उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
सारांश
- नेपालको उड्डयन क्षेत्रलाई एकताबद्ध, सुरक्षित, दिगो र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच समझदारी भएको छ ।
- यस समझदारीले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक, इन्जिनियर, प्राविधिक, अनुसन्धानकर्ता, शिक्षाविद् र विद्यार्थीलाई एउटै मञ्चमा ल्याई ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदान गर्नेछ ।
- सम्झौता अनुसार उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मत सम्भार र सुरक्षा व्यवस्थापनमा नवीन प्रविधिसम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ ।
काठमाडौँ । नेपालको सम्पूर्ण उड्डयन क्षेत्रलाई एकताबद्ध, सुरक्षित, दिगो र नवप्रवर्तनमुखी बनाउने उद्देश्यका साथ वायुसेवा सञ्चालक संघ नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबिच एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ । २०८१ साल असार १ गते एक कार्यक्रमकाबिच उक्त सम्झौता सम्पन्न भएको हो।
विश्वव्यापी रूपमा उड्डयन उद्योग डिजिटल रूपान्तरण, आर्टिफिसियल इन्टेलिजेन्स, दिगोपन र डेटा–आधारित निर्णय प्रणालीतर्फ तीव्र गतिमा अघि बढिरहेको परिप्रेक्ष्यमा नेपालको उड्डयन क्षेत्रलाई पनि समयसापेक्ष रूपान्तरण गर्न यो सम्झौता गरिएको सङ्घले जनाएको छ।
यस समझदारीले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक, इन्जिनियर, प्राविधिक, अनुसन्धानकर्ता, शिक्षाविद् र विद्यार्थीलाई एउटै साझा मञ्चमा ल्याउनेछ। यसबाट ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदान भई दीर्घकालीन विकासको आधार निर्माण हुने विश्वास लिइएको छ।
सम्झौता अनुसार अब यी दुई संस्थाले उड्डयन क्षेत्रको समग्र क्षमता विकास र नेतृत्व प्रवर्द्धनमा मिलेर काम गर्नेछन्। विशेष गरी उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मत सम्भार र सुरक्षा व्यवस्थापनमा नवीन प्रविधिसम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ।
उड्डयन क्षेत्रमा सुरक्षा संस्कृतिको विकास गर्नुका साथै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको दक्ष जनशक्ति उत्पादनमा जोड दिइने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, डिजिटलाइजेसन, डेटा एनालिटिक्स र कृत्रिम बुद्धिमत्ताजस्ता उदीयमान प्रविधिहरूको प्रयोग विस्तारमा समेत दुवै संस्थाले सहकार्य गर्नेछन्।
यसबाहेक, विद्यार्थी तथा युवा पेसाकर्मीका लागि नेतृत्व विकास कार्यक्रम, सेमिनार, कार्यशाला, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा नीति संवाद कार्यक्रमहरू आयोजना गरिनेछ। उद्योग र शैक्षिक संस्थाबिचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्नेछ।
वि.सं. २०५५ मा स्थापित वायुसेवा सञ्चालक सङ्घले नेपालको उड्डयन उद्योगको प्रतिनिधिमूलक संस्थाको रूपमा काम गर्दै आएको छ भने २०७५ सालमा स्थापित एरोनटिकल सोसाइटीले उड्डयन क्षेत्रमा प्राविधिक ज्ञान र अनुसन्धानमा योगदान पुर्याउँदै आएको छ।
वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको उड्डयन क्षेत्रलाई एकीकृत, प्रतिस्पर्धी, सुरक्षित र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने यस साझा अभियानमा हातेमालो गर्न सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान समेत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण