सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु

सोमबार, ०१ असार २०८३, ११ : २५
सोमबार, ०१ असार २०८३

सारांश

  • ब्राजिलको रियो दि जेनेरियोमा दुई हेलिकप्टर आकाशमै ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परेका दुवै हेलिकप्टर एउटा विद्युतीय सवारी साधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा खसेर आगलागी भएको थियो ।
  • दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

काठमाडौँ । ब्राजिलको रियो दि जेनेरियो सहरमाथि आइतबार बिहान दुई हेलिकप्टर आकाशमै ठोक्किँदा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। दुर्घटना सहरको पश्चिमी उपनगर रेक्रेइओ दोस बान्देरान्तेस क्षेत्रमा भएको हो ।

अग्नि नियन्त्रण विभागका अनुसार ठोक्किएपछि दुवै हेलिकप्टर तल खसेर एउटा विद्युतीय सवारी साधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा पुगेका थिए । दुर्घटनापछि करिब २० वटा विद्युतीय गाडीमा आगलागी भएको थियो ।

दमकल विभागका प्रवक्ता फाबियो कोन्त्रेइरास ले विद्युतीय गाडीमा प्रयोग हुने लिथियम–आयन ब्याट्रीमा आगो लाग्दा विषाक्त ग्यास निस्कने र आगो निभाउन अत्यधिक पानी आवश्यक पर्ने बताए । उनका अनुसार एउटा हेलिकोप्टर जलेको अवस्थामा गाडीहरूबिच फेला परेको थियो, जसमा पाँच जना सवार थिए । अर्को हेलिकप्टर करिब १०० मिटर टाढा फेला परेको र त्यसमा चालक मात्र रहेको बताइएको छ ।

दुर्घटनास्थलबाट सयौं मिटर टाढासम्म हेलिकोप्टरका भग्नावशेष फेला परेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पार्किङ क्षेत्रबाट बाक्लो धुवाँ आकाशतर्फ उठिरहेको देखिएको छ ।

अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् ।  प्रारम्भिक रूपमा हेलिकोप्टरहरू कसरी एक–अर्कासँग ठोक्किए भन्नेबारे स्पष्ट जानकारी आएको छैन । 

ब्राजिलमा हेलिकप्टर दुर्घटनाका घटना तुलनात्मक रूपमा धेरै हुने गरेका छन् । ब्राजिलको विमान दुर्घटना अनुसन्धान तथा रोकथाम केन्द्रका अनुसार यस वर्ष आइतबारको दुर्घटनाअघि मात्रै ८४ वटा हवाई दुर्घटना दर्ता भइसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप