शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो म्याचिङ् लिस्टबाट छात्रवृत्तिका लागि ३ हजार ५१ जना विद्यार्थी भर्ना: दोस्रो म्याचिङ लिस्टमा ४८६ जना विद्यार्थी

दोस्रो मनोनयन सूचीमा भएका विद्यार्थीले असार २ गतेभित्र भर्ना भइसक्नु पर्ने

शुक्रबार, २९ जेठ २०८३, २३ : ४५
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • पहिलो म्याचिङ् लिस्टबाट काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति कोटामा ३ हजार ५१ जना विद्यार्थी भर्ना भएका छन् ।
  • विज्ञान विषयमा १ हजार ९०१, व्यवस्थापनमा १ हजार १११, कानुनमा ३४ र मानविकीमा ५ जना विद्यार्थी भर्ना भएका छन् ।
  • दोस्रो म्याचिङ् लिस्टमा ४८६ जना विद्यार्थीको नाम प्रकाशन गरिएको छ, जसमा विज्ञानका ३२३ र व्यवस्थापनका १४५ जना छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिस्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् । शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) मा परेका ३ हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो । 

यसरी भर्ना हुने विद्यार्थीमध्ये १ हजार ९०१ जना बिज्ञान विषयमा, व्यवस्थापनमा १ हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा ५ जना विद्यार्थी छन् । विद्यालयहरूले भर्ना भएका विद्यार्थीहरूको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा शुक्रबार परीक्षा समितिले म्याचिङ् लिस्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीका लागि १ जना र शिक्षाका लागि २ जना विद्यार्थीको नाम सिफारिस भएको छ । 

विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवम् आरक्षण र समूहगत रूपमा तोकिएको सिट सङ्ख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो । 

मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपीमा छात्रवृत्ति परीक्षाको रोल नम्बर (महानगरपालिकाबाट प्रदान गरिएको), जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनय पत्र लिएर असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्नेछ । तोकिएको समयसीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 

समितिले असार ३ गतेपछि तेस्रो सूची निकाल्ने तयारी गरेको छ । 

यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थाका लागि ४ हजार ८५७ कोटा निर्धारण गरिएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए । यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयहरूमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो । 

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । १८ गतेदेखि २० गते सम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो । यस अवधिमा ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन परेको थियो । यीमध्ये ओएमआर उत्तर पुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप