सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल

सोमबार, ०१ असार २०८३, ०७ : ५९
सोमबार, ०१ असार २०८३

सारांश

  • अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएपछि एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल आएको छ।
  • जापानको निकेई २२५ सूचकाङ्क ५ प्रतिशतभन्दा बढीले बढेको छ भने दक्षिण कोरियाको कोस्पी ५.७ प्रतिशतले उकालो लागेको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सम्झौता सार्वजनिक गर्दै स्ट्रेट अफ होर्मुजलाई शुल्कविना खुला गर्ने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी तत्काल हटाउने निर्णय गरेको बताएका छन्।

टोकियो। अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सहमति भए लगत्तै एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल आएको छ। 

वासिङ्टन र तेहरानबिचको युद्ध अन्त्य गर्ने सम्झौताको औपचारिक घोषणासँगै लगानीकर्ताहरूमा छाएको उत्साहका कारण सेयर बजार सूचकहरू तीव्र गतिमा बढेका छन्।

सोमबार बिहानको कारोबार सुरु भएसँगै जापानको निकेई २२५ सूचकाङ्क ५ प्रतिशतभन्दा बढीले बढेको छ भने दक्षिण कोरियाको कोस्पी ५.७ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, ताइवानको ताइएक्स २.७ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० सूचकाङ्क करिब १.५ प्रतिशतले बढेको छ। 

नियमित कारोबार समयबाहिर हुने अमेरिकी स्टक फ्युचर्समा पनि सकारात्मक प्रभाव देखिएको छ। एस एण्ड पी ५०० र प्रविधि क्षेत्रमा केन्द्रित नास्डाक कम्पोजिट सूचकाङ्कसँग सम्बन्धित फ्युचर्स क्रमशः १ प्रतिशत र १.६ प्रतिशतले बढेका छन्।

सेयर बजारमा उत्साह देखिँदा विश्वभरका लागि तेलको मुख्य मानक मानिने ब्रेन्ट क्रुडको मूल्यमा भने ४ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। एएनजेडका एसिया अनुसन्धान प्रमुख खुन गोहले भने, ‘राष्ट्रपति ट्रम्पले सम्झौता नजिक रहेको सङ्केत गर्दा गत साताको अन्त्यतिर नै बजारले प्रतिक्रिया दिइसकेको थियो, तर अहिले आधिकारिक पुष्टिले बजारलाई थप उत्साहित बनाएको छ।’ तेलको मूल्यमा आएको गिरावटले विश्वभरका केन्द्रीय बैंकहरूलाई केही राहत मिल्ने उल्लेख गर्दै उनले थपे, ‘अबको ध्यान अमेरिकी फेडरल रिजर्भमा केन्द्रित भएको छ, जसले यसै साता ब्याजदरको सम्बन्धमा निर्णय लिँदै छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युद्धविरामको सम्झौता सार्वजनिक गर्दै स्ट्रेट अफ होर्मुजलाई शुल्कविना खुला गर्ने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी तत्काल हटाउने निर्णय गरेको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘विश्वका जहाजहरू हो, आफ्ना इन्जिन सुरु गर, तेल बग्न देऊ।’

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले पनि दुवै पक्षबिच सम्झौताको अन्तिम टुङ्गो लागेको पुष्टि गरेका छन्। युद्ध अन्त्यसँगै आपूर्ति शृङ्खला पुनः सुचारु हुने र विश्व अर्थतन्त्रमा रहेको मुद्रास्फीतिको दबाब कम हुने अपेक्षामा लगानीकर्ताहरू थप आशावादी देखिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप