सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ

सोमबार, ०१ असार २०८३, १४ : ५०
सोमबार, ०१ असार २०८३

सारांश

  • काठमाडौँको माकलबारीबाट प्रहरीले लागु औषध, नगद र प्रहरीको नक्कली परिचयपत्रसहित नवाङ शेर्पालाई पक्राउ गरेको छ।
  • शेर्पाको कोठाबाट ३४६ एम्पुल लागु औषध, २५ हजार ५० रुपैयाँ नगद र नेपाल प्रहरीको नक्कली परिचयपत्र बरामद भएको छ।
  • लागु औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउन शेर्पामाथि थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको छ।

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको नक्कली परिचयपत्र, भारी मात्रामा लागु औषध र नगद रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लागु औषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३२ वर्षीय एक युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नारायणटार स्थायी घर भई हाल सोही नगरपालिकाको वडा नम्बर ८ माकलबारीमा डेरा गरी बस्ने वर्ष ३२ को नवाङ शेर्पा रहेका छन्। प्रहरी टोलीले शेर्पा बस्ने कोठामा शङ्का लागेर चेकजाँच तथा खानतलासी गर्ने क्रममा अवैध लागु औषध, नगद र प्रहरीको नक्कली परिचयपत्र फेला पारेको थियो।

प्रहरीका अनुसार शेर्पाको कोठाबाट जम्मा ३४६ एम्पुल लागु औषध बरामद गरिएको छ। जसमा ब्रोफिन ११५ एम्पुल, फेनारगन ११४ एम्पुल र डाइजापाम ११७ एम्पुल रहेका छन्। लागु औषधका साथै उनको कोठाबाट नेपाली नगद २५ हजार ५० रुपैयाँ र नेपाल प्रहरीको नक्कली परिचयपत्र समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

गत जेठ ३० गते दिउँसो नियन्त्रणमा लिइएका शेर्पामाथि थप कानुनी कारबाही अघि बढाइएको छ। उनलाई लागु औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउन काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप