए पनि प्रतियोगिताभर छिमेकी मेक्सिकोको तिजुआनामा रहनेछ । समूह चरणका सबै खेल अमेरिकाको पश्चिमी तटमा खेलिए पनि टोलीलाई प्रत्येक खेलको अघिल्लो दिन मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइनेछ ।

आयमेन हुसेन (इराक)

इराकी स्ट्राइकर आयमेन हुसेनलाई शिकागोको ओहेयर विमानस्थलमा करिब सात घण्टा नियन्त्रणमा राखियो । उनको मोबाइल फोन जाँच गरियो । त्यसपछि मात्र उनलाई प्रवेश गर्न दिइयो ।

घटनापछि उनले प्रश्न गरे, ‘यदि अमेरिका विदेशी नागरिकप्रति यति शत्रुतापूर्ण व्यवहार गर्छ भने उसले विश्वकप किन आयोजना गरिरहेको छ ?’ त्यसैबिच राष्ट्रिय टोलीका फोटोग्राफर तलाल सलाहलाई पनि १० घण्टाभन्दा बढी रोकियो । उनको मोबाइल जाँच गरियो । र, अन्ततः अमेरिका प्रवेश गर्न दिइएन  ।

उडेन्स्की पिएरे (हैटी)

हाइटी राष्ट्रिय टोलीका सदस्य उडेन्स्की पिएरेले अन्तिम समयमा मात्र अमेरिकी भिसा पाए । भिसा ढिलाइका कारण उनले न्युजिल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल गुमाए । भिसा स्वीकृत भएपछि उनी मियामी विमानस्थलमा खेल चलिरहँदा पुगेका थिए ।

ब्रिल एम्बोलो (स्विट्जरल्यान्ड)

स्विस फरवार्ड ब्रिल एम्बोलोको भिसा प्रारम्भमा रोक्का गरिएको थियो । सन् २०१८ मा बासेलमा भएको एक झगडासम्बन्धी पुरानो मुद्दाका कारण उनको आवेदनमाथि थप छानबिन गरिएको थियो । पछि बर्नस्थित अमेरिकी दूतावासमा आफ्नो पक्ष राखेपछि उनलाई यात्रा अनुमति प्रदान गरियो र उनी टोलीसँग जोडिन सफल भए ।

के भिसा सुनिश्चित गर्नु फिफाको दायित्व हो ?

फिफाले सन् २०१७ मा जारी गरेको आयोजक राष्ट्रसम्बन्धी नियममा भिसा प्रक्रिया गैरभेदभावपूर्ण हुनुपर्ने उल्लेख छ । सँगसँगै यसले राष्ट्रिय आप्रवासन तथा सुरक्षा मापदण्डमा प्रतिकूल असर पार्नु नहुने सर्त पनि राखेको छ ।

खैरान नूरका अनुसार राष्ट्रहरूले सिमाना नियन्त्रण र राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौम अधिकार राखे पनि यस्ता विश्वव्यापी खेलकुद प्रतियोगिताका लागि विशेष व्यवस्था आवश्यक हुन सक्छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने फिफा सरकारको निर्णय उल्ट्याउन सक्ने संस्था नभएको बताएका छन् । उनका अनुसार फिफा खेलकुद संस्था मात्र हो । र, यसले अमेरिका कसलाई प्रवेश दिने वा नदिने भन्ने निर्णयमा हस्तक्षेप गर्ने छैन ।

‘हामी सधैँ समाधान खोज्ने प्रयास गर्छौँ । तर हामी संसारका राजा होइनौँ, जसले सरकार वा प्रहरीलाई आदेश दिन सक्छ । हामी खेलकुद संस्था हौँ र उपलब्ध साधन र अधिकार मार्फत सकेसम्म राम्रो गर्ने प्रयास गर्छौँ,’ इन्फान्टिनोले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप